मेरो निजी जीवन गैरकानूनी र समस्यापूर्ण छैनः डा.लेखजंग थापा

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा.लेखजंग थापाको आफ्नो पारिवारिक र कानूनी कुनै समस्या नभएको स्पष्ट पारेका छन् । रास्वपाले थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि बहुविवाह गरेको भन्दै आलोचना र कानूनी प्रश्न उठेको थियो । डा.थापाले मंगलबार सामाजिक संजाल फेसबुकको आफ्नो वालमा लामो पोष्ट राख्दै एउटा श्रीमतीसँग सम्बन्ध विच्छेद भएको अदालतको फैसला समेत राखेका छन् ।
उनले आफ्नो व्यक्तिगत जीवनबारे उठेका प्रश्नहरूको जवाफ दिँदै आफूमाथि नभई पार्टीमाथि नै सुनियोजित आक्रमण भएको बताएका छन् । थापाले आफूले दुईपटक विवाह गरेको र एकजना श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको कुरा स्वीकारेका छन् । उनले सम्बन्धविच्छेद भएकी श्रीमतीसँग छोराको साझा अभिभावकत्वका लागि सौहार्दपूर्ण सम्बन्ध राखेको स्पष्ट पारेका छन् ।
‘सम्बन्धविच्छेद भन्ने बित्तिकै एकअर्कालाई गाली गर्नुपर्छ वा मित्रभाव राख्नु हुँदैन भन्ने मलाई लाग्दैन,’ उनले भनेका छन्, ‘मेरो निजी जीवन न त गैरकानुनी छ, न समस्यापूर्ण नै ।’
थापाका अनुसार, उनले आफ्नो व्यक्तिगत जीवनको यो पाटोबारे पार्टीलाई पहिले नै जानकारी गराएका थिए । उनको बुझाइमा पार्टी नेतृत्वले कानुनी परामर्शसमेत लिएर मात्र उम्मेदवार छनोट प्रक्रियामा सामेल गरेको थियो ।
एक न्युरोचिकित्सकका रूपमा १४ वर्ष काम गरिसकेका थापाले पेशागत जीवनमा सन्तुष्ट भए पनि देशमा बढ्दै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको बताएका छन् । उनले आफू ‘नेता बन्न’ नभई ‘देश बदल्ने अभियानको सहयात्री’ बन्न आएको स्पष्ट पारेका छन् ।
उनले आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नलाई बेथिति र विसङ्गतिमा रमाउनेहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि गरेको सुनियोजित आक्रमणको रूपमा लिएका छन् । उनले आफ्नो कारणले पार्टीमा कुनै दाग नलागोस् भन्ने चाहेको पनि बताएका छन् ।
थापाले उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट आफू उम्मेदवार बनेको भए पनि पार्टीले गर्ने कुनै पनि निर्णय स्वीकार र पालना गर्न तयार रहेको बताएका छन् ।
उनले आफूमात्र नभएर ‘पुनम, जेबी, रचना, सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम’ लगायत सबै नेपाली रूपन्देही–३ को उम्मेदवार भएको र यो देशमा एउटा सौम्य र शान्तिपूर्ण क्रान्ति आउन लागेको विश्वास व्यक्त गरेका छन् ।
रूपन्देही–३ः दक्ष चिकित्सक लेखजंग रास्वपाबाट उम्मेदवार बन्दावित्तिकै किन विवादमा ?
डा.लेखजंग थापाको एउटा मात्रै श्रीमती हुनुहुन्छः महामन्त्री बुर्लाबोटी
प्रतिकृया दिनुहोस्