June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

बेलहिया नाका हुँदै दैनिक १३ सय सवारीमा नेपाल आउँछन् ५ हजार भारतीय पर्यटक

Advertisement

भैरहवा– नेपाल घुम्नेमा भारतीय पर्यटकको सख्या सबैभन्दा धेरै । खासगरी सीमा क्षेत्रका बजारहरुमा खानपिन र रमाउन आउने भारतीय झन धेरै छन् । यसरी नजिकका बजारमा आउने अधिकांले निःशुल्क भन्सार सुविधा मात्रै लिन्छन् भने टाढाका पर्यटकीय गन्तव्यमा पुग्नेले सवारी साधनको प्रकृति हेरेर शुल्क तिरेर अस्थायी पैठारी सुविधा लिन्छन् । भैरहवा भन्सार कार्यालको तथ्यांक अनुसार दैनिक रुपन्देहीको बेलहिया नाका हुँदै मात्रै करिब १ हजार ३ भारतीयहरु सवारी लिएरै नेपाल भित्रिन्छन् ।

Advertisement

भैरहवा, बुटवल, लुम्बिनीसहित मुलुकका अन्य पर्यटकीय गन्तव्यमा घुम्न जानका लागि भारतीयहरु सवारीसाधन लिएर नेपाल आउने गरेका हुन् । कतिपय नेपालमा व्यापार व्यवसाय र मजदुरीका लागि आउँछन् । यस्तै, केही भारतीय पर्यटक सीमा क्षेत्र भैरहवा र आसपासमा रहेका क्यासिनो खेल्न, होटलहरुमा विवाह, व्यवसायिक भेटभाघ, होटल तथा रेष्टुरेन्टमा खान, बस्न र रमाउन आउने गरेका छन् ।

भैरहवा भन्सार कार्यालयको गत आर्थिक वर्ष २०८१–२०८२ को तथ्यांकअनुसार बेलहिया नाकाबाट मात्रै एक वर्षमा भारतीय नागरिक सवार ४ लाख ७३ हजार ५३८ सानाठूला सवारी नेपाल आएका छन् । भन्सार प्रमुख रामप्रसाद रेग्मीले सुविधा (नजिकको बजारसम्मका लागि शुल्क तिर्न नपर्ने) सवारीहरु कार, जिप, मोटरसाइकल र बस गरी एक वर्षमा ३ लाख ५१ हजार ७४८ वटा भित्रिएको बताए ।

यसमा मोटरसाइकल २ लाख २४ हजार ४८८, कार, जिप र भ्यान १ लाख २७ हजार २६० छन् । भन्सारका अनुसार सुविधा लिने गाडी दैनिक ९ भन्दा सय बढीको हाराहारी छन् । यस्तै, अस्थायी पैठारी (शुल्क तिरेर) १ लाख २१ हजार ७९० वटा सवारी नेपाल आएका छन् । यसमा बस तथा मिनी बस १२ हजार ५६३, कार, जिप र भ्यान ७२ हजार ४४३ र मोटरसाइकल ३६ हजार ८११ छन् । यस हिसाबले भन्सार शुल्क तिरेरै दैनिक ३ सय बढी सवारीमा भारतीयहरु बेलहिया नाका हुँदै नेपाल आएको देखिन्छ । भैरहवा भन्सारका अनुसार बस तथा मिनी बस, कार, जिप र भ्यानको सुविधा लिँदा दैनिक ६ सय र मोटरसाइकलको दैनिक २ सय रुपैयाँ तिनुपर्छ । यस्ता सवारीलाई एक वर्षमा बढीमा ३० दिनको सुविधा दिइने रेग्मीले जनाए ।

पर्यटन व्यवसायीहरुका अनुसार बेलहिया नाका हुँदै भित्रिने भारतीय सवारीमा कम्तिमा दैनिक ५ हजार भारतीयहरु नेपाल आउने गरेका छन् । यो तथ्यांक सवारी साधन प्रयोग गरेर आउनेको मात्रै हो । यसबाहेक सवारीविनै नेपाल प्रवेश गर्नेको तथ्यांक कहीकतै छैन । यस्तो संख्या पनि दैनिक ४–५ सय हाराहारी रहेको पर्यटन व्यवसायी किशोर जोशी बताउँछन् ।

‘हाम्रा धेरै पाहुना भनेकै भारतीयहरु हुन्, उनीहरुलाई नाकामा थप सहज गरे धेरैभन्दा धेरै भित्र्याउन सकिन्छ’, उनले भने, ‘यसका लागि निजी क्षेत्रले स्वागत–सत्कार, बोलीचाली उनीहरुको आवश्यकता अनुसारको खानाबस्नको व्यवस्था गर्नुपर्छ । सरकारले नाका व्यवस्थापन, भन्सार शुल्कमा छुट, जथाभावी हुने चेकिङलाई एकद्वारा गराउनुपर्छ ।’

