रूपन्देहीमा रैथाने भन्दा हाइब्रिड धानखेतीको मोह बढ्दो

भैरहवा– धेरै फल्ने बीउमा कृषकहरु आकर्षित हुँदा रूपन्देहीका प्रायः कृषकले स्वादिष्ट, बासनादार र पौष्टिक तत्व बढी हुने रैथाने जातका धान खेती गर्न छोडेका छन् । किसानहरुले केही बर्ष अघिसम्म मनसरा, वर्यनी, बास्मती, गौरिया लगायत जातका धान फलाउने गर्दथे । बाली भित्राउने बेला खेतमा मगमग बास्ना आउने कालानमक, अन्दी, वर्यनी जस्ता धान अब सम्झनामा मात्रै छन् ।
अहिले किसानहरुले उन्नत र वणशंकर (हाइब्रिड) लगाउँदै आएका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७, कानपाराका किसान राजाराम यादवले आफूले आफ्नो सात विघा खेतमा हाइब्रिड धान खेती गरेको बताए । आफूलाई खान मात्र चाहिने बेलासम्म पुराना जातका धान लगाउने गरेको बताउँदै उनले अहिले रैथाने जात हराइसकेको जनाए ।
‘कतै औषधिको लागि चाहियो भन्दा समेत नपाइने अवस्था आयो’, उनले भने । वि.सं २०५०–०५५ सम्म लुम्बिनी आसपासका मर्चवार, छपियालगायत ठाउँमा अनदी, वर्यनी, कालानमक, गौरिया, आपसुक्ते, रातो अनदी, थापाचिनी, स्यामजिरा धानका बालाले बहेली हाल्थे । सन् २०२३ अर्थात् १९ वैशाख २०८० मा कम्बोडियामा आयोजित अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले कालानमक धानको चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार दिएका थिए ।
बौद्धमार्गी राष्ट्रमा पवित्र अन्नका रूपमा लिइने बुद्धकालीन रैथाने कालानमक प्रजातिको धान अब लुम्बिनी क्षेत्रमा पाउनै मुस्किल हुन थालेको छ । झापा, मोरङ र कैलालीपछि धान उत्पादनमा चौथोमा पर्ने रुपन्देही अहिले उन्नत जातका हर्दिनाथ–६, साँवा मन्सुली, राम धान, राधा–४ र सावित्री बढी प्रयोगमा छन् ।
यससँगै सरकारले सूचीकृत गरेका हाइब्रिड जातका युएस–३१२, युएस–३२३, एमपी–३०, एराइज–६४४४, अराइवर्ग लगायतका धानका जात पनि उस्तै बोलवाला देखिन्छ । रूपन्देहीको शुद्धोधन गाउँपालिका–६, रामगञ्जका ६५ वर्षीया किसान डुनराज शर्माले थापाचिनी र स्यामजिरा जातका धान अहिले हराइसकेको बताए ।
‘केही वर्षसम्म बीउसमेत बिक्री गर्थे, अहिले मेरो ४ बिघा खेतमा बीउ किनेर लगाउने गरेको छु’, उनले भने । स्थानीय जातका धान लगाउनेलाई सरकारी तर्फबाट कुनै प्रोत्साहन नभएपछि उत्पादन बढाउन आफू जस्ता धेरै किसान धेरै फलाउने वीउको धान रोप्न थालेको उनको भनाई छ ।
वि.सं २०५० को दशकपछि किसानलाई उन्नत जातका बीउ निःशुल्क वितरण गर्ने लहर चल्यो । विभिन्न गैरसरकारी संस्था (आइएनजीओ) मार्फत् पाएको बीउ लगाउन थालेर उत्पादनसमेत बढ्दा किसान खुसी हुन थाले । अनि किसान त्यसैतर्फ लागेका हुन् । बढ्दो जनसंख्या, घट्दो पशुपालन, खडेरी वृद्धिलाई मुख्य समस्या बनाएर अहिले किसानले उन्नत र हाइब्रिड जातको धानखेतीमा लागेका छन् । रूपन्देहीमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन छ । एक दशक अघिसम्म ६९ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले घटेर ६३ हजारमा झरेको छ ।
प्रतिकृया दिनुहोस्