April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बढ्दै लुम्बिनीमा पर्यटक

भैरहवा– मुलुककै प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक आगमन सुधारोन्मुख हुँदै गएको छ । कोरोना संक्रमणका कारण सुनसान रहेको लुम्बिनीमा अहिले पर्यटक बढ्न थालेपछि चहलपहलसमेत बढेको छ ।

Advertisement

‘लुम्बिनी घुम्न आउने मात्र होइन्, यहाँ ध्यान गर्न आउने पनि बढी मात्रामा छन्’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने । गुम्बा–मन्दिरहरुको दर्शन अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन बढेको विकास कोषले जनाएको छ । नयाँ वर्षमा लुम्बिनीमा पर्यटकहरुको चहलपहल बढेको छ ।

Advertisement

आन्तरिक पर्यटकको बाक्लो भीड छ । भारतीय तथा तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । कोषका अनुसार तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा केही कमी रहे पनि स्वदेशी तथा भारतीय पर्यटकको संख्याको ग्राफ पछिल्ला दिनमा भने बढ्दो अवस्थामा छ ।

संक्रमणका कारण लुम्बिनी दर्शन गर्न नपाएका पर्यटकहरु अहिले दिनहुँ लामवद्ध भएर आउन थालेका छन् । लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्यांक अनुसार सन् २०२० को सुरुवाती तीन महिना जनवरी, फेब्ररी र मार्चमा एक लाख ८३ हजार १२ जना पर्यटकहरुले लुम्बिनी भ्रमण गरेका छन् । जसमध्ये स्वदेशी र भारतीय पर्यटकको संख्या बढी छ ।

तीन महिनामा सबैभन्दा बढी एक लाख ४७ हजार ४ सय ७३ जना स्वदेशी र ३४ हजार तीन सय ५४ जना भारतीय पर्यटकको लुम्बिनीमा आगमन भएको लुम्बिनी विकास कोषको सूचना शाखाका पथप्रदर्शक अधिकृत मुकुन्द गौतमले जनाए । ‘विस्तारै लुम्बिनी पर्यटकमय हुँदैछ’, उनले भने, ‘महामारी अहिलेकै अवस्थामा रहे वा अन्त्य भए लुम्बिनीको पर्यटन पूर्ववतः अवस्थामा फर्किन समय लाग्दैन ।’

उनका अनुसार लुम्बिनीमा जनवरीमा ४१ हजार ८ सय ३३ स्वदेशी पर्यटकले भ्रमण गरेका थिए । फेब्रुअरीमा ४२ हजार २ सय १३ र मार्चमा ह्वात्तै बढेर आगमन संख्या ६३ हजार चार सय २७ पुगेको छ । यसले विस्तारै लुम्बिनी लयमा फर्कँदै छ भन्ने संकेत गर्छ ।

त्यस्तै, जनवरीमा भारतीय पर्यटक सात हजार सात सय ७५ जना आए भने फेब्रुअरीमा सात हजार सात सय ४५ जना र मार्चमा त्यो संख्या बढेर १८ हजार ८ सय ३४ पुगेको छ । स्वदेशी र भारतीय पर्यटको संख्या बढ्दो अवस्थामा रहे पनि तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या भने विस्तारै बढ्ने क्रममा छ । कोरोना संक्रमणको बेला भन्दा तेस्रो मुलुकका पर्यटकको आगमन केही सुुधारोन्मुख देखिएको विकास कोषको सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए ।

‘पहिलो जस्तो तेस्रो मुलुकबाट पर्यटकको आगमन भएको छैन’, उनले भने, ‘तर, कोरोना समय भन्दा अहिले केही सुुधारोन्मुख देखिएको छ ।’ लुम्बिनीमा जर्मनी, फ्रान्स, चीन, अमेरिका, श्रीलंका, स्पेन, भियतनाम लगायत मुलुकबाट पर्यटकहरुको आगमन भइरहेको छ । यी मूलुक बाहेक युद्धमा फसेको युक्रेनबाट समेत ७ जना लुम्बिनी भ्रमण आएका छन् । त्यस्तै रसियाबाट ५७ जनाले लुम्बिनीको भ्रमण अवलोकन गरेका छन् । पछिल्लो तीन महिनामा तेस्रो मुलुकबाट एक हजार एक सय ८५ जना पर्यटकहरु लुम्बिनी आएका छन् ।

लुम्बिनीमा तेस्रो मुलुकबाट जनवरीमा २ सय ५३ जना पर्यटकको आगमन भयो भने फेब्ररीमा तीन सय ६ जना र मार्चमा त्यो संख्या बढेर ६ सय २६ पुगेको छ । पर्यटकको आगमनको अफ सिजन पनि भएकाले तेस्रो मुलुकबाट पर्यटकको संख्या ह्वात्तै बढ्न नसकेको सूचना अधिकृत बस्नेतको भनाई छ । अन्तर्राष्ट्रिय पर्यटन वर्ष (सन् २०२२) को अन्तिम तिर सुरु हुने देखिएकाले त्यसपछि लुम्बिनीमा पनि पर्यटकको संख्या बढ्न सक्ने उनले बताए ।

‘अहिले तेस्रो मुलुकबाट छिटफुट रुपमा पर्यटकहरु आइरहेका छन्, सेप्टेम्बरबाट पर्यटकको संख्या बढ्ने आशा छ’, उनले भने । लुुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पछिल्लो समय लुुम्बिनीमा पर्यटकको आगमनमा सुधार भएको बताए । तर, बिहान आएर बेलुका फर्किने पर्यटक धेरै भएकाले व्यवसायीले फाइदा लिन नसकेको उनको भनाई छ । ‘सेम–डे पर्यटक बढी हुँदा हामीले फाइदा लिन नसकेका हौं’, उनले भने ।