सवारीसहित सुविधा लिएर नेपाल प्रवेश गर्ने भारतीयहरुको मुख्य गन्तव्य भनेकै लुम्बिनी, भैरहवा आसपासका क्यासिनो, स्पा हुन् । यस्तै, केही संख्यामा रोजगारीका लागि आउने गरेका छन् भने केही व्यापार गर्न आउने गरेको जोशी बताउँछन् । पर्यटन व्यवसायी एवं सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले भन्सार शुल्क तिरेर आउने धेरै पर्यटक लुम्बिनी घुमेर पाल्पा, पोखरा, चितवन, मुक्तिनाथ, काठमाडौंसम्म पुग्ने गरेको बताए । ‘भारतीय भनेका खर्चालु पर्यटक हुन् । तर, हाम्रा कुनै पनि निकायले भारतीयलाई पर्यटकको व्यवहार गर्दैनन्’, उनले भने, ‘नाका र भन्सारमा उस्तै झन्झट छ । दुःख दिनकै लागि ठाउँठाउँमा प्रहरी चेकिङ हुन्छ । यसलाई हटाउन जरुरी छ ।’

शर्माले भारतीय पर्यटकलाई भन्सार र नेपालमा लाग्ने अन्य शुल्क तिर्नका लागि अनलाइन सुविधाको व्यवस्था गर्न जरुरी रहेको बताए । ‘अनलाइन पेमेन्टको सुविधा हुने हो भने भन्सारमा आएर लाइन लागेकार घण्टौंसम्म बसेर शुल्क तिर्नु पर्दैन’, उनले भने, ‘बुटवल–नरायणगढ सडक लगायतका कारण पनि भारतीयहरु भनेजति नेपालमा आकर्षित हुन सकेको छैनन् । सडक संजाल राम्रो हुने, अनलाइन सुविधा हुने र राम्रो व्यवहार पाउने हो भने थेगिनसक्नु भारतीय पर्यटक नेपाल आउँछन् ।’

भैरहवाको एशियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले रुपन्देहीसहित नेपालका मुख्य गन्तव्यहरुमा आउने धेरै पर्यटकहरुमा भारतीय नै पर्ने जनाए । उनले वर्खाको मौसममा केही मात्रामा घटे पनि अन्य समयमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आउने गरेको सुनाए । ‘हामीले जति यहाँका होटल तथा रेष्टुरेन्ट हेर्छौं, धेरैमा भारतीय पर्यटक नै भेटिन्छन् । उनीहरु अन्य मुलुकका भन्दा खर्चालु पनि हुन्छन्’, उनले भने, ‘हामीलाई चाहिएको क्वालिटी पर्यटक हो, त्यसमा भारतीय बढी छन् ।’

उनले धेरै पर्यटकले अनलाई पेमेन्टको सुविधा नहुँदा समस्या भएको गुनासो गर्ने गरेको बताए । व्यवसायीहरुका अनुसार पछिल्ला वर्षहरुमा रुपन्देहीका ठूला होटलहरुमा भारतीय व्यवसायीहरुले विवाह र खानपिनका ठूला समारोह गर्न अधिक मात्रामा आउने गरेका छन् ।

खासमा सीमा क्षेत्र र नेपालका मुख्य धार्मिक पर्यटकीय गन्तव्यहरु भारतीय पर्यटकले नै धानेका छन् भन्दा हुन्छ । व्यवसायीको कुरा मान्ने हो भने तेस्रो मुलुकका भन्दा भारतीय पर्यटक बढी खर्चालु समेत हुन्छन् । यसैले होला रुपन्देहीका सीमा क्षेत्रमा तारे होटलदेखि स–साना रेष्टुरेन्ट अधिक खुलेका छन् । यस्ता होटल तथा रेष्टुरेन्टमा भारतीय पर्यटक बढी भेटिन्छन् । अन्य मुलुकका पर्यटकलाई जस्तो भारतीलाई नेपाल प्रवेशमा भिसा लगायतका झन्झटिला प्रक्रिया पूरा गर्नु पर्दैन । यसैले पनि डेढ अर्ब जनसंख्या भएको मुलुक भारतबाट ३ प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्दासमेत नेपालले पर्यटनबाटै मनग्य लाभ उठाउन सक्ने शर्माले बताए ।