सिमानाकामा तानातान, बसपार्क सुनसान

भैरहवा– यतिबेला मुलुकका अधिकांश बसपार्क यात्रुको चापले भिडभाड छन् । दशैंमा गन्तब्यसम्म पुग्ने यात्रुको सहयोगका लागि लगभग सवैजसो बसपार्क र अन्य महत्वपूर्ण स्थानमा नागरिक सहायता केन्द्र स्थापना गरि सञ्चालनमा ल्याइएका छन् ।
आफ्नो गन्तब्य स्थलसम्मको बसको टिकट काट्ने, यात्रुलाई बिदाइ गर्न आउने नातेदार तथा साथिभाइसँगको जमघट, चियानास्ता खाने, आफ्नो बसको खोजि गर्ने, बस नछुटुञ्जेल गफ गरेर समय कटाउने, यात्राका लागि आवश्यक पर्ने सामान किनमेल गर्ने लगायतका गतिबिधिले बसपार्कहरु निकै गुल्जार र चहलपहल हुने गर्छन् ।
तर, मुलुककै महत्वपूर्ण सिमानाका मानिने सुनौली–बेलहियाको समिपमा रहेको भैरहवास्थित सिद्धार्थ बसपार्क भने सुनसान छ । यो बसपार्कमा गएर हेर्दा दशैं लागेको कुनै आभाष हुँदैन । न यात्रुको चाप देखिन्छ । न त बसको संख्या नै प्रशस्त । लामो दुरीका बसको लाइन बसपार्कमा भन्दा बेलहियास्थित सडक किनारामा हुने गर्छ ।
दशैंमा आवतजावत गर्ने यात्रुको भिडले यात्रु समस्यामा पर्न सक्ने अनुमान गर्दै सिद्धार्थ बसपार्कमा पनि नागरिक सहायता केन्द्रको स्थापना गरिएको छ ।
‘नागरिक सहायता केन्द्र’ स्थापना गरेको चार दिन भयो । अहिलेसम्म कुनै पनि यात्रुले गुनासो गरेका छैनन्’, नागरिक सहायता केन्द्रमा यात्रुका निम्ति गुनासो रजिष्टर देखाउँदै ड्युटिमा रहेका ट्राफिक प्रहरी नरेन्द्र अर्यालले भने, ‘बसपाकै नै सुनसान छ ।’
अर्यालका अनुसार दशैं, तिहार र छठलाई लक्षित गरेर बसपार्कमा नागरिक सहायता केन्द्र स्थापना गरिएको हो । यो बेला यात्रुको बढी भिड हुने हुँदा विभिन्न खालका समस्यामा परेका यात्रुको समस्यालार्इ तत्कालै सम्बोधन गरि सहयोग गरिन्छ ।
बढि भाडा असुल्ने, दलाल वा बिचौलियाले ठग्ने, एउटै सिट धेरैजना यात्रुलाई दिने, यात्रुमाथि दुव्र्यबहार, चोरी लगायतका समस्यामा यात्रु पर्ने सम्भावना हुन्छ ।
बसपार्कमा यात्रुको आवागमन कम भएपछि बसपार्कलाइ लक्षित गरेर आसपासमा खुलेका होटल, रेष्टुरेन्ट, चिया तथा नास्ता पसल, किराना पसल समेत सुनसान छन् ।
‘बसपार्क सुनसान भएपछि पसलको भाडा समेत कसरी तिर्ने ? भन्ने समस्या हुन थालेको छ,’ बसपार्क नजिकै भाडामा चियानास्ता तथा खुद्रा सामान बिक्री पसल खोलेका मित्रलाल चौहानले भने, ‘बसपार्कमा यात्रु छैनन् । बिक्री नभएपछि हामी पनि पसल बन्द गरेर चाडै न घर जाने तयारीमा छौं ।’
सिद्धार्थ बसपार्क सुनसान देखिए पनि भैरहवाबाट काठमाडौं, पोखरा, बीरगञ्ज, काँकडभित्ता लगायत लामोदुरी र बुटवलको छोटो दुरीमा चल्ने बस भने सुनसान छैनन् । लगभग सवै बसमा यात्रुको भिडमभाड छ । तर अधिकांश बस सिद्धार्थ बसपाकबाट नभइ सिमानाका बेलहियाबाट छुट्ने गरेकाले सिद्धार्थ बसपार्क सुनसान भएको हो ।
बेलहियाबाट नै यात्रुलाई चढाएपछि ति बसहरु सिधै गन्तब्यतर्फ जाने गर्छन् । एकाध बसुमात्रै बेलहियाबाट छुटेपछि क्यु लिन सिद्धार्थ बसपार्कमा पस्ने गर्छन् ।
दशैंका लागि भारतबाट घर आएका प्रवासी नेपाली परिवार, अन्य यात्रु, बिदेशी तथा भारतीय पर्यटकलाई बेलहियामा तानातान नै हुने गर्छ । बसवाला, ट्याक्सीवाला, अटोरिक्सावाला र बिचौलियाको ताँती सडकभरि देखिन्छ ।
भैरहवा भन्सार कार्यालयको गेट अगाडि अत्याधिक गाडीको जामले गर्दा व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरी तैनाथ नै हुने गर्छन् । लामो तथा छोटो दुरीका बस, अटोरिक्सा, निजी सवारीसाधन र आयात–निर्यात हुने ठूला मालवाहक गाडीको चाप र अत्याधिक यात्रुको आवागमनले बेलहिया सेमाक्षेत्र अस्तव्यस्त नै हुने गर्छ ।
सिद्धार्थ बसपार्क सुनसान हुन थाल्नुको अर्को कारणमा भैरहवा–बुटवल बिच चल्ने छोटो दुरीका बस सिधा सञ्चालन हुनु र बसमा अनलाइन तथा इ–टिकटको व्यवस्था हुनु पनि हो । भारतबाट आएका यात्रुहरु बुटवलबाट जुनसुकै बेला पुर्व पश्चिम र उत्तरतर्फ जाने बसको उपलब्ध हुने भएकाले अधिकांश यात्रु छोटो दुरीको बसबाट बुटवलतर्फ लाग्ने गर्छन् ।
‘यात्रुको सुविधाका लागि इ–टिकट तथा अनलाइन टिकटको व्यवस्था गरिएपछि पहिला जस्तो यात्रु बसको टिकट काट्न र बस चढ्न बसपार्कमैं आउनु पर्ने बाध्यता छैन’, पश्चिम नेपाल यातायात प्रालिका भैरहवा इञ्चार्ज शंकर खरेलले भने, ‘यात्रुले अनलाइन टिकट गरेपछि बस चढ्न बसपार्कमा नआइ घर नजिकको सडक किनारामैं बसेर चढ्ने गर्छन् । यो प्रविधिले ल्याएको परिवर्तन पनि हो ।’
प्रतिकृया दिनुहोस्