October 6, 2025, Monday
२०८२ आश्विन २० सोमबार

भैरहवामा ‘निद्रा हराम’ गर्ने मोडिफाइ बाइक, नियन्त्रण गर्ने कसले ?

भैरहवा– जब रातको १० बज्छ, सहरका गल्ली–गल्ली र मुख्य सडकमा ‘बम’ पड्किएसरह आवाज आउँछ । रात जति छिप्पिँदै जान्छ, आवाज उतिउति बढी रहन्छ । भैरहवाबासीले यो नियती भोग्न थालेको धेरै भयो । मध्य रातमा ठूलो आवाजमा पड्किने बुलेट र मोडिफाइ अन्य बाइकको आवाजले भैरहवाबासीको निद्रा हराम नै गर्ने गरेको छ ।

Advertisement

स्थानीय माया गुरुङ भन्छिन्, ‘चर्को आवाजमा मोटरसाइकल पड्काउँदै चलाउँदा कहिलेकाही अत्तालिन्छु । मस्त निद्राबाट ब्यूँझिँदा रातभर नसुतेका धेरै दिन छन् ।’ उनले कानूनको उल्लघंन गरी मोटरसाइकल चलाउने व्यक्तिलाई प्रहरीले कारबाही गर्नुपर्ने बताइन् । ‘बच्चाबच्ची र बृद्धबृद्धालाई चर्को ध्वनि प्रदूषणले झनै समस्या पार्ने गरेको छ । कारबाही गर्ने निकाय मौन बस्दा मनपरी बढीरहेको छ ।’ स्थानीय सरकारको यस विषयमा ध्यान नपुगेको हो की भन्ने उनलाई लागेको छ ।

दैनिकरुपमा हजारौं स्वारीसाधन गुड्ने गरेको भैरहवाको विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, तीब्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । खासगरी युवापुस्ताले मोटरसाइकलको साइलेन्सर मोडिफाई गरी चर्को ध्वनि निस्कने गरी चलाउने गरेका छन् । मध्यराति तिव्र गतिमा मोटरसाइकल चलाउँदा स्थानीयले ध्वनि प्रदूषणले हैरान्ी खेपिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई महिनाको समयमा ६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ । यसमा ५ वटा बुलेट बाइक र एउटा क्रसफायर गरि ६ वटा बाइकलाई कारबाही भएको छ । तर, बजारका गल्ली–गल्लीमा रातभरी ध्वनि प्रदूषणका आतंक भने रोकिएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख रन्जु केसीका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । ‘विभिन्न समयमा स्वरुप परिवर्तन गर्ने मोटरसाइकललाई कारबाही गरिँदै आएको छ’, उनले भनिन्, ‘हाम्रो कारबाहीबाट ध्वनि प्रदूषण भने केही घटेको पाएका छौं ।’

उनले स्वरुप परिवर्तनअन्तर्गत साइलेन्सर, ह्यान्डल, सिटलगायतका सामान कम्पनीको वा सवारी दर्ता किताबभन्दा फरक राखी चर्को चलाउने गरेको पाइएको बताइन् । यस्ता मोटरसाइकल नियन्त्रणमा लिइएको छ । ‘यस्ता कार्यमा संलग्नलाई यातायात कार्यालय पठाएर दश हजार रुपैयाँ जरिवान तिराउने गरिएको छ’, उनले भनिन्, ‘यस्ता मोटरसाइकललाई पूर्ववत् अवस्थामा फर्काएर जरिवाना तिराएर मात्रै छोडिने गरेका छौं । गुनासा सुनेर कारबाही प्रक्रिया अगाडि बढाइरहेका छौं ।’

सामाजिक अगुवा एवं भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष बिजय गोविन्द श्रेष्ठले बजारमा रातिको समयमा चर्को ध्वनि प्रदूषणले दुःख दिने गरेको बताए । ‘हामीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दुई महिना अगाडि स्वरुप परिवर्तन गरी चर्को ध्वनि निकाल्ने मोटरसाइकललाई कारबाही गर्न अनुरोध गरेका थियौं’, उनले भने, ‘केही कारबाहीमा परेको सुनिएको छ तर अझै पूर्णरुपमा रोकिएको छैन । यसमा अलि कडा निगरानी गर्नुपर्ने देखिन्छ ।’

