भैरहवामा सुरु भयो दशैं सस्तो बजार

भैरहवा– उपभोक्ता माझ स्वदेशी उत्पादित बस्तुको पहिचान र प्रवर्द्धन गर्नका लागि बुधवारदेखि भैरहवामा ‘दशैं सस्तो बजार’ सञ्चालन गरिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा उक्त बजार संघकै भवन परिसर भित्र सञ्चालन गरिएको हो । असोज १२ गतेसम्म सञ्चालन हुने उक्त बजारमा विभिन्न स्वदेशी बस्तुका १९ वटा स्टल रहेका छन् । संघले आयोजना गरेको यो सस्तो बजार पाँचौं शृङ्खला हो ।
दशैं सस्तो बजारको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले स्वदेशी उत्पादित बस्तुहरु सुपथ मूल्य र गुणस्तरीय छन् भनेर आम उपभोक्ता समक्ष जानकारी दिन यो बजारले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘यस खालको बजार आयोजना गरिनुले एकातिर स्वदेशी बस्तुको बजारीकरण तथा प्रवर्द्धनमा सहयोग पुग्ने छ भने अर्कोतर्फ स्वदेशी बस्तुप्रति उपभोक्ताको चाशो बढ्ने छ’, शर्माले भने, ‘स्वदेशी बस्तुको गुणस्तर बारे अनभिज्ञ भइ सिमापारी गएर किनमेल गर्ने नेपाली उपभोक्तालाई यस खालको बजारले सचेतना जगाउन सहयोग पुर्याउने छ ।’
आम उपभोक्तालाई एकैथलोबाट स्वदेशी उत्पादनहरु सुपथ मूल्यमा उपलब्ध गराउनु यो बजारको मुख्य उद्देश्य हो । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले मुलुकको प्रतिकुल अवस्थामा पनि उपभोक्तालाई सस्तो, शुलभ र गुणस्तरीय वस्तु एकै थलोबाट उपलब्ध गराइएको बताए ।
‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै सिमावर्ती भारतीय बजार भन्दा सुलभ मूल्यमा गुणस्तरीय सामान स्वदेशमैं उपलब्ध छन् भन्ने सन्देश दिनका लागि यो बजारको आयोजनालाइ निरन्तरता दिइएको हो’ आचार्यले भने, ‘यो बजारले स्वदेशी उपभोक्तालाई नेपाली बस्तुप्रति जागरुक गराउने छ ।’
उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउन निःशुल्क स्टल उपलब्ध गराइएको उनले जनाए । उनका अनुसार यस बजारमा खाद्य लगायत्का उपलब्ध रहेका सामान सिधै उद्योगकै मूल्यमा उपलब्ध गराइएकाले अन्य बेला भन्दा मूल्य सस्तो छ ।
यस बजारबाट ५० देखि ६० लाख रुपैयाँको कारोबार हुने संघले अपेक्षा गरेको छ । दशैं बजारमा उपभोक्ताको सहजता र सुरक्षाका लागि सीसीटीभी जडान, शुद्ध खानेपानी उपलब्ध गराइएको छ । बजार प्रत्येक दिन बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ ।
मुस्ताङको स्याउ, आलु लगायतका कृषिजन्य सामाग्रीदेखि खानेतेल, चिनी, भाडाबर्तन, आटामैदा, चाउचाउ, आलुचिप्स, नमकिन, दालमोठ, सरफ, च्युरा, मरमसला, पेय पदार्थ, घिउ, मह लगायतका अर्गानिक र स्वदेशी बस्तु उक्त बजारमा उपलब्ध छन् ।
प्रतिकृया दिनुहोस्