सप्लायर्सको धन्दाः डिजिटल तराजुको प्रयोग गरी तौल घटाएर कुखुरापालक किसानलाई ठगी


भैरहवा– कुखुरापालक किसानलाई पछिल्लो समय रिमोटबाट चल्ने डिजिटल तराजुको प्रयोग गरेर ब्यापारी र सप्लायर्सले ठग्ने गरेको पाइएको छ । रुपन्देहीका एक किसानलाई ब्यापारीले डिजिटल तराजु प्रयोग गरेर ठगेपछि तथ्य बाहिर आएको हो । विक्रीका लागि आफ्नो फार्ममा बोइलर कुखुरा तयार भएपछि रुपन्देहीको ओमसतिया गाउँपालिका–५, पट्खौलीका सुजित चौधरीले बिहीबार बुटवलका व्यापारी र सप्लायर्सलाई बोइलर कुखुरा खरिद गर्न बोलाए ।
तीनवटा बलेरो पिकअप गाडी लिएर बुटवलको मदाने पोल्ट्री सप्लायर्सका दामोदर पौडेल र डिके पोल्ट्री सप्लायर्सका मदन पन्थ चौधरीको सम्राट पोल्ट्री फार्ममा आए । आफ्नै मजदुर ल्याएर आएका ती सप्लायर्सले तीनवटा गाडीमा १२ क्विन्टलका दरले कुखुरा रिमोटबाट चल्ने डिजिटल तराजुमा तौलेर राखे । तर, उनीहरुले लिएको तौल फार्म संचालक चौधरीलाई शंका लाग्यो । उनले पुनः तौल लिनुपर्ने बताए । तर, ब्यापारीले मानेनन् ।
‘फेरि तौलन पर्यो भन्दा उनीहरु झगडा गर्न थाले । मैले जबरजस्ती गरेर अन्य तराजुमा कुखुरा पुनः तौलियो’, चौधरीले भने, ‘पुनः तौलिँदा साढे तीन क्विन्टल कुखुरा ठगिएको थाहा भयो ।’ चौधरीका अनुसार तीनवटा गाडीमा एक क्विन्टल १५ किलोका दरले ३ क्विन्टल ४५ किलो कुखुरा ठगेको भेटियो । ‘ठगिएको थाहा पाएपछि मैले प्रहरी र अन्य किसान साथीहरुलाई खबर गरेँ’, उनले भने । त्यसपछि कुखुरा गाडीबाट झारेर ब्यापारीले कुखुरा खरिद गर्न ल्याएका तीनवटा बलेरो किसानको सहयोगमा इलाका प्रहरी कार्यालय, धकधईको नियन्त्रणमा राखिएको छ ।
चौधरीले गाडीमा लोड–अनलोड गर्दा २ क्विन्टल बढी कुखुरा मरेको जनाए । यसबाट चौधरीको ४० हजार बढी नोक्सानी भएको छ । ‘लोड–अनलोड गर्दा अरु कुखुरा पनि घाइते भएका छन्, अझै कति मर्छन्, अब हुर्काउनै समस्या हुन्छ’, उनले दुखेसो पोखे । यो घटनापछि रुपन्देहीमा कुखुरा खरिदकर्ता व्यापारी र ढुवानी गर्ने सप्लायर्सले रिमोटबाट चल्ने डिजिटल तराजुको प्रयोग गरेर तौल घटाई किसानलाई ठगि गरिरहेको तथ्य बाहिर आएको छ । तीनवटा गाडीमा गरेर करिब ७० हजार रुपैयाँ बराबरको कुखुरा ब्यापारीले किसानबाट ठगी गर्न खोजेको देखिन्छ ।
‘पछिल्लो समय प्रविधियुक्त तराजुबाट ब्यापारीले यसैगरी धमाधम किसानलाई ठगिरहेका छन्’, नेपाल बोइलर कुखुरा यवसायी संघ, रुपन्देहीका अध्यक्ष ऋषि काफ्लेले भने, ‘यसबारे हामीले वर्षौदेखि आवाज उठाउँदै आएका थियौं, कसैले सुनेन ।’ उनले पछिल्लो समय सप्लायर्सले धमाधम किसान ठगिरहेको आरोप लगाए । ‘बाह्रैैमास बजारमा बोइलर कुखुराको मासुको माग राम्रो छ । तर, सधै थपघट भइरहने मूल्यका कारण लागतसमेत नउठ्दा किसान हैरानीमा छन् । त्यसैमाथि भारतीय सीमा क्षेत्रका किसान चोरीतस्करी भएर भित्रिने सस्तो कुखुरा र मासुले गर्दा अझै मारमा छन्’, उनले भने, ‘पछिल्लो समय त सप्लायर्सले नै डिजिटल ठगी गर्न थाले, किसान कसरी टिक्छ ? न्याय कहाँबाट पाउने ?’
किसानले प्रहरीलाई खबर गरेको थाहा पाए पछि सप्लायर्सले कुखुरा तौलन प्रयोग गरेको एउटा डिजिटल तराजु र रिमोट बुटवलतर्फ लगेर लुकाएको आरोप चौधरीको छ । एउटा तराजु भने नियन्त्रणमा लिएर किसानले प्रहरीलाई बुझाएका छन् । किसानको उजुरुपछि प्रहरीले तराजुको वास्तविकता बुझ्न नापतौल कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय, रुपन्देही प्रवक्ता (डीएसपी) मनोहरप्रसाद भट्टले बताए । तराजुमा बद्मासी गरिएकोे पुष्टि भए कानून अनुसार अघि बढ्ने प्रहरी भनाई छ ।
रुपन्देहीमा ४ सय बढी कुखुरापालक किसान छन् । यहाँ उत्पादित कुखुरा बाहिरी जिल्लामा पनि जाने गरेको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले चोरीतस्करीबाट जिउँदो कुखुरा र तयारी बोइलर मासु भित्रिँदा किसान यसै पनि मर्कामा छन् । अर्कातर्फ ब्यापारीले सस्तोमा कुखुरा खरिद गर्दा किसानले मुनाफा लिन सकिरहेका छैनन् । जसले गर्दा किसान सधैं घाटामा जाने र व्यापारीले मुनाफा आर्जन गरिरहेका छन् ।
यसैमाथि सप्लायर्स र व्यापारीले प्रविधिको प्रयोग गरेर तौल घटाई ठगी गर्न सुरु गरेपछि किसान विस्थापित हुने जोखिम झनै बढेको छ । पछिल्लो समय मुकुलुभर सप्लायर्सले धमाधम रिमोटबाट चल्ने डिजिटल तराजुको प्रयोग गरेर ठगिरहेको किसानको आरोप छ । यस्तोबेला सरकारले ठगी गर्ने सप्लायर्सलाई कानूनी दायरामा ल्याएर सहयोग गर्नुपर्ने माग किसानको छ ।









लेखकको सम्वन्धमा