पंगास माछापालनमा किसानलाई आकर्षित गरिँदै


भैरहवा– परम्परागत माछाको विकल्पमा रुपन्देहीमा पंगास अर्थात् बैखी माछाको व्यवसायिक पालन शुरु गरिएको छ । कम लगानी, थोरै जग्गा र सबै उमेर समूहका मानिसकले रुचाउने भएपछि व्यवसायिकरुपमा पंगास माछापालनलाई प्रबद्र्धन गर्न सुरु गरिएको हो । पहिलो चरणमा माछा गाउँले परिचित जिल्लाको सियारी र शुद्धोधन गाउँपालिकाका ६ जना किसानले ५ हेक्टर बढी जग्गामा पंगास माछापालन गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीले माछाको उत्पादन र उत्पादकत्वबारे अध्धयनपछि किसानलाई पंगास माछापालनामा प्रोत्साहन गरेको हो । ‘हामीले उत्पादन राम्रो दिने भएपछि किसानलाई पंगास पालनमा आकर्षित गरिरहेका छौं’, परियोजना प्रमुख नारायण काफ्लेले भने, ‘पंगास पाल्ने किसानलाई अनुदान पनि दिइँदै आएको छ ।’
परियोजनाले माछाको भुरामा ५० प्रतिशत अनुदान दिएर किसानहरुलाई पंगास माछा पालनमा आकर्षित गराइरहेको हो । परियोजनाका अनुसार परम्परागत भन्दा पंगासको उत्पादन र उत्पादकत्व राम्रो छ । त्यसैले यसको क्षेत्रफल बढाउने योजनामा परियोजना लागिरहेको छ । ‘किसानलाई क्षेत्र विस्तारमा लाग्न हाम्रो अनुरोध छ’, उनले भने, ‘क्षेत्र विस्तार गरेर माछा पाल्दा किसानलाई घाटा होइन्, फाइदै फाइदा हुन्छ ।’
रुपन्देहीमा पालिँदै आएको परम्परागत माछा प्रतिहेक्टर ५ देखि ६ मेट्रिकटन मात्रै उत्पादन हुन्छ । तर पंगास भने त्यसको पाँच गुणा अर्थात् प्रतिहेक्टर २५ मेट्रिकटनसम्म उत्पादन भएको दावी परियोजनाको छ । ‘छिटो हुर्किने, काँडा कम हुने र फ्रोजन समेत गर्न सकिने भएकाले यसले किसानलाई राम्रो मुनाफा दिन्छ’, काफ्लेले भने, ‘यसैले रुपन्देहीमा मत्स्य सुपरजोन लागू भएका ८ वटा स्थानीय तहमा पंगास माछाको व्यवसायिककरणमा जोड दिइएको छ ।’
परियोजनाका माछा विज्ञ विमर्श ज्ञवालीले अन्य माछा भन्दा सबै हिसाबले पंगास राम्रो भएको बताए । ‘हाम्रो अनुसन्धान बाह्य मुलुकको आकडा हेर्दा पनि पंगासको विक्री र उत्पादन राम्रो छ’, उनले भने, ‘यसैले हामीले विस्तारै पंगास पालनामा किसानलाई आकर्षित गरिरहेका छौं ।’ उनले स्वास्थ्यका लागि पनि पंगास लाभदायक भएको जनाए ।

रुपन्देही मत्स्य उत्पादनको हब हो । यहाँ उत्पादित माछा मुलुकका दर्जनौं जिल्लामा जाने गर्छ । तर, भारतबाट अवैध बाटो हुँदै आयात हुने माछाका कारण किसान भने मर्कामा पर्दै आएका छन् । खासगरी पंगास माछा बढी मात्रामा अवैध बाटोबाट भित्रिने गरेको छ । अवैध आयातमा कडाई गरी उपभोक्तामा स्वदेशी माछाको प्रयोग गर्ने बानीको विकास गराउनुपर्नेमा सियारीकी मत्स्य किसान तारा पाण्डेले जोड दिइन् ।
‘भारतबाट भित्रिने माछा भन्दा यहाँ उत्पादित माछा स्वस्थकर छ, विषादीरहित छ’, उनले भनिन्, ‘यसैले पनि सबैले स्वदेशी माछा प्रयोग गर्नुपर्छ भन्नेमा म जस्ता सबै किसानको जोड छ ।’ उनले नाकामा कडाई गर्नुपर्नेमा जोड दिइन् । भारतीय पंगास माछा भन्दा यहाँको फरक हुने र सहजै चिनिने भएकाले खरिद गर्दा विशेष ध्यान दिन उनले आग्रह गरिन । पाण्डेले परियोजनाको सहयोगले पंगासको व्यवसायिक पालन फस्ट्याउँदै गएको जनाइन् ।
‘पंगास माछा उत्पादनको क्षेत्र विस्तार गर्दै व्यवसायिकरण गर्नतर्फ लाग्नुपर्छ । यसले गुणस्तरीय माछाको उत्पादन र उत्पादकत्व बढ्छ नै किसानले लगानीअनुसारको मुनाफा पनि सहजै पाउन सक्छन्’, उनले भनिन् । सीमा क्षेत्रमा चोरीपैठारीबाट भित्रिने भारतीय पंगास माछा भन्दा स्वस्थ र गुणस्तर रहेको विज्ञको पनि भनाई छ । ‘चोरी बाटोबाट भित्रिएको माछा स्वस्थकर हुँदैन, त्यसैले हामीले पहिल्यैदेखि उपभोक्तालाई स्वदेशी माछा प्रयोग गर्न आग्रह गरिरहेका छौं’, काफ्लेले भने ।









लेखकको सम्वन्धमा