April 23, 2025, Wednesday
२०८२ बैशाख १०

रूपन्देहीमा बचत रकम फिर्ता नगरिकन सहकारी बन्द

भैरहवा– बचतकर्ताको रकम फिर्ता नगरिकन रुपन्देहीमा सहकारी संस्थाहरु ध्माधम बन्द हुन थालेका छन् । पछिल्लो समय मुलुकमा सहकारीमा देखिएको विचलनको प्रभाव रुपन्देहीमा पनि परेको छ । सहकारी नियममा सञ्चालन नहुँदा बचतकर्ताको रकम जोखिममा परेको छ । बचतकर्ताले रकम माग्न थालेपछि सञ्चालकले सहकारी बन्द गर्न थालेका छन् । रकम फिर्ता गर्न नसकेपछि जिल्लामा संचालित सञ्चालित १० सहकारी बन्द भइसकेका छन् ।

डेढ वर्ष अवधिमा ग्राहकको बचत फिर्ता गर्न नसक्ने सहकारी बन्द भएका हुन् । बुटवलको योगीकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था झन्डै ३ करोड बचत रकम फिर्ता गर्न नसकेपछि डेढ वर्षअघि बन्द छ । अहिले योगीकुटीबाट सहकारीको कार्यालय हटेको छ । कृषि सामग्री उत्पादन र ग्रोसरी सामग्री बिक्री गर्दै आएको शिवशिखरले दैनिक बचत रकम अन्य व्यवसायमा लगानी गर्दै गएपछि स्थानीय बचतकर्ता समस्यामा परेका हुन् । बुटवलमा तीन वर्षअघि कार्यालय खोलेको यो सहकारीमा झन्डै १ हजार ७ सय बचतकर्ता थिए ।

Advertisement

बुटवल र भैरहवामा कार्यालय रहेका सुप्रिम, आगन्तुक, साइन, विश्वविराट, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुउद्देश्यीय सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द छन् । बुटवलका सहकारीहरूले लघु जलविद्युत्, उद्योग, पर्यटन, कृषिका क्षेत्रमा बढी लगानी गरेका छन् । त्यस्तै घरजग्गा खरिद, हायर पर्चेजमा पनि सहकारीको बिनाधितो लगानी छ । तर, स्थानीय र प्रदेश सरकारको नियमन र अनुगमन फितलो छ । जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भीम तुलाचनले सहकारीले बचत संकलनको ६० प्रतिशत व्यापार व्यवसायमा र ४० प्रतिशत घरजग्गा, गाडीलगायतका अन्य क्षेत्रमा लगानी गर्ने गरेको बताए ।

बुटवल उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धधन शाखाका प्रमुख गुणाकर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ सहकारीमा कुनै समस्या नरहे पनि संघ एवं प्रदेशमा दर्ता रहेका करिब एक दर्जन सहकारीमा बढी समस्या देखिएको बताए । उनका अनुसार नगर र प्रदेशमा दर्ता भएका समेत गरी बुटवलमा २ सय १५ भन्दा बढी सहकारी छन्  । रूपन्देहीमा मात्र झन्डै आठ सय सहकारी छन्  । ‘बुटवल उपमहानगरभित्रका ६० हजार सेयर सदस्यको ७ अर्ब ४० करोड रुपैयाँ सहकारीमार्फत लगानी भएको छ,’ उनले भने, ‘त्यसको सुरक्षाका लागि पालिकामार्फत हरेक तीन महिनामा छलफल गरेर समस्या र समाधानका प्रयास खोज्ने गरिएको छ ।’

लुम्बिनी प्रदेशको सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा सहकारी दर्ताकै समयमा प्रभावकारी नियमनको व्यवस्था हुन नसक्दा अहिले खुलेका सहकारीले संकट निम्त्याउँदै गएको बताए । उनका अनुसार लुम्बिनीमा दर्ता भएका ४ हजार १ सयभन्दा बढी सहकारी सञ्चालनमै छन्  । ६ लाखभन्दा बढी नियमित बचतकर्ता छन् । तिनको ६० अर्ब निक्षेप संकलन र झन्डै ४५ अर्ब रुपैयाँ लगानी छ । त्यसमध्ये झन्डै ७ अर्ब मात्र सेयर पुँजी छ ।