September 28, 2025, Sunday
२०८२ आश्विन १२ आईतवार

राष्ट्र बैंक सिद्धार्थनगरबाट ८ हजार ४८८ जनाले साटे सुकिला र नयाँ नोट

भैरहवा– नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले दसैंका लागि ८ हजार ४ सय ८८ सेवाग्राहीलाई सुकिला र नयाँ नोट सहटी गरेको छ । भदौ २९ गते देखि असोज १० गतेसम्म कार्यालयले सुकिला र केही नयाँ नोट सटही सुरु गरेको थियो ।

Advertisement

राष्ट्र बैंक सिद्धार्थनगरका सूचना अधिकृत जीवनप्रकाश पाण्डेका अनुसार कार्यालको कार्यक्षेत्र रहेका नोटकोष र लुम्बिनी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रदेश कार्यालयहरु मार्फत् पनि नोट सटही गरिएको थियो । कार्यालय मातहत ९ वटा नोट कोष मध्ये ८ वटामा रकम ट्रान्सफर गरेको भए पनि पूर्वी रुकुमको नोट कोषले यसपटक माग नगरेको पाण्डेले जनाए ।

उनका अनुसार सिद्धार्थनगर शाखाबाट दसैंका लागि ५ देखि एक सय रुपैयाँसम्मका दरका नोट १० करोड ५९ लाख ३९ हजार २३० रुपैयाँ सहटी भएको छ । ‘सम्भव भएसम्म सुकिला नोट वितरण गरेका थियौं’, उनले भने, ‘सुकिला नोट सकिएपछि नयाँ नोट पनि वितरण गरिएको छ ।’

यो दसैंमा बैंक तथा वित्तीय संस्था मार्फत् र राष्ट्र बैंकबाट गरी करिब १ अर्ब ८२ करोड बराबरका सुकिला र नयाँ नोट सटही गरिएको छ । दसैंका लागि नोट सटही सुरु भए पछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक सिद्धार्थनगर शाखाबाट १ अर्ब ७१ करोड ३२ लाख बराबरको रकम सटहीका लागि लगेको पाण्डेले जानकारी दिए ।

राष्ट्र बैंक सिद्धार्थनगरले संघसंस्था, सर्वसाधरण लगायतको सहजताका लागि चारवटा काउण्टर मार्फत् नोट सहटी गरेको थियो । सर्वसाधरणलाई सहजरुपमा वितरण गर्न सकियोस् भनेर गेटमै टोकन मेसिन राखेर टोकनका आधारमा नोट सटही गरिएको थियो ।