September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

रूपन्देही–३ः दक्ष चिकित्सक लेखजंग रास्वपाबाट उम्मेदवार बन्दावित्तिकै किन विवादमा ?

भैरहवा– रुपन्देहीका आम नागरिकको एक महिनाभन्दा लामो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३, को उपनिर्वाचनका लागि कस्तो उम्मेदवार तय गर्छ भन्ने चासो, आशंका, अनुमान र अड्कलबाजीमा बित्यो । सुरुमा रुपन्देही–३ का लागि आकांक्षी उम्मेदवार माग गरेपछि जिल्लाका ९ जनाले आवेदन भरे । आफूलाई उम्मेदवार योग्य ठानेर आवेदन गरेका ती रास्वापा नेताले त्यसपछि पार्टीले अपनाएको आन्तरिक निर्वाचन प्रणाली र परीक्षणमा भाग लिए । त्यसक्रममा उनीहरुले आफ्नो दक्षता प्रस्तुत गर्नुका साथै कसरी नेता बन्न सकिन्छ भनेर अभ्यास गरे ।

Advertisement

आम मानिसले तत्कालको उपनिर्वाचनमा सबैले अवसर नपाएपछि आगामी आम निर्वाचनका लागि रास्वपाले राम्रा व्यक्ति प्राप्त गरेको बताइरहेका छन् । अबको दुई वर्षभित्र स्थानीय, प्रदेश र संघको निर्वाचन हुनेछ । अहिलेको अभ्यासले रास्वपालाई आउँदै गरेका निर्वाचनका लागि उम्मेदवार छनोट सहज तुल्याइदिएको छ । अहिले एकजनाले अवसर प्राप्त गर्ने हुन् । बाँकी ८ जना आउँदो निर्वाचनका लागि रिजर्व राखिने केही दिनअघि भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री वीपीनकुमार आचार्यले बताएका थिए ।

आइतबार साँझ रास्वपाले प्रत्यक्ष प्रसारण गर्दै रुपन्देही–३ का लागि बरिरष्ठ न्युरोलोजिष्ट लेखजंग थापालाई उम्मेदवार छनोट गरेको छ । एउटा दक्ष चिकित्सकको राजनीतिक महत्वाकांक्षा अबका दिनमा राजनेतामा परिणत होला ? या उपनिर्वाचनमा तुहिने छ ? त्यो परिणामले देखाउने नै छ । आफ्नो क्षेत्रमा उच्च दक्षता प्राप्त थापा समसामयिक राजनीतिलाई कसरी ‘ह्याण्डलिङ’ गर्लान ? अथवा न्यु मिडियाको उभारका बेला आफूमाथि उठ्ने प्रश्न र सुनिने टिकाटिप्पणीलाई कसरी ‘ट्याकल’ गर्लान ? यो हेर्न लायक हुनेछ ।

राप्रपा नेता दिवंगत दीपक बोहोरा, काँग्रेस नेता बालकृष्ण खाँणका साथै तत्कालीन समय एमालेबाट चुनावी प्रतिष्पर्धा गरेका एकीकृत समाजबादीका नेता घनश्याम भुसाललाई बेहोरी सकेको निर्वाचन क्षेत्रमा ‘हेबिवेट’का रुपमा थापा प्रवेश गरेका छन् । उनको राजनीतिक तौल माथि उल्लेखित अन्य नेतासित तुलना गर्न सकिँदैन । तर, प्राज्ञिक र चिकित्सा बिज्ञानमा उनको दक्खल भने प्रशंसनीय नै छ ।

आइतबार साँझ रास्वपाबाट उम्मेदवार बनेपछि थापाको व्यक्तिगत जीवनबारे टिकाटिप्पणी सुरु भएका छन् । यसअघि उनी चिकित्सकका रुपमा बिरामीको लेखाजोखामा पर्थे । अब नेता भएपछि आम नागरिकले उनको व्यक्तिगत, पेशागत र सामाजिक जीवनको लेखाजोखा सुरु गर्नेछन् । जसको सुरुवात उनले गरेको भनिएको ‘बहुविवाह’ प्रशंगबाट भएको छ ।

