भैरहवा भन्सारमा दिनमै ५-६ पटकसम्म सर्भर डाउन, व्यापारीलाई हैरानी


भैरहवा- लामो समयदेखि भन्सार कार्यालयहरुमा सर्भर डाउन हुँदा आयात–निर्यात कर्ता व्यवसायीहरुले हैरानी खेपिरहेका छन् । दिनमै ५–६ पटकसम्म भन्सार कार्यालयहरुमा सर्भर डाउन हुने गरेको छ । सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात–निर्यात गर्दा प्रयोग हुँदै आएको मुख्य डिजिटल प्रविधि सफ्टवेयर आशिकुडा वल्र्डले काम गर्दैन । यसबाट आफूहरु मर्कामा परेको उद्योगी–व्यवसायीको गुनासो छ ।
मालबाहक गाडी भन्सार प्रवेश गर्दा, पार्किङ, जाँचपास, प्रमाणीकरण, राजस्व भुक्तानी र बाहिरिँदासम्म कम्तिमा सातपटक आशिकुडा वल्र्डमार्फत डिजिटल रुपमै काम गर्नुपर्छ । ‘आशिकुडा वल्र्डको सर्भर दिनमै ५–६ पटकसम्म डाउन हुँदा मालबाहक गाडी भन्सार प्रवेशदेखि सबै प्रक्रिया पूरा गर्दासम्म लामो समय लाग्ने गरेको छ’, नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष प्राचिन थैबले भने, ‘समस्या समाधान गर्न हामीले धेरैपटक भन्यौं कहींकतैबाट समाधान भएको छैन ।’ उनले गाडी प्रवेश गर्दा, पार्किङबाट बाहिरिँदा, प्रमाणीकरण गर्दा फाइल अपलोड गर्दा हैरानी नै पाउने गरेको बताए ।
‘एकछिन सर्भर चल्छ, सबै विवरण भर्छौं तर सबमिट गर्नेबेला सर्भरै जान्छ’, उनले भने, ‘फेरि घण्टौं कुरेपछि सर्भर आउँछ, पुनः सुरुबाटै प्रक्रिया पुर्याएर काम गर्नुपर्छ । त्यही पनि पुनः सर्भर जाने झण्झट छ ।’ भन्सारमा सर्भर डाउन हुन थालेको विषय नयाँ भने होइन् । विगतका वर्षदेखि यो समस्या छ । तर, पछिल्लो २–३ महिनायता भैरहवा भन्सार कार्यालयमा सर्भर डाउन हुने समया झन बढी रहेको भैरहवाका उद्योगी सिद्धार्थ अग्रवालले बताए ।
‘सर्भर डाउन भएकै कारण मालबाहक गाडी समममै भन्सार पास नहुँदा कच्चा पदार्थ अभावमा औद्योगिक उत्पादन प्रभावित भएको छ । फलफूल र तरकारी भन्सार पास नहुँदै कुहिने गरेका छन्’, उनले भने, ‘एकैदिनमा गाडी भन्सार पास भएन भने पार्किङ शुल्क दोब्बर–तेब्बर तिर्नु पर्छ । यो समस्या किन समाधान भइरहेको छैन । सरकार र भन्सारले किन ढिलासुस्ती गरिरहेका छन् । हामी उद्योगी व्यवसायीले बुझ्न सकिरहेका छैनौं ।’ उनले भैरहवा भन्सारमा समस्या हुँदा व्व्यवसायीहरुले अन्य नाकाबाट आयात गर्न थालेको बताए ।
भन्सारमा सर्भर डाउन हुने भैरहवामा मात्रै होइन्, बीरजंग, विराटनगर, नेपालगंज जस्ता ठूला भन्सार कार्यालयहरुमा समेत छ । सिद्धार्थ संजाल, रुपन्देहीका महासचिव एवं भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधुप्रसाद पन्थीले सर्भर डाउनको समस्या बारे मुलुकभरका व्यवसायीहरुबाट गुनासो आइरहेको सुनाए । ‘धेरैले एजेन्टले ढिलासुस्ती गरे भन्छन्’, उनले भने, ‘तर, समस्या सर्भरमा छ । व्यवसायीहरुको लागत बढीरहेको छ । सामान कुहिने गरेका छन् । समस्या समाधान भने भएको छैन ।’ उनले तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।
