पर्यटकीय नाका अस्तव्यस्त


भैरहवा– मुलुकमा सबैभन्दा धेरै स्थलमार्गबाट पर्यटक आउजाउ गर्ने रुपन्देहीको बेलहिया नाका हो । धेरै पर्यटक आउजाउ र चहलपहल हुने भए पनि नाकाको अवस्था भने बेहाल छ । धुलो, धुँवा, यत्रतत्र छरिएको फोहोर र जथाभावी गरिने पार्किङले नाकाको अवस्था अस्तव्यस्त भएको हो ।
मुलुकमा तीन तहका सरकार छन्, तर सबैभन्दा बढी स्थलमार्गबाट पर्यटक भित्रिने नाकाको अवस्था सुधारमा भने कसैको ध्यान पुगेको छैन । नाका बुङबुङ्ती उड्ने धुलो, सवारी साधान र सर्वसाधरणको भीड उस्तै छ । अस्तव्यस्त पार्किङ, पानी पर्दा सडकमा हिलोले बिजोग, घामलाग्दा धुलोले ओहोरदोहोर गर्नै समस्या ।
रिक्सा, मोटरासाइकलदेखि मालवाहक र यात्रुबाहक सवारी तथा पैदलयात्रुको ठेलमठेल भीडभाड । सवारीका कारण धुँवा उस्तै । होचो र साँघुरो प्रवेशद्वार, जसमा नेपालको चिनारीसमेत छैन । जथाभावी फालिएको फोहोरको दुर्गन्ध उस्तै छ । नाकाबाट जिल्ला भित्र र मुलुकका विभिन्न स्थानका लागि छुट्ने गाडीको लाम लागेको हुन्छ । ती गाडीका कर्मचारीले यात्रु र पर्यटकलाई तानातान गर्छन् ।

सीमा क्षेत्रका कतिपय व्यवसायीको पर्यटकप्रति राम्रो व्यवहारसमेत छैन । नाका अस्तव्यस्त बन्दा सुन्दर नेपाल भ्रमणको कल्पना गरेर आउने पर्यटक पनि नाकामा आइपुग्दा नाक खुम्च्याउन बाध्य छन् । नाकाको दुरावस्थाबाट पर्यटक मात्रै होइन्, पर्यटन व्यवसायी र स्थानीय पनि आजित छन् ।
‘हामीले धेरै पहिलेबाट नाकाको अवस्था सुधार गर्न पहल गर्यौ तर भएन’, नेपाल एशोसिएसन अफ ट्राभल्स एण्ड टुर्स एजेण्ट (नाट्टा), लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले भने, ‘वर्षौंदेखि नाकामा जोडिएको सडक अलपत्र छ, फोहोर उस्तै छ । दुरावस्थाले सबैलाई दिक्क बनाएको छ ।’
कोरोना अघि बेलहिया नाका हुँदै वार्षिक तेस्रो मुलुकका मात्रै डेढ लाख बढी पर्यटक भित्रिन्थे । कोरोना महामारी कम हुँदै गए पछि सन् २०२२ को दुई महिनामा १३२ पर्यटक यो नाका हुँदै नेपाल आएका छन् । यहाँबाट सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आउँछन् । यसरी मुलुकमा धेरै पर्यटक भित्र्याउने नाकाको अवस्था भने वर्षौदेखि उस्तै छ ।

६ लेन सडक बनाउने भनी सडक भत्काएको पनि चार वर्ष भयो, तर ७ सय मिटर सडकसमेत अझै बन्न सकेको छैन । भत्काएर छाडिएको सडक र असरल्ल निर्माण सामाग्रीका कारण पनि नाका झनै अव्यवस्थित बनेको छ । सडकमै पार्किङ गर्दा सडक बसपार्क जस्तै छ । अहिले त नाकामा रहेको अध्यागमन कार्यालय पनि पाँच