उनले बिहानको समयमा आफूहरु मर्निङवाक हिंड्दा अत्यधिक चर्को आवाजमा बाइक पड्काउँदै गुडेको देखिने गरेको जनाए । यस्ता बाइक ओभर स्पिडका कारणले गर्दा दुर्घटना पनि भएको उनले बताए । भीम अस्पतालका स्वास्थ्यकर्मी जनकराज पन्तले चर्को ध्वनि प्रदूषणले बच्चादेखि वृद्ध उमेरका सबैलाई असर गर्ने जनाए । ‘बाइकबाट आउने आबाज र यसको धुँवाले मानिसको कलेजो, कान, फोक्सो र मुटुलाई समेत असर गरिरहेको छ’, उनले भने, ‘भैरहवा क्षेत्रमा चर्को ध्वनि प्रदूषण बढीरहेको छ । यसलाई रोक्न जरुरी छ ।’ उनले पछिल्लो समय भैरहवामा एउटा गम्भीर समस्याका रूपमा ध्वनि प्रदूषण रहेको जनाए ।

मानिसका श्रवण क्षमता सामान्यतः ० देखि २५ डेसिबल (डिबी) को बिचमा हुन्छ । औसतमा सडकमा आउने आवाज ८५ डिबी हुन्छ, जो निकै खतरनाक मानिएको छ । यो चरम ध्वनि प्रदूषण हो र यसले गर्दा समाजमा कैयौँ स्वास्थ्य समस्या र प्रभाव परिरहेको छ । अनुसन्धानकर्ताहरुले सवारीसाधनले उत्पन्न गर्ने ध्वनि प्रदूषण नै तनावको प्रमुख कारण रहेको मानेका छन् । चर्को आवाजले मानिसमा उत्पन्न गर्ने तनावका कारण हृदयको गतिमा परिवर्तन, उच्च रक्तचाप, रक्त कोलेस्ट्रोलको वृद्धि, पाचन शक्तिमा ह्रास हुनसक्छ । अर्कातिर निरन्तर चर्को आवाजमा बस्नेहरूमा उच्च रक्तचापका साथै आक्रामक मनस्थितिमा समेत पुर्याइदिन सक्छ । त्यसैले ध्वनि प्रदूषणलाई हृदयरोगको कारण पनि मानिएको छ ।

एक दशकअघि युटेक्ट विश्वविद्यालय नेदरल्यान्ड्समा गरिएको अध्ययन अनुसार ‘ध्वनि प्रदूषणबाट उत्पन्न अनियन्त्रित तनावले व्यापक रुपमा ‘कोर्टिसोल’ उत्पादन गर्दछ, जो प्रतिरक्षा प्रणालीमा दबाब सिर्जना गरी लामो समयसम्म हानिकारक प्रभाव पार्न सक्छ । ध्वनि प्रदूषण एड्स तथा क्यान्सर जस्ता रोगका बिरामीका लागि अरु बढी खतरनाक हुन्छ भने जन्मदोष अर्को खतरा हो । ध्वनि प्रदूषणको असर नवजात शिशुमा अरू बढी पर्न सक्छ ।’

सन् १९७० मा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले गरेको एक अध्ययन अनुसार ‘गर्भावस्थामा अत्यधिक आवाजको सम्पर्कमा रहँदा नवजात शिशुमा उच्च आवृत्ति (फ्रिक्वेन्सी) सुन्ने क्षमतामा कमी हुनसक्छ । यसको कारणमा गर्भावस्थामा उच्च आवाज वा अचानकको आवाज रहेको पाइएको छ, जसले हृदयको गति बढाउँछ । यसले शिशुको विकाससम्बन्धी समस्या पनि उत्पन्न गर्न सक्छ, जो अपरिवर्तनीय हुन्छ, जुन गर्भधारणको पहिलो १४ देखि ६० दिनभित्र हुन्छ । यो त्यतिबेला हुन्छ, जतिबेला गर्भावस्थामा शिशुको इन्द्रिय र अन्य अंगहरुको विकास भइरहेको हुन्छ । यो समयमा जन्मदोष तथा जन्मभार पनि उत्पन्न हुनसक्छ ।’

तर, भैरहवामा भइरहेको ध्वनि प्रदूषण रोक्न न सिद्धार्थनगर नगरपालिकाले ध्यान दिएको न कुनै योजना नै बनाएको छ । ट्राफिक प्रहरीले बेलाबेला केहीलाई कारबाही गरे पनि नियन्त्रण हुन सकेको छैन । दिनभर हजारौं गाडीको ध्वनिले आजीत यहाँका बासिन्दा रातिमा समेत राम्रोसँग सुत्न पाउँदैनन् । मदिरा सेवनले लठ्ठ परेका युवाहरुले बढी मात्रामा मोटरसाइकल मोडिफाई गरी चर्को ध्वनि निकाले चलाउने गरेका छन् । यसमा सुरक्षा निकाय र स्थानीय सरकारको विशेष ध्यान जानुपर्ने यहाँका बासिन्दाको माग छ ।