September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

डा.लेखजंग थापाको एउटा मात्रै श्रीमती हुनुहुन्छः महामन्त्री बुर्लाबोटी

भैरहवा– रुपन्देही–३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार चयन भएका भैरहवाका डा.लेखजंग थापाका दुईवटा श्रीमती नभएको उक्त पार्टीले स्पष्ट पारेको छ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बाहिर आएजस्तो डा.थापाका दुई श्रीमती नभएको जनाए ।

Advertisement

सोमबार पब्लिक कुरा डटकमसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘डा.थापाले बहुविबाह गरेको भनेर हामीलाई पनि केही साथीहरुले भन्नुभएको थियो । उम्मेदवार घोषणा पूर्व हामीले सबै भेरिफाइ गरेका छौं । हाल उहाँसँग दुई श्रीमती हुनुहुन्न ।’ महामन्त्री बुर्लाकोटीले डा.थापाका दुई श्रीमती भए पनि पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको जनाए ।

‘पार्टीलाई प्राप्त डकुमेन्टमा उहाँसँग एकजना श्रीमती हुनुहुन्छ, पहिलो श्रीमतीसँग सम्बँध विच्छेद भइसकेको छ । यसमा ढुक्क भए हुन्छ’, उनले भने, ‘विविध कारणले मानिसको सम्बन्ध सधैं कायम नहुन सक्छ । कानूनी रुपमा टुंगिएको कुरालाई विवादित बनाउनु ठीक होइन् ।’

आइतबार रास्वपाले डा.थापालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेको थियो । यसपछि डा.थापाले बहुविबाह गरेको भन्दै समाचार प्रकाशित भएका थिए । त्यसपछि धेरैले आलोचना गरेका थिए । बुर्लाकोटीले पार्टीको अफिसियल टिम सुक्ष्म अध्ययन गरेर निचोड निकालेको जनाए ।

उनले डा.थापाका विषयमा बहुविबाहको मुद्दा पनि नरेको प्रष्ट पारे । डा.थापाले पहिलो विवाह सुलोचना घिमिरेसँग गरेका थिए । यसपछि उनको दोस्रो विवाह नुमा शर्मासँग भएको थियो । तर, पहिली श्रीमती सुलोचनासँग सम्बन्ध विच्छेद भइसकेको रास्वपाले स्पष्ट पारेको छ ।

यस्तै, रास्वपा महामन्त्री बुर्लाकोटीले उम्मेदवार छनोटका क्रममा डा.थापाले क्यामेरासहितको चस्मा प्रयोग गरेर भिडियो–अडियो रेकर्ड गरेको भन्ने कुरामा पनि सत्यता नरहेको प्रष्ट पारे । ‘उहाँ (लेखजंग)ले पहिलादेखि नै क्यामेरा भएको चस्मा प्रयोग गर्नुहुँदो रहेछ’, उलने भने, ‘भैरहवामा संचालित पार्टीको क्याडिनेट बेन्चमा पनि उक्त चस्मा लगाउनुभएको रहेछ । तर, उक्त क्यामेरासहितको चस्मामा अडियो–भिडियो रेकर्ड भएको पाइएन ।’ यसबारे पनि पार्टीले विस्तृत बुझेको तर बाहिर आएजस्तो सत्यता नरहेको बुर्लाकोटीले बताए ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचिमा रहे पनि डा.थापाको नाम निर्वाचन आयोगले हटाइसकेको उनले जनाए । सिद्धार्थनगर–९ निबासी थापा न्युरोलोजिष्ट हुन् । रास्वपाले डा.थापाले २०८० असार ७ गते नै पार्टी सदस्यता लिन अनलाइन फर्म भरेको जनाएको छ । महामन्त्री बुर्लाकोटीले भने, ‘डा.थापाले ७ गते पार्टी सदस्यता लिन फर्म भर्नुभएको थियो, २०८० कै असार २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँ पार्टीका तर्फबाट एउटा बहस कार्यक्रममा प्यानलिष्ट हुनुहुन्थ्यो ।’ उनका अनुसार प्राविधिक कारणले डा.थापाको सदस्यता भने यही २०८२ मा मात्रै स्वीकृत भएको थियो ।

रूपन्देही–३ मा रास्वपाकाे उम्मेदवार डा.लेखजंग थापा