‘हरेक वर्ष सर्भर अपग्रेड गर्नुपर्ने हुन्छ । तर, लामो समयदेखि हाम्रोमा त्यो हुन सकेको छैन’, महासंघका अध्यक्ष थैबले भने, ‘मुलुकको आधा राजस्व उठ्ने भन्सारप्रति किन यति धेरै खेलाँची भइरहेको छ, बुझ्नै सकिएको छैन ।’ विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले मुलुकभरका सबै भन्सार कार्यालयहरुमा सन् २०१७ देखि अनलाइन प्रणाली आशिकुडा लागु गरिएको थियो ।
विस्तारै यसलाई अपग्रेड गरी हाल आशिकुडा वल्र्ड बनाइएको छ । तर, यो प्रणाली वर्सेनि अपग्रेड गर्नुपर्नेमा ढिलासुस्ती गरिँदा सर्भर डाउन हुने समस्या बढीरहेको छ । भन्सारसम्बन्धी सबै प्रक्रिया यही प्रणालीबाटै हुन्छ । हाल यो आशिकुडा वल्र्ड प्रणाली भन्सारसँग सम्बन्धित ४२ वटा कार्यालयमा लागू छ । तर, सर्भर डाउन हुँदा सबै कार्यालयको काम प्रभावित हुने गरेको छ । सर्भरको समस्या बारे भन्सार कार्यालय जानकार छ । तर, भन्सार विभागबाटै समस्या समाधान गरिनुपर्ने भएकाले भन्सारले चाहेर पनि समस्या समाधान हुन सकेको छैन ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत नरेन्द्रप्रसाद चौधरीले भन्सारमा सर्भर डाउन हुने समस्या रहेको स्वीकारे । ‘सर्भर डाउन हुने समस्याबारे हामीले भन्सार विभागमा जानकारी गराएका छौं । भन्सारको आइटी शाखा र विभागले अहिले अपग्रेडको काम गरिरहेको छ’, उनले भने, ‘चार–पाँच दिनमा समस्या समाधान हुन्छ भन्ने विश्वास छ ।’ उनले सर्भर डाउन हुँदा व्यवसायीले दुःख पाएको कुरा सत्य भएको जनाए ।
सर्भर डाउन हुने समस्या बारे भन्सार र रुपन्देहीका उद्योगी व्यवसायीसहित सीमा क्षेत्रका व्यवसायीहरुले भन्सार विभागदेखि अर्थमन्त्रालयसम्म जानकारी गराएका छन् । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । सर्भरकै कारण भन्सार प्रवेश गर्नुपर्ने मालबाहक गाडी नाकामा लाइन लागेर रोक्नुपर्ने बाध्यता छ भने भन्सार जाँचपास भएर बाहिरिन कहिलेकाहीं दुई–तीन दिन समेत लाग्ने गरेको छ ।
‘सर्भर नचलेकै कारण व्यापारी र भन्सार एजेन्टहरु भौतारी रहन्छन् भने कर्मचारीहरु बेलबेला फुर्सिदिला समेत हुने गरेका छन्’, उद्योगी अग्रवालले भने, ‘सर्भर नचल्दा कर्मचारी कार्यालयमा समेत भेटिँदैनन् । यसको मार आयात–निर्यातकर्ता व्यापारीलाई परिरहेको छ ।’ आशिकुडा वल्र्ड प्रणाली नेपालसहित विश्वका एक सय बढी देशले लागु गरेका छन् । तर, नेपालमा मात्रै सर्भर डाउनको समस्या आइरहेको व्यवासायीको दावी छ । मुलुकको राजस्व असुलीमा करिब ५० प्रतिशत योगदान भन्सारले दिने गरेको छ । यस्तो महत्वपूर्ण कार्यालयहरुमै सर्भर डाउनको समस्या दोहोरिरहेकाले दीर्घकालीन रुपमै समस्या समाधान गर्नुपर्ने उद्योगी–व्यवसायीहरुको माग छ ।









लेखकको सम्वन्धमा