March 18, 2025, Tuesday
२०८१ चैत्र ५

रेडसन फनपार्क, जहाँ समुन्द्रको छालको झल्को लिन पाइन्छ

भैरहवा– समुन्द्रको छालको झल्को दिने गरी यहाँ फनपार्क संचालित छ । आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको केन्द्र मानिने रुपन्देहीमा फनपार्कले पर्यटक थप आकर्षित गर्ने अपेक्षा छ । जिल्लाको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा रेडसन फनपार्क सञ्चालनमा आएसँगै त्यहाँ रमाउन आन्तरिक र भारतीय पर्यटक पुग्न थालेका छन् ।

‘अहिले भारतीय र आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन्’, फनपार्कका निर्देशक बुद्धिराम यादवले भने, ‘हाम्रो उद्देश्य तेस्रो मुलुकका पर्यटक पनि रमाउने वातावरण सिर्जना गर्नु हो । कोरोना महामारी सहज हुँदै गएको छ । विदेशी पनि रमाउन आउनेछन्, त्यसका लागि हामीले प्रचारात्मक कार्यक्रम गरिरहेका छौं ।’

Advertisement

पानीको छालले समुन्द्रको झल्को दिने भएकाले यहाँ पुग्नेहरु लालायित हुन्छन्, आनन्द मान्छन्, दिनभर यही रमाउँछन् । बालबालिकादेखि युवापुस्ता र बुढापाका पनि पानीको छालसँग रमाएर बस्न खोज्छन् । फनपार्कमा दुई किलोमिटर लामो कृत्रिम खोला समेत निर्माण छ । त्यहाँ पाइडेल बोटिङको व्यवस्थासमेत छ । पानीको छालले छुट्टै आनन्द दिन्छ ।

यस्तै, १५ फिटको स्लाइडिङ, रेन डान्स, लेजी रिभर, बच्चाहरुको बेबी स्लाइडिङ, जेट स्प्रे, अम्ब्रेला सावर लगायत विभिन्न मनोरञ्जनात्मक सुविधाहरु फनपार्कमा छन् । ‘हामीले यस क्षेत्रको पर्यटन विकासमा फनपार्कले टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौं’, यादवले भने ।

भैरहवा नजिकै बुद्ध जन्मस्थल लुम्बिनी छ । यो बौद्धमार्गी, शान्तिप्रेमी, श्रद्धालु तथा आन्तरिक र बाह्य पर्यटकको मुख्य रोजाई हो । यहाँ आउने पर्यटकलाई फनपार्कमा घुमाउन र भुलाउन सके पर्यटकको बसाइँ लम्ब्याउनसमेत टेवा पुग्ने सेल्स तथा मार्केटिङ प्रबन्धक अमृतकुमार खनालले जानकारी दिए ।

‘महामारीले थला परेको पर्यटन क्षेत्रलाई सबल बनाउन फनपार्क कोशेढुंगा सावित हुनुपर्छ र हुन्छ पनि’, उनले भने, ‘यसका लागि हामीले मार्केटिङ र प्रचारको कामलाई दु्रत बनाएका छौं ।’ खासगरी भारतीय बजार नजिक भएकाले फनपार्क भारतीय पर्यटकको मुख्य गन्तव्य बन्न सक्छ । यसका लागि उताको बजारमा त्यहीअनुसारको प्रचार जरुरी हुन्छ ।

रुपन्देहीको बेलहिया नाका स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका हो, कोरोना महामारी सहज बन्दै गएपछि पर्यटक आगमन बृद्धि हुने र फनपार्कमा रमाउनेहरु बढ्ने संचालकको विश्वास छ ।

नेपालमै पहिलो पटक समुन्द्रको झल्को दिने वेभ पुल निर्माण गरिएको फनपार्कमा १५ करोड बढी लगानी भएको बताइएको छ । फनपार्कमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि रेष्टुरेण्ट र चारैतिर दृष्यावलोकन गर्न मिल्ने स्थानसमेत छ । फनपार्कसँगै होटल बोधी रेडसन रहेकाले पर्यटकलाई थप सहजता मिल्ने संचालकले जनाए । फनपार्क नजिकै विगत ६ वर्षदेखि बोधी रेडसन होटल संचालनमा छ ।

साढे ४ विगाहा क्षेत्रफलमा रहेको यो फनपार्क पश्चिम नेपालकै उत्कृष्ट गन्तव्य बनाउने गरी अन्य पूर्वाधार समेत तयार गर्दै जाने जनाइएको छ । पूर्वाधार थप्दै लगी कम्तीमा ३० करोड लगानी पुर्याउने संचालकको योजना छ । वाटर पार्कमा प्रवेशका लागि अहिले ३ सय रुपैयाँ र बालबालिकालाई २५० रुपैयाँ तोकिएको छ । बिहान ९ बजेदेखि ८ बजेसम्म पार्कमा समय बिताउन सकिने तथा एकपटक प्रवेश टिकट काटेपछि दिनभर बस्न सकिने व्यवस्था रहेको खनालले जनाए ।

हुनतः फनपार्क २०७६ भदौमा निर्माण गरिएको थियो । सञ्चालनको तयारी भइरहँदा कोरोना महामारीका कारण बन्द भएको थियो । महामारी मत्थर हुँदै जाँदा सञ्चालनमा आएको छ । दृश्यवलोकन गर्न लायक उक्त फनपार्कमा एकपटक पुगेर आनन्द लिन संचालकको आग्रह छ ।