August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

भारतले गरेन आइएसआई नविकरण, धमाधम रोकिँदै सिमेन्ट निर्यात

Advertisement

भैरहवा– कपिलवस्तुमा उद्योग रहेको बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले कृष्णनगर नाका हुँदै सन् २०२३ को अन्तिमदेखि २०२४ सम्म ७ महिनाको अवधिसम्म २० करोड रुपैयाँको सिमेन्ट भारततर्फ निर्यात गर्यो । तर, पछिल्लो ७ महिनायता उक्त उद्योगको निर्यात ठप्प छ । भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नविकरण नगर्दा सिमेन्ट निर्यात रोकिएको हो ।

Advertisement

‘समयावधि नसकिँदै हामीले नविकरणका लागि ३ महिना अगाबै निवेदन दिएका थियौं । । तर, भारतले न नविकरण गरेको छ न कारण नै खुलाएको छ’, उद्योगका प्रबन्ध निर्देशक रौनक अग्रवालले भने, ‘हाम्रो सबै प्रयासले काम गरेन । अब, सरकारले यसमा पहल गर्न जरुरी छ ।’ अग्रवालले नेपाली सिमेन्टको भारतमा राम्रो मार्केट रहेको तर नविकरण नहुँदा चिन्ता थपिएको बताए ।

आइएसआई नबिकरण नहुँदा कृष्णनगर नाका हुँदै भारततर्फ निर्यात भैरहेको सम्रान्ट सिमेन्टको निर्यात पनि रोकिएको छ । रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडको निर्यात पनि ठप्प छ । अर्घाखाँचीको गत २०८१ असोज ९ देखि निर्यात रोकिएको हो । अर्घाखाँचीले दुई वर्षमा करिब ५५ करोड रुपैयाँको सिमेन्ट निर्यात गरेको थियो । ‘नेपालमा सिमेन्ट खपत छैन, यस्तो बेला भारत निकासीले राज्य र उद्योगी दुबैलाई फाइदा थियो’, अर्घाखाँची सिमेन्टका नायव महाप्रबन्धक कृष्णप्रसाद पाण्डेले भने, ‘तर, अहिले नविकरण अभावमा धमाधम उद्योगहरुको निर्यात रोकिएको छ । नविकरण गरी सहज वातावरण बनाउन सरकारले तत्काल पहल गर्नुपर्छ । होइन भने निजी क्षेत्रसँगै सरकारलाई समेत ठूलो क्षति हुन्छ ।’

बिगतका वर्षमा भारतले आइएसआई मार्क नबिकरण गरे पनि यस वर्ष भने अबधि सकिएका कुनै पनि उद्योगहरुको नबिकरण गरेको छैन । अहिले कृष्णनगर नाका हुँदै घोराही सिमेन्ट, रुपन्देहीको बेलहिया नाका हुँदै पाल्पा र सर्वोत्तम सिमेन्टले भारततर्फ सिमेन्ट निर्यात गरिरहेका छन् । तर, यी उद्योगको पनि आइएसआई मार्क नबिकरण अवधि केही महिनाभित्रै सकिँदैछ । उद्योगीहरुका अनुसार भारतले यसैगरी नविकरण नगर्दै जाने हो भने केही समयपछि सबैजसो उद्योगले गर्दै आएको सिमेन्ट निर्यात रोकिनेछ ।

‘नविकरणका लागि भारतीय टिम नेपाल आएर गुणस्तरदेखि सबैकुरा जाँच गर्नुपर्छ । तर, अहिलेसम्म आउने कुनै छाटकाट छैन’, पाण्डेले भने, ‘मन्त्रीको पहलले पनि यो कुरा समाधान हुँदैन । यसमा प्रधानमन्त्रीस्तरबाट छलफल गरी वातावरण सहज गर्नुपर्छ ।’ उनले नेपाली सिमेन्टको गुणस्तर भारतको भन्दा राम्रो भएको बताए । ‘गुणस्तर राम्रो भएकै कारण नेपाली सिमेन्टले भारतमा बजार राम्रो पाइराखेको थियो’, उनले भने, ‘बजार विस्तार भइरहेकाबेला निकासी रोकिएको छ । यसबाट सबैमा चिन्ता थपिएको छ ।’

भारतले गुणस्तर चिन्ह र आयात अनुमती दिएपछि भैरहवा नाकाबाट आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ६ लाख र २०८०–८१ मा १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा ४३ करोड ४० लाख रुपैयाँको २ लाख ५९ हजार ७२१ टन सिमेन्ट भारततर्फ निर्यात भएको छ ।

पछिल्लो समय नेपालमा सिमेन्ट खपत कम छ । यस्तोबेला भारतले आइएसआई नविकरण नगर्दा उद्योगी झन निरास बनेका छन् । भारतले केही सिमेन्ट उद्योगलाई २ र केहीलाई १ वर्षका लागि अनुमती दिएको थियो । ‘नेपली सिमेन्ट गुणस्तरी छ । अहिलेसम्म भारतले समेत गुणस्तरमा कुनै प्रश्न उठाएको छैन । तर, पनि भारतले नविकरण नगर्नुको कारण समेत नखुलाउँदा उद्योगीहरुमा अन्यौलता बढिरहेको छ’, अग्रवालले भने ।

उद्योगीहरुले सरकारले भारतसँग कुटनीतिक पहल गरेर तत्काल आइएसआई नविकरणको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपालका चुरेपहाडबाट उत्खनन् गरिएको चुनढुंगाबाट बनेको सिमेन्ट भारत निर्यात हुँदा यसले उद्योगीसँगै मुलुककै अर्थतन्त्रमा टेवा पुगिरहेको थियो । पछिल्लो समय धमाधम निर्यात रोकिँदा यसले निजी क्षेत्र थप धरासायी हुने चिन्ता उद्योगीको छ ।

भैरहवा भन्सारका अनुसार बेलहिया हुँदै भारततर्फ निर्यात हुने मुख्य १० बस्तुमा सिमेन्ट र सिमेन्ट क्लिंकर पनि पर्छ । तर, पछिल्ला महिनामा केही उद्योगको निर्यात रोकिँदा विस्तारै निर्यात घटिरहेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले विगतमा निर्यात गरिरहेका उद्योगको निर्यात रोकिनु दुःखद् भएको बताउँदै यसमा सबैको पहल जरुरी रहेको बताए । ‘सिमेन्ट निर्यात राम्रो थियो, मैले सुनेअनुसार आइएसआई नविकरण नहुँदा केही उद्योगको निर्यात रोकिएको हो’, उनले भने, ‘अन्य उद्योगको पनि समयावधि सकिँदैछ भन्ने कुरा आएको छ ।’ उनले नेपाली सिमेन्टको भारतीय बजारमा राम्रो पकड भएकाले निर्यातको वातावरण बनाउन सबै लाग्नुपर्ने बताए ।