‘ओली प्रतिगमनकारी हुन्, चुरे फोरेर गिट्टी–बालुवा निकासी गर्नु राष्ट्रघात हो’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेपालको कम्युनिष्ट आन्दोलनका हस्ती हुन् । लामो समय कम्युनिष्ट आन्दोलनमा लागेका उनी अन्य नेता भन्दा सादगी छवि भएका मानिन्छन् । विषयवस्तुलाई राम्रो व्याख्या गर्न सक्ने केसी पछिल्लो समय कम्युनिष्ट पार्टीहरुमा भएको विचलनले चिन्तित छन् । सत्तामा पुगेसी कम्युनिष्टहरु नागरिकका पिर–मर्का भुलेर पद र पैसाका लागि जस्तोसुकै काम गर्न खोज्ने प्रवृत्ति बढेको उनको ठम्याई छ । समसामयिक राजनीतिक विषयमा रहेर केसीसँग पब्लिक कुरा डटकमका लागि सम्पादक प्रकाश न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप ।
पछिल्लो समय यहाँले पार्टीको राजनीतिक गतिविधि कसरी अगाडि बढाउनु भएको छ ?
मुलुक कोरोना महामारी आक्रान्त छ । यस्तोबेला राजनीतिक गतिविधि प्रायः ठप्प छन् तर मुलुकको राजनीति भने निकै तातेको छ । केपी शर्मा ओलीले जव महामारीलाई बेवास्ता गर्दै मुलुकलाई अस्तव्यस्त बनाए, संविधानमाथि प्रहार गरे । हाम्रो पार्टीको कुरा गर्नुहुन्छ भने हामीले अहिले पार्टीका कामहरु जुम मिटिङबाट गरिरहेका छौं । नीति निर्माण, राष्ट्रिय राजनीतिका बारेमा छलफल हुने गरेको छ ।
पछिल्लो समय यहाँ काठमाडौं छाडेर भैरहवा आएर बस्नु भएको छ नी ?
हो, म करिब एक वर्षदेखि भैरहवामा छोरीको घरमा बस्दै आएको छु । काठमाडौंमा कोरोना महामारी व्यापक बन्दै गयो । श्रीमती विरामी, खाना पकाउन पनि समस्या हुने । अर्कातर्फ काठमाडौंमा अत्यन्तै महंगी, किनेर खानै समस्या जस्ता कारण म यहाँ आए । यहाँ छोरीले पकाएर खाना दिन्छिन् । यसले हामीलाई सहज भएको छ । पार्टी काम यहीबाट संचालन गरेको छु । आवश्यकताका आधारमा अहिलेसम्म दुईपल्ट काठमाडौं गएको छु ।
नयाँ बजेटमा सरकारले चुरेबाट ढुंगा–गिट्टी उत्खनन् गरेर बिक्री गर्ने नीति लिएको छ । यसलाई कसरी लिनु भएको छ ?
