May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : जजिराले गर्दैछ व्यवसायिक उडान

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान गर्ने भएको छ । यसका लागि उसले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत पाइसकेको छ । गौतमबुद्ध नेपालमा निर्माण सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । विमानस्थल निर्माण सम्पन्न पछि आधा दर्जन अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले यहाँबाट उडान गर्न चासो देखाएका थिए । तर जजिराले भने अन्यभन्दा पहिला अनुमति पाइसकेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

Advertisement

दाहालकाअनुसार जजिराले पहिलो चरणमा साताको तीन दिन उडान गर्ने गरी अनुमति लिएको छ । ‘जजिरा एयरवेजको जहाज कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने छ’, दाहालले भने, ‘अब, अन्तर्राष्ट्रिय जगतमा यो विमानस्थल संचालनमा आएको सन्देश प्रवाह भइसक्यो । यो यस क्षेत्रका लागि मात्रै नभएर सिंगो मुलुकका लागि नै खुशीको कुरा हो ।’

विदेशी कम्पनीले उडान सुरु गर्ने निश्चित भए पनि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेवानि)ले भने अझै पनि यो विमानस्थलबाट उडान थाल्ने विषयमा अन्यौलमै छ । यो विमानस्थलबाट आउँदो २ जेठ (सोमबार)का दिन उद्घाटन गर्ने सरकारी तयारी छ । सोही दिनबाट कुवेती कम्पनी जजिराले नियमित उडान थाल्ने दाहालले बताए ।

‘दुई जेठबाट जजिराले व्यवसायिक उडान त गर्छ नै, त्यसभन्दा अघि पनि उसले चार्टर्ड फ्लाइट गर्नसक्छ, यसका लागि विमानस्थल पूर्ण तयारी अवस्थामा छ’, उनले भने । जजिराले खासगरी रोजगारीका लागि कुवेत जाने नेपालीहरुलाई प्राथमिकता दिएको छ ।

‘योसँगै पर्यटन र आर्थिक क्षेत्र पनि उसको रोजाइमा छ’, गौतमबुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले भने, ‘नेपाल पर्यटनका लागि भर्जिन क्षेत्र हो, अझ बुद्ध जन्मस्थलका कारण पनि जजिरा यहाँबाट उडान गर्न बढी लालयित भएको हो ।’ बिहीबारबाट विमानस्थल संचालनमा आएको छ । बिहीबारदेखि धावनमार्ग संचालनमा आएसँगै विमानस्थल संचालनमा आइसकेको साहले बताए ।

यो विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङको जिम्मा नेपाल एयरलाइन्सलाई दिइएको छ । सोहीकारण अन्य विदेशी कम्पनी आकर्षित नभएसम्म विमानस्थलको सञ्चालन जारी राख्न समेत नेवानिले उडान गर्नुपर्ने दायित्व छ । तर, अझै उसले उडानबारे केही बोलेको छैन । कार्यतालिका पनि बनाएको छैन । विमानस्थलकाअनुसार यहाँबाट अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले उडानका लागि चासो दिइरहेको भए पनि जजिराबाहेक अन्य वायुसेवा कम्पनीहरुले भने निवेदन दिइसकेका छैनन् ।

कतिपय मुलुकका वायुसेवा कम्पनी आउन चाहेको अवस्थामा पनि हवाई सेवा सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ । सोहीकारण विमानस्थलले बिस्तारै मार्केट लिने अनुमान छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलबाट बौद्धमार्गी यात्रु बढी हुने मुलुकमा सहजै वायुसेवा कम्पनी आकर्षित हुने अनुमान गरिएको छ । यसमा थाइल्याण्डदेखि भियतनामसम्मका मुलुकका एयरलाइन्स हुनेछन् । अर्कोतर्फ वैदेशिक रोजगारीमा खाडी मुलुकका जाने नेपालीलाई लक्षित गरी एयरलाइन्सहरु आउने अपेक्षा गरिएको छ । यसका लागि भने सरकारले सो सँग सम्बन्धित कामहरु भैरहवामा विस्तार गर्नुपर्ने हुन्छ ।