रूपन्देही–३ मा रास्वपाकाे उम्मेदवार डा.लेखजंग थापा

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी कार्यालयमा आइतबार साँझ पत्रकार सम्मेलन गरि रास्वपाले डा.थापालाई उम्मेदवार बनाउने घाेषणा गरेकाे हाे ।
पार्टीका कार्यबाहक सभापति डाेलप्रसाद अर्याल (डीपी)ले डा.थापालाई उम्मेदवार बनाउने निर्णय गरिएको घाेषणा गरे । उम्मेदवारहरुसँग अन्तरक्रिया, छलफल र मतदातासँग बहस चलाएपछि करिब ३५ दिनकाे प्रक्रिया पछि उम्मेदवार तय गरिएको रास्वपाले जनाएको छ । ९ जना प्रारम्भिक उम्मेदवारहरुबाट डा.थापालाई छनाेट गरिएको हाे ।
बरिरष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
उनी काठमाडौंको व्यस्त जीवनशैलीलाई छल्दैं डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा आएर बिरामीको सेवा गर्दै आएका छन् । साथै, हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा स्वास्थ्य सेवा दिँदै आएका थापाले यहाँका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोषसमेत स्थापना गरेका छन् । समाज परिवर्तनको हुटहुटी बोकेका र रोगको उपचारमा तल्लीन डा. थापा अब देशको उपचार गर्ने बाटोतर्फ अग्रसर भएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएको बताउँछन् ।
प्रतिकृया दिनुहोस्