नेपालको प्राकृति स्रोतसाधन नेपाली नागरिकले विगतदेखि नै प्रयोग गरेका छैनन् । छिमेकीले नै गर्दै आएका छन् । किन भने नदीनाला सबै भारतको कब्जामा छन् । सहमतिअनुसार कुनै काम गरेको छैन । अहिले फेरि चुरे फोरेर भारततिरै विक्री गर्ने भनिएको छ, यो राष्ट्रघात हो । तपाईंलाई जानकारी गराऔं, केही वर्ष पहिला कपिलवस्तुमा ४४ वटा क्रसर उद्योगले त्यहाँ दोहन र वातावरण नै दुषित पारे । हामीले त्यसविरुद्ध सर्वोच्चमा मुद्दा हाल्यौं । त्यसकोविरुद्ध हामी लड्यौं । उनीहरुले घूस खुवाउन हामीले राखेको वकिललाई ४÷५ करोड दिन आए । यो एउटा उदाहरण हो । चुरे मात्रै होइन, अलिहे मेची–महाकालीका खोलाहरु नै उजाड छन् । ठेक्काका नाममा भएको यो मनपरी कसले रोक्ने ? कम्तिमा चुरे उत्खनन् गरेर नेपालीले प्रयोग गर्ने भए हुन्थ्यो तर भारत निकासी गर्ने रे । यो कस्तो नियम । यो त सत्ता र शक्तिमा बस्ने अवसरवादीले गर्ने काम हो । यो त विदेशीलाई भेटी चढाउने काम हो ।
अहिले फेरि चुरे उत्खनन् गरेर निकासी गर्ने भनिएको छ । यो ओलीले कुर्सी जोगाउने नाममा गर्न लागेको राष्ट्रघात हो । कुनै पनि हालतमा लागू गर्नु हुँदैन । प्रतिगमनकारी ओली सरकार सत्तामा टिकिराख्न अब प्राकृतिक स्रोत भारतलाई बुझाउन लागेको छ । यसलाई साथ दिनु हुँदैन । म यहाँ भैरहवामा आएर बसेको झण्डै एक वर्ष हुनलाग्यो । यो अवधिमा तिनाउ मनपरी दोहन छ । रातदिन टिपर, ट्याक्टरले तिनाउबाट गिट्टी–बाुलवा ओसारेका ओसारै छन् । सत्तामा पुग्नेहरुले कहिले खोलानाला, कहिले प्राकृतिक स्रोत भारतलाई भेटि चढाउन लागेका छन् । विदेशीहरु हाम्रो जस्तो देशलाई कब्जामा लिइरहनुको एउटा कारण प्राकृतिक स्रोत साधन दोहन पनि हो । २००७ सालदेखि नै यसरी नै नेपालको स्रोतसाधनमाथि विदेशी कब्जा चल्दै आएको छ । ओली सरकारले गरेको निर्णय पनि यसैको निरन्तरता हो ।
सरकारले यो नीति किन लिएको होला ?
सरकार नेपाली जनताको विश्वास र समर्थनमा टिकेको छैन नी । सरकार त नेपाल राष्ट्रको श्रीसम्पत्ति आर्जन गरेर विदेशीमाझ झुक्न यो गरिरहेको छ । सरकार विदेशी शक्तिहरुई भेटि चढाएर टिकेको छ । यसैका कारण चुरे फोरेर निकासीको निर्णय भएको हो । सत्तामा रजाईँ गर्नका लागि बाह्य शक्तिलाई मुलुक मरुभूमि करण भएहोस् भनेर केपी शार्मा ओली सरकारले यो काम गरेको छ ।
तपाईंले राष्ट्रघात भनिरहँदा सरकारले त ब्यापार घाटा न्यूनीकरण गर्न यसो गरिएको दावी गर्छ नी ?
यो सबै फटाई कुरा हो । नेपालको प्राकृतिक स्रोत भनेको चुरे मात्रै हो र ? भारतले नदीहरु सबै कब्जा गरेर राखेको छ । विद्यतु निकाल्ने भनिए पनि निकालेको छैन । तस्करी र कर्मचारी मिलेर वन उस्तै गरी मास्ने काम भएको छ । वनमा काठ कुहिएका छन् तर ती काठ प्रयोग नगरेर आयात गरिएको छ । त्यसैले नागरिलाई गुमराहमा राखेर सत्ताधारीले आफूले लाभ उठान र कुर्सी टिकाउन ब्यापार घाटाको कार्ड फालेका हुन् । यसले कुनै पनि हालतमा ब्यापार घाटा कम हुँदैन, मुलुक विनासतर्फ जान्छ ।
सरकारले संघीय संसद बिघटन गरेको छ । तपाईंको पार्टीले बिरोध गरिरहेको छ, राष्ट्रपति र प्रधानमन्त्रीको कदमको बारेमा यहाँको भनाइ के छ ?
