विमान मर्मत गर्नुपर्ने भएपछि रेसुंगा विमानस्थलमा सेवा बन्द

भैरहवा– गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाइ उडान संचालन गर्दै आएको एउटामात्र बिमान पनि मर्मतमा गर्न थालिएपछि हवाइ उडान अवरुद्ध हुन पुगेको छ । नेपाल एयरलाइन्ससँग रहेको उक्त सानो बिमानमा समस्या आएपछि रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको हो ।
उक्त विमानस्थलमा नेपाल एयरलाइन्सको सानो एउटा जहाजले उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्ससँग रहेका दुईवटै साना बिमानमध्ये दुइवटामै समस्या आएपछि ति बिमानहरुले उडानले संचालन गर्दै आएका विमानस्थलहरुमध्ये रेसुंगा विमानस्थलमा पनि सेवा प्रभावित हुने भएको हो ।
एयरलाइन्सका रेसुंगा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । ‘नेपाल एयरलाइन्ससँग रहेका दुईवटा साना जहाजमध्ये एउटा पहिले नै बिग्रिएको र अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो’, थापाले भने, ‘जहाज बिग्रेर हाल मर्मतका लागि काठमाडौंमा छ ।’
सानो विमान मर्मतका लागि रहेकाले फागुन महिना भर रेसुंगा विमानस्थलबाट उडान हुन सक्ने कुनै सम्भावना नरहेको थापाले बताए । उनका अनुसार विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लाग्ने भएको हो ।
रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो । वि.सं. २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । यस अवधिमा उक्त उडानमध्ये तम्घास–काठमाडौं १ हजार १ सय ६५ र काठमाडौं–तम्घास १ हजार ८८ यात्रीले हवाइ यात्रा गरेका छन् ।
प्रतिकृया दिनुहोस्