सपना र परिवेश

म कल्पन्थें, म गम्थें
म सम्झन्थें, सोच्थें, कल्पना गर्थेँ
म मानव भएर जिउने अभिलाशा राख्थें
म मेरो परिवेश केलाउँथें
म सपना देख्थें म गन्तव्य सोच्थें
मेरा पुर्खा र बराजुहरुको नियति सुन्थें
मेरा बाजे र बा का दुख कष्ट देख्थें
छिमेकीहरुमा पनि उस्तै पीडा पाउँथे
नदेखे पनि कथाका शहरसँग दाँज्थें
परदेशमा उन्नतिका हावा चलेको सुन्थें
त्यो हावा आँधी वनेर आवस् भनी चाहन्थें ।
के थियो र माध्यम त्यतिबेला
न कुनै विकास न कुनै प्रविधिी
थियो त केवल सुनेका कथा
कोमल दिमागले पढेका पाना
तर पनि मनले कल्पना गर्थ्यो
दिमागले उन्नत सपना देख्थ्यो
चौतारीहरुमा योजना वन्थ्यो
चिया पसलहरुमा विकासको वहस चल्थ्यो
यसै गरी गरी परिवर्तनका लहर चल्थ्यो ।
यस्तैमा पनि नगरेको त कहाँ हो र
इतिहासलाई नखोतलेको कहाँ हो र
वुनेका योजना थन्क्याएको पनि कहाँ हो र
हाम्रा बाजे बराजुले पनि सोचेकै थिए
हामीले पनि कल्पेकै थियौं
कहिले सडक ततायौं, कहिले विगुल घन्कायौं
कहिले लाठी भाला त कहिले राँको दन्कायौं
घरवार छाडेनौं कि दरवार घेरेनौं
सपनाको पहाड चढ्न के के गरेनौं
कयौं पर्खाल भत्काएकै हौं
कयौं दानव ढलाएकै हौं
पुराना दरवार भत्काएर
नयाँ दरवार वनाएकै हौं
सपना पुरा होला भनी
वेला वेला रमाएकै हौं
विकासको आँधी ल्याउन भनी
नयाँ नयाँ बाटो बनाएकै हौं ।
अव त कपाल फुली सकेछ
तन मन पनि गलि सकेछ
जे जे सपना देखिएको थियो
बीच बीचमा धेरै ढलिसकेछ
हिजो संगै हिंडेको मूल बाटो
आज हाँगै हाँगामा फाटिसकेछ
सहयात्रीको गन्तव्य फरक भएपछि
मूलधामले नेटो काटिसकेछ ।
आज लाग्दैछ कतै नयाँ घरवार ठडिने त हैन
पुराना ती दरवार सजिने त हैन
खोला तर्दै पुल काट्दा
भेल बाढीमा खसिने त हैन
जंघार तर्न नसकेर
बीच नदीमा फंसिने त हैन
कालीगढमा एकता नभएर
सपनाको महल भत्कने त हैन ।।।
देउखुरी, दाङ (काफ्ले लुम्बिनी प्रदेशको वन मन्त्रालयका सचिव हुन् ।)
लेखकको सम्वन्धमा