यो अत्यन्त, जालझेल, साँठगाँस र षड्यन्त्र पूर्वक कार्य हो । राष्ट्रपति र प्रधानमन्त्रीको कदमले मुलुकलाई दुर्घटनातर्फ धकेलेको छ । अर्काको दल फोर्न अध्यादेश ल्याइन्छ । संसदको घाँटी निमोठिएर, ध्वस्त पारेर अध्यादेशबाट बजेट ल्याइन्छ । यो कस्तो विडम्बना । त्यसैले अहिलेका जति पनि विकृति र विसंगति छन्, त्यसका कारक भनेकै प्रधानमन्त्री हुन् र त्यसमा सही छाप लगाउने काम राष्ट्रपतिले गर्नुभएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबाटै लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता, स्वाभिमानलाई नासेर मुलुकलाई अधोगतितिर लग्ने काम भएको छ । राष्ट्रपतिले संविधानको रक्षा गर्नुपर्नेमा प्रधानमन्त्रीले जे–जति गलत र कू गर्छन् त्यसैमा साथ दिएर संविधान मास्न लाग्नुभएको छ । आफ्नै पार्टी त ध्वस्त पार्ने ओलीबाट अरु के अपेक्षा गर्नु ? उनी अझै सत्तामा रहे भने मुलुकको अखण्डता नै सखाप पार्छन् । अहिले जसरी डिजाइनका साथ काम भइरहेको, त्यो सबै बाह्य शक्तिको आडमा भएको छ ।
यहाँको नजरमा संसद पुनःस्थापना हुन्छ की हुँदैन ?
संसद विघटन गर्ने कारणै थिएन । र, पुनःस्थापना नहुनु पर्ने पनि कारण नै छैन । यिनै दलहरुकै कारण नै संसदीय व्यवस्थामाथि विगतदेखि नै प्रहार हुँदै आएको छ । त्यसैले संविधानमा हामीले संसदलाई बलियो बनाउने व्यवस्था गर्यौं । तर, त्यो ओलीले मानेनन्, कुल्चिए । संविधान नै नमाने पछि के गर्नु ? बरु संघीयतामा मुलुक गएपछि आठ–आठ ठाउँमा मन्त्री र सांसदको खरिदविक्री भइरहेको छ । खरिद विक्री पहिला सिंहदरवारमा हुन्थ्यो । तर अहिले आठ ठाउँमा विकृति र विसंगती छ । भ्रष्टाचार उस्तै छ । यसले राष्ट्र नै ध्वस्त हुने हो की भन्ने मलाई चिन्ता लागेको छ । त्यसैले संविधान जोगाउन पनि संसद पुनस्र्थापना हुनुपर्छ ।
संसद पुनस्र्थापना भएन र यदि प्रधानमन्त्रीले भनेझै चुनाव भयो भने तपाईंहरु भाग लिनुहुन्छ की नाई ?
चुनाव गर्नका लागि नै यो घोषणा गरिएको होइन । मुलुकमा अस्थिरता चाहाने, जसरी हुन्छ, सत्ता टिकाउनुपर्छ भन्ने उद्देश्यका साथ यो सबै गरिएको छ । त्यसैले ओलीले संकटकाल लगाएर भए पनि सत्ता लम्ब्याएरै छाड्छन् । यो सबैको आँकलन हो । उनी अहम्कारी भए । कसैलाई नटेर्ने, संविधान र राष्ट्रलाई नै संकटमा पारेर काम गरिरहेका छन् । त्यसैले नहुने चुनावमा भाग लिन्छौं भन्नुको अर्थ नै छैन । यद्यपि चुनाव भइहाल्यो भने पार्टीले आवश्यकताका आधारमा निर्णय लिन्छ ।
प्रदेश सरकारमा पनि किचलो छ । गण्डकी प्रदेशमा यहाँको दल निर्णायक छ । एक जना सांसद निलम्बित गर्नुभयो ? फेरि पनि फ्लोर क्रसको हल्ला छ । पार्टीले यसलाई कसरी हेरिरहेको छ ?
हाम्रो पार्टी २०५१ सालदेखि संसदमा छ । त्यहाँ रहेर हामीले संसदभित्र हुने गरेका गतिविधि र विकृतिविरुद्ध आवाज उठाउँदै आएका छौं । हाम्रो पार्टीका कुनै पनि सांसदले पार्टीको ह्वीपलाई उल्घंन गरेको अहिलेसम्म इतिहास थिएन । पार्टी बैठकमा पनि गण्डकीका सांसद कृष्ण थापाजीले पार्टीको निर्णय मान्छु भन्नुभएको थियो तर उहाँले मान्नुभएन । उहाँले गरेको गतिविधि हाम्रो पार्टीको नीति होइन । त्यसैले हामीले पार्टी र सांसद पदबाट निलम्बन गरेका छौं । अब त्यहाँ हाम्रो २ जना संसद हुनुहुन्छ । उहाँहरु पार्टी नीतिविपरीत जानुहुन्न । फ्लोर क्रस पनि गर्नुहुन्न ।
मुलुकका सबै दलमा अहिले झगडा छ । फुट्ने स्थितिमा छन् । तपाईंको पार्टी भित्र पनि समस्या देखियो, यसको जड के हो ?
संसदीय व्यवस्थाभित्र यस खालका विकृति हुन्छन् नै । हामी यसबाट बचेका थियौं । पार्टीका नेता–कार्यकर्तालाई नीति र अनुशासनमा राखेका थियौं, पार्टी बचाएका थियौं । अहिले एक जना साथीमा विचलन आयो । उहाँले त्यसको फल भोग्नुभयो । जुन औंलामा विष लाग्यो, त्यो झरी सक्यो । अन्य पार्टी जस्तै अब हाम्रो पार्टीमा विचलन आउँदैन । अन्य पार्टीमा पद, पैसाका लागि इमान बेच्ने, पार्टी छाड्ने प्रवृत्ति छ । देशी–विदेशी शक्तिहरुको गोटीमा चल्ने काम अरु पार्टीमा छ । यो तपाईं–हाम्रासामु छर्लङ्ग छ । संसदीय प्रणालीभित्र अहिले जुन खालको विकृति देखिरहेका छौं, त्यो राजनीति गर्ने दलका नेताहरुले देशका लागि राजनीति भन्दा पनि पद र पैसाका लागि गरेर हो । यो मैले २०१५ सालदेखि भोग्दै आएको छु । नेतासँगै कतिपय मतदातामा पनि विचलन छ, पैसा र पदकै लागि हिँडेका छन् । भ्रष्टाचारी प्रवृत्ति धेरै छ । जुनसुकै मूल्य चुकाएर भए पनि सत्तामा जाने, पैसा कमाउने, माफियासँग मिल्ने र चुनाव लड्ने जित्ने, पैसा कमाउने प्रवृत्ति हावी भयो । यसलाई नेताले रोकेनन्, अब जनता जागृत भएर रोक्नुपर्छ ।
महामारी नियन्त्रणमा सरकारको भूमिका कस्तो देख्नुभएको छ ? खोपका लागि राष्ट्रपतिले कुटनीतिक अग्रसरता देखाउनु भएको छ, यस्तो पहल कार्यकारी प्रमुखले गर्ने हो कि राष्ट्रपतिले ? तपाईंको धारणा के छ ?
महामारी नियन्त्रणका लागि सरकारले जुन किसिमको तयारी गर्नुपथ्र्यो, त्यो गर्न सकेन । कयौं जनता अक्सिजन र बेड नपाएर ज्यान गुमाए । सरकारले खोप ल्याउन नसकेर अवस्था उस्तै छ । तयारी केही भएन, सत्ता र शक्तिमा मात्रै लिप्त भयो, मन्त्रीहरु भष्टाचारमा मात्रै केन्द्रित रहे । अहिले फेरि तेस्रो लहरको कोरोना आउँदैछ भनिएको छ । तर सरकारले केही तयारी गरेको छैन । यस्तोबेला चुनावको डम्फू पिटेर जनता भुलाउने काम भएको छ ।
जहाँसम्म राष्ट्रपतिले खोपका लागि सहयोग मागेको कुरा छ, त्यो पक्कै पनि जायज छैन, सरकारले गरेका विकृति ढापछोप गर्न राष्ट्रपतिले पहल मात्रै गर्नुभएको हो । यसको कुनै औचित्य छैन । ओली सरकारप्रति नागरिकको विश्वास नै छैन । सरकारले नागरिकमाथि खेलवाड गरिरहेको छ ।
लेखकको सम्वन्धमा