September 18, 2025, Thursday
२०८२ आश्विन ३ शुक्रबार

सौन्दर्यपूर्ण कृष्णसार, मनमोहक चहलपहल

कृष्णसार स्तनधारी वन्यजन्तु हो । यो नदी तटीय क्षेत्रको खुल्ला र घाँसे मैदानमा बस्न मन पराउने वन्यजन्तु विषेशज्ञ बताउँछन् । निक्कै मनमोहक र चित्ताकर्षक देखिन्छ – कृष्णसार । बर्दियाको गुलरिया नगरपालिका–२, खैरापुर क्षेत्रमा यसको मनमोहक चहलपहल हेरेर आनन्दित बन्न सकिन्छ । त्यहाँ जो गए पनि कृष्णसारको विचरण, वात्सल्य प्रेम र मनोरम गतिबिधि हेरेर रोमाञ्चित बन्ने गर्दछन् । यसको सानो आवाजले जो कोही पनि मोहित बन्छन् ।

सानो आवाजका कारण घना जंगलमा प्रवेश गरेमा कृष्णसार पुनः आफ्नो बथानमा आउन निक्कै गाह्रो हुने संरक्षणकर्मी बताउँछन् । सरकारले खैरापुर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेर कृष्णसार संरक्षित गर्दै आएको छ । दुर्लभ र सौन्दर्यपूर्ण शरीरका कारण यसको सुन्दरता अझ थपिएको छ । लामो बटारिएको आकर्षक सिङ, सेतो पेट र कत्था रंगको माथिल्लो भागको भुत्लाले तेजिलो सुन्दर देखिन्छ ।

Advertisement

कृष्णसारको आहारा घाँस, दुबो, सिरु र काँस लगायत हुन् । बच्चाले आफै आहार नखाउन्जेलसम्म माउले करिब एक महिना अग्लो घाँस दुबोमा लुकाएर राख्छ । त्यो बेला बच्चालाई स्याल, कुकुर, चील, चितुवा र हुँडारले खाने जोखिम बढी हुने गरेको वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए । हिन्दु धर्ममा यसलाई भगवान श्रीकृष्णको साथीका रूपमा लिइन्छ । यो मानव बस्ती नजिकका खुला घाँसे मैदान र जंगलमा बस्न मन पराउँछन् ।

कृष्णसारको पोथीले एक पटकमा एउटा मात्र बच्चा पाउने र यसको औसत आयु १२ वर्षसम्म रहने विज्ञहरू बताउँछन् । भालेको मात्र सिंह हुन्छ । यो तीन वर्ष पुगेपछि मात्र टाउकोमा सुन्दर खण्ड खण्ड परेका घुमेका सिंङ पलाउँछन् । सबैभन्दा ठूलो र शक्तशाली मुख्य भाले सालभरि नै पोथी र बच्चाहरुको बगालमा रहन्छ तर, अरु भाले कृष्णनसार चाहि छुट्टै बगाल बनाएर बस्छन् । एउटा बगालमा २० देखि ३० वटा विभिन्न उमेर समूहका कृष्णसार हुन्छन् । खतराको भान पाएपछि एकदम जोडले उफ्रिएर छिटो कुद्छन् ।

सरकारले ०६५ साल चैत ३ गते खैरापुरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । बर्दियाको खैरापुरमा २०३२ सालदेखि कृष्णसार संरक्षण क्षेत्रको काम शुरू भएको थियो । त्यहाँको १ हजार ६९५ हेक्टर जमीनलाई कृष्णसार संरक्षण क्षेत्रका रूपमा राखिएको छ ।

२०३२ सालमा ९ वटा कृष्णसारबाट संरक्षण कार्यक्रम सुरु गरिएको थियो । अहिले बढेर १ सय ८५ पुगेको छ । ३४ भाले, एक सय २० पोथी र ३३ बच्चा छन् । ‘गणना दैनिक गरिन्छ,’ कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत सूर्य खड्काले भने्, ‘वन्यजन्तु सप्ताहका बेला विस्तृत गरिन्छ ।’ कृष्णसार हेरेर आनन्दित हुनेका लागि खैरापुर मुलुकको उत्कृष्ट स्थल हो । ‘यहाँ नजिकैबाट उनीहरुको मनमोहक चहलपहल हेरेर आल्हादित हुन सकिन्छ’, उनले भने ।