थपाले दुई पटक बिहे गरेको कुरा छिपेको छैन । उनकै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि थापाले पहिलो श्रीमतीसित सम्बन्ध विच्छेद गरेको दाबी गरेका छन् । उम्मेदवारी सुनुवाईकै क्रममा यसबारे गुनासो आएपछि पार्टीले अनुसन्धान गरेको र त्यसक्रममा सम्बन्ध विच्छेदको आधिकारिता पेश भइसकेको बुर्लाकोटीको भनाई छ । बुर्लाकोटीको भनाईमा सम्बन्ध बिच्छेदको कागज पार्टीमा पेश गरेर ‘क्लिन चिट’ प्राप्त गरेपछि मात्रै उम्मेदवार पक्का गरिएको हो । यो खबर सार्वजनिक हुने वित्तिकैं रुपन्देहीका मतदाताको एउटा भनाई सार्वजनिक भएको छ, ‘रुपन्देही–३ मा उम्मेदवार हुन, दुईपटक बिहे गर्नै पर्ने रहेछ कि ?’

संयोग कस्तो भने यस अघि निर्वाचित स्वर्गीय दीपक बोहराबारे पनि दुईवटी श्रीमती भएको भन्दैं बेलाबेला खबर सार्वजनिक हुने गरेका थिए । बोहराका हुन पनि दुई श्रीमती नै छन् । काँग्रेस नेता खाँणका दुई श्रीमती रहेको सम्बन्ध विच्छेद नगरिएको भन्दैं २०७९ को निर्वाचनमा समाचार सार्वजनिक भएका थिए । उनका अहिले पनि दुई श्रीमती नै छन् ।

अहिले नयाँ शक्तिका रुपमा उदाएको रास्वपाले छनोट गरेका उम्मेदवारमाथि त्यस्तै आरोप लागेपछि बहसको विषय बनेको छ । अर्कातर्फ थापामाथि आर्थिक चलखेल गरेर उम्मेदवार बनेको आरोप पनि लागेको छ । जिल्लामा सोमबार बिहान सुनिएका टिकाटिप्पणी अनुसार थापाले पार्टीका नेतालाई ‘मोटो’ रकम बुझाएर टिकट हासिल गरेका हुन् । तर, रास्वपा महामन्त्री बुर्लाकोटी यसमा कुनै सत्यता नभएको बताउँछन् ।

पब्लिक कुरासँग उनले भने, ‘हामीलाई पैसा र पैसावाला चाहिएको भए ठूलै धनाढ्य खोज्थ्यौं होला । आलोचकले जे भने पनि हामी आन्तरिक प्रतिस्पर्धाबाट नै उम्मेदवार चयन गरेका हौं ।’ कतिपयले पार्टीले पैसाको बलमा टिकट प्रदान गर्ने भए डेढ महिनासम्म उम्मेदवार छनोटको नाटक किन गरेको होला भनेर प्रश्न गर्न थालेका छन् । यसमा महामन्त्रीले सत्यता नभएको जनाए पनि डा.थापाले यस विषयमा आमनागरिकलाई प्रष्ट पार्न जरुरी छ । यी सबै कुरा सुनेपछि केहीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘जुनै जोगी आए पनि कानै चिरेका’ ।

थापामाथि लाग्ने गरेको अर्को आरोप हो– भैरहवाको न्यूरो क्लिनिकमा उपचारमा आउने विरामीलाई सिटी स्क्यान गर्न भारतको गोरखपुर पठाउँछन् । क्लिनिकमा आउनेलाई १२ हजारसम्मको अनावश्यक रक्त परीक्षण गर्न लगाउँछन् । उनका सहयोगीका अनुसार भैरहवामा सिटी स्क्यानको रकम दोब्बर भएकाले गोरखपुर पठाउने गरिएको हो । ‘यहाँ १२–१५ हजार लिन्छन् तर गोरखपुरमा ३ हजार ५ सयमा नै हुन्छ’, डा.थापा निकटमा ती व्यक्तिले भने, ‘स्वास्थ्य उपचारका नाममा महंगो शुल्कबाट नागरिकलाई सहायता गर्न पनि सस्तो ठाउँमा पठाउने गरिएको हो ।’

डा.लेखजंग थापाको एउटा मात्रै श्रीमती हुनुहुन्छः महामन्त्री बुर्लाबोटी

रूपन्देही–३ मा रास्वपाकाे उम्मेदवार डा.लेखजंग थापा