September 10, 2025, Wednesday
२०८२ भाद्र २६ बिहीबार

रूपन्देहीमा ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडी तोडफोड

भैरहवा– जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका व्यक्तिले ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय र बुटवलमा रहेको एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । यस्तै, नेपाली कांग्रेसका जिल्ला नेताका गाडी फुटाएका छन् । सोमबार अपरान्ह बुटवलको राजमार्ग चौराहामा प्रहरी प्रदर्शनकारी ढुंगा हानाहान भएको छ ।

Advertisement

रुपन्देहीको भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय र त्यहाँ पार्किङ गरिएका जिल्लास्तरीय नेताका ४ वटा गाडीमा सोमबार दिउँसो तोडफोड गरिएको छ । वीपी जयन्ती अवसरमा आयोजना गर्न लागिएको म्याराथन लगायत विषयमा छलफल भइरहेकाबेला एक्कासी आएको युवा समूहले पार्टी कार्यालय र गाडीमा ढुंगामुढा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङका अनुसार पार्टी कार्यालयभित्र छलफल चलिरहेका बेला आक्रमण भएको हो । रुपन्देहीको बुटवलमा बिहान ९ बजेदेखि जेनजीले प्रदर्शन गरे पनि भैरहवामा कुनै कार्यक्रम थिएन । दिउँसो एक्कासी आएका डेढ सय हाराहारी युवाले ढुंगा, इटा र मुढा प्रहार गरेर पार्टी कार्यालयभित्र रहेका गाडीमा क्षति पुर्याएको काँग्रेस जिल्ला कोषाध्यक्ष हरिप्रसाद अर्यालले बताए । ‘आक्रमणबाट पार्टी कार्यालयका झ्याल फुटेका छन् । साथै पर्खालमा रहेका बत्ति फुटेका छन्’, उनले भने, ‘नेताहरुका गाडीमा ठूलो क्षति पुगेको छ ।’

आक्रमणबाट क्षेत्रीय सभापति गुरुङको बा २० च ७९५२ नम्बरको गाडीको अगाडि र पछाडीको सिसा फुटेको छ । त्यस्तै, जिल्ला कोषाध्यक्ष हरिप्रसाद अर्यालको बा १७ च २२२७, जिल्ला सहसचिव विष्णु थापाको लुम्बिनी प्रदेश १–००१च०८७२ नम्बरको ब्रेजा गाडी र ठाकुरप्रसाद गुरेको लु २ च ५४१८ नम्बरको गाडीमा क्षति पुगेको छ । यी गाडीका शिसा फुट्नुका साथै कुच्चिएका छन् । गाडी र भवनमा प्रहार गरिएका ईंटा र ढुंगा परिसरमा असरल्ल छन् ।

आक्रमणबाट भवन परिसरमा रहेका लु३प १७०७ स्कुटर र लु २२ प ५१६२ नम्बरको पल्सर मोटरसाइकलमा क्षति पुगेको छ । नेपाली कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले घटना सुनियोजित भएको र पार्टी कार्यालयलाई टार्गेट गरेर आक्रमण गरिएको जानकारी दिए ।

उनका अनुसार पार्टी कार्यालय आक्रमणपछि फर्किएका यूवाले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मणिग्रामस्थित घरमा पनि टोडफोड गरेका छन् । घरका ४–५ वटा झ्याल फुटालेको सभापति खाँणले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवलको राजमार्ग चौराहामा अहिले तनाव भइरहेको छ । प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीच ढुंगा हानाहान भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेर भगाएका छन् । प्रहरी राजमार्ग नजिक भवनमा लुकेका छन् भने अहिले प्रदर्शन जारी छ । त्यसअघि प्रदर्शनकारीले बुटवलको शुक्खानगरमा रहेको एमाले पार्टी कार्यालयमा ढुंगा प्रहार गरेका थिए ।

जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु

ठाउँठाउँमा जेनजीको प्रदर्शन, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

मुलुकभर आज जेन–जीको प्रदर्शन