संचालनमा आयो पंचकन्या डिमेक्स, २० वर्ष वारेन्टी, ५० प्रतिशत आयात प्रतिस्थापन गर्ने लक्ष्य


भैरहवा- अहिले मुलुकमा ९० प्रतिशत युपीभीसीका झ्याल–ढोकाका प्रोफाइल (फ्रेम)हरु भारत र चीनबाट आयात हुन्छ । यसरी आयात हुने युपीभीसीको गुणस्तरीयताबारे कहीकतै मापदण्ड छैन । आयातित यस्ता फ्रेमको वारेन्टी जम्मा पाँच–सात वर्ष छ । यस्तो अवस्थामा गुणस्तरहीन युपीभीसी आयात रोकी नेपाली बजारको ठूलो हिस्सा ओगट्ने उद्देश्यसहित रुपन्देहीमा पंचकन्या डिमेक्स उद्योग संचालनमा ल्याइएको छ । नेपालकै ठूलो उद्योग समेत रहेको पंचकन्या डिमेक्सले २० वर्षको वारेन्टीसहित आफ्ना उत्पादनको बजारीकरण समेत सुरु गरेको छ ।
जिल्लाको सियारी गाउँपालिका–२, भगदरीमा ‘पंचकन्या डिमेक्स’ युपीभीसी झ्याल–ढोका उद्योग सञ्चालनमा आएको हो । करिब एक वर्षसम्म उत्पादन परीक्षण, बजारीकरण र बजार बृद्धि गरेपछि उद्योगले आधिकारिक रुपमा आफ्ना उत्पादन सार्वजनिक गरेको हो । उद्योगले पंचकन्या डिमेक्स, नियोप्लाष्ट, टोनिस युपीभीसी र साल ब्राण्डका उत्पादन सार्वजनिक गरेको हो ।
उद्योगमा नेपालकै प्रतिष्ठित औद्योगिक घरना पंचकन्या समूहका उज्वलकुमार श्रेष्ठसँगै रितेश सिलवाल, नारायण केसी र आशिस श्रेष्ठले ८० करोड लगानी गरेका छन् । उद्योगले आफ्ना उत्पादनहरु दिगो, वाटरप्रुफ, अग्नी प्रतिरोधी, मर्मतमा कम खर्च लाग्ने, नखुइलिने, साउण्ड प्रुफ, आफ्नो इच्छा अनुसार डिजाइन र पुनः प्रयोग गर्न सकिने, सफाइका लागि सहज र वातावरणमैत्री भएको दावी गरेको छ ।
‘विश्वस्तरीय गुणस्तर, भरपर्दो र दीर्घकालीन छ’, उद्योगका अध्यक्ष उज्वलकुमार श्रेष्ठले भने, ‘यो उद्योग नेपालमा युपीभीसी झ्यालढोकाका फ्रेम बनाउने सबैभन्दा ठूलो उद्योग समेत हो । उद्योगले जर्मन र युरोपियन मुलुकको प्रविधि र मापदण्ड प्रयोग गरेर उत्पादन गरेका छौं । यसैले पनि गुणस्तरमा शंका गर्नुपर्ने ठाउँ छैन ।’

उद्योगले नेपालमै पहिलोपटक चारवटा रंगमा पनि युपीभीसी प्रोफाइल उत्पादन सुरु गरेको छ । ‘यस्तो सुविधाले उपभोक्ताले आफ्नो छनौटको रंग अनुसारको झ्याल–ढोकाका फ्रेम खरिद गर्न सक्छन्’, उनले भने, ‘झ्याल–ढोका जडान गरिसकेपछि पानी र हावा पस्ने लगायत समस्या हल गर्न टीपीइ ग्यास्केट प्रविधि समेत अपनाएका छौं ।’
युपीभीसीका प्रोफाइलभित्र ग्याल्बोनाइज्ड फलाम प्रयोगपछि यसले फ्रेम भाँचिने, कुचिने समस्या हुँदैन । उद्योगको प्रतिवर्ष ६ हजार मेट्रिक टन उत्पादन क्षमता छ । अहिले उद्योगमा ६ वटा आधुनिक मेसिन जडान गरिएका छन् । यी मध्ये पाँचवटाले सेतो युपीभीसी प्रोफाइल निर्माण गर्छन् भने एउटा मेसिनले लेमिनेटेड प्रोफाइल तयार गर्छ ।
अहिले मुलुकभर वार्षिक १३ हजार मेट्रिक टन युपीभीसी प्रोफाइलका झ्याल–ढोका खपत भइरहेका छन् । खपतमध्ये करिब ९० प्रतिशतभन्दा धेरै चीन र भारतबाट आयात हुन्छ । ‘ती युपीभीसीको गुणस्तर कहीकतै जाँच हुँदैन र वारेन्टी पनि पाँच–सात वर्षको मात्रै छ । तर, पंचकन्या डिमेक्सले २० वर्षको वारेन्टी दिएर गुणस्तरीय उत्पादन बजार पठाउन सुरु गरेको छ’, अध्यक्ष श्रेष्ठले भने ।

उद्योगका संचालक एवं प्रबन्ध निर्देशक रितेश सिलवालले नेपाली बजारमा गुणस्तरी युपीभीसी झ्यालढोका उपलब्ध गराउन पाउँदा खुशी लागेको जनाए । ‘हाम्रो मुलुकमा अहिले युपीभीसीको मापदण्ड छैन, जस्तो उत्पादन र आयात गरे पनि हुन्छ । यसैले होला गुणस्तर भएन भनेर धेरै गुनासाहरु आउने गरेका छन्’, उनले भने, ‘हामीले विश्वस्तरीय प्रविधिको प्रयोग गरेकाले गुणस्तरमा ग्यारेन्टी गरेका छौं ।’ उनले बजारमा पाइने सबै युपीभीसी मध्ये गुणस्तरीय रोज्न उपभोक्तालाई सुझाव समेत दिए ।
आफ्ना उत्पादन प्रयोग गर्दा कुनै गुनासो सुन्न नपरोस् भनेर २ सय ५९ जनालाई मिस्त्री तालिम दिइएको उनले जनाए । उद्योगमा अहिले ६५ जनाले रोजगारी पाएका छन् । ‘गुणस्तरहीन आयत रोक्ने, नेपालको युपीभीसी बजारको ५० प्रतिशत क्षेत्र ओगट्ने गरी उद्योगले चालु आर्थिक वर्षमा तिव्र बजारीकरण गर्ने उद्देश्यले उत्पादन सार्वजनिक गरेको छ’, उनले भने, ‘लामो अध्ययनपछि मात्रै उत्पादन बजारीकरण सुरु गरेकाले ढुक्कसँग भन्न सक्छौं, हामी गुणस्तरमा अब्बल छौं ।’

उद्योगले परीक्षणकालमै करिब ३ सय डिलर समेत चयन गरेको छ । मुलुकभर अहिले ८ वटा युपीभीसी उद्योग छन् । यसमा झ्यालढोका निर्माण गर्ने मिस्त्रीको संख्या ८ सय हाराहारी छ । वर्षौंसम्म गुणस्तरको वारेन्टी गरिएकाले नेपाली बजारमा पंचकन्या डिमेक्सले राम्रो पकड जमाउने विश्वास संचालकको छ । ‘हामीले अहिले सातवटै प्रदेशमा बजारीकरणको काम गरिसकेका छौं । अब, झ्यालढोका फिटिङमा गुणस्तरीयता कार्यम गराउन लागिपरेका छौं’, उनले भने ।










लेखकको सम्वन्धमा