September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

जेनजी आन्दोलनः भैरहवाको कृषि क्याम्पसका सबै विद्यार्थीद्वारा पार्टीसम्बद्ध संगठन परित्याग, साइनबोर्ड जलाइयो

भैरहवा– रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा कृषि क्याम्पसमा क्रियाशील तीन विद्यार्थी संगठनले जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेका छन् । मंगलबार बिहान करिब दुई सय विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी यहाँ क्रियाशील काँग्रेस निकट भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेका हुन् ।

Advertisement

विद्यार्थी संगठन खारेज गर्ने निर्णयपछि सबै संगठनका क्याम्पस कमिटीका अध्यक्षसहितका पदाधिकारी, सदस्यहरु र साधारण सदस्यहरुले सम्बद्ध संगठनबाट सामूहिक राजीनामा पनि दिएका छन् । यस्तै, विद्यार्थी संगठनहरुले क्याम्पस हाताभित्र राखिएका तीनवटै विद्यार्थी संगठनका साइनबोर्ड निकालेर क्याम्पसको गेट अगाडि जलाएका छन् । जेनजी आन्दोलनलाई सरकारले दमन गरेको र निर्दोष युवाहरुलाई ताकेर गोली हानी हत्या गरेको विद्यार्थी संगठनहरुको भनाई छ ।

नेपाल विद्यार्थी संघका क्याम्पस कमिटी सभापति कमल सुवेदीले अब पक्लिहवा क्याम्पसमा कुनै विद्यार्थी संगठन नहुने बताए । ‘हामी कुनै पनि पार्टीको झोले नहुने गरी आज विद्यार्थी संगठन खारेज गर्ने निर्णयमा पुगेका हौं’, उनले भने, ‘सोमबार जुन किसिमले जेनजी आन्दोलनमा निर्दोष युवाहरुको सरकारले हत्या गर्यो, त्यो सैह्य छैन । हामी उक्त आन्दोलनमा ऐक्यबद्धता जनाउँछौं ।’

उनले वर्तमान सरकारले युवाहहरुको आवाज रोक्न खोजेको जनाए । अब आन्दोलनलाई सशक्त बनाइनुपर्ने उनको माग छ । यो सरकार भ्रष्ट रहेको उनले आरोप लगाए । एमाले निकट अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष विवेक खनालले सबै विद्यार्थीहरुले संगठन र दलभन्दा माथि उठेर मुलुकको हीतमा र युवाहरुको आवाजमा साथ दिनुपर्छ भनेर नै विद्यार्थी संगठन खारेज गरेको जनाए ।

‘हामीले यो कदम चाल्नुको मुख्य कारण भनेकै भ्रष्ट सरकार, भ्रष्ट नेताहरु, सम्पूर्ण निकाय र युवाहरुको आवाज रोक्न खोज्नु नै हो’, उनले भने, ‘अब हामी यी दलहरुको झोले हुनु ठीक होइन भन्ने निचोडमा पुगेका छौं ।’ उनले झोले संगठनबाट सम्पूर्ण विद्यार्थीहरुलाई बाहिर निकाल्नु आफूहरुको दायित्व रहेको सुनाए । उनले जेनजी आन्दोलनप्रति आफूसँगै सबै विद्यार्थीहरुको साथ र समर्थन रहेको बताए ।

माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका सदस्य उज्वल रायले मुलुकमा परिवर्तनको माग लामो समय रहे पनि अहिले आएर जेनजीहरु अघि आएको बताए । ‘हाम्रो कुनै न कुनै पुस्ताले आन्दोलनको अगुवाई गर्नुपर्ने थियो’, उनले भने, ‘हिजो युवाहरुमाथि सरकारले जुन दमन गर्यो, यसले हामीजस्ता युवाहरुमाथि खुन उम्लियो र एकढिक्का भएर विद्यार्थी संगठन खारेज गरी जेनजी आन्दोलनमा ऐक्यबद्धता जनायौं ।’

अनेरास्ववियुकी क्याम्पस कमिटी कोषाध्यक्ष मनिषा ढकालले अब आफूहरु स्वतन्त्र युवा र विद्यार्थी भएको सुनाइन् । ‘यो सरकारले युवाहरुलाई दमन गर्यो, युवाको हत्या गर्यो’, उनले भनिन्, ‘अब हामी चुप बस्नु हुन्न, यी पार्टीका संगठनमा बसेर काम छैन भनेर नै स्वतन्त्र भएका हौं ।’ उनले जेनजीहरुको हत्या र उनीहरुमाथि दमन रोक्न माग गरिन् ।

सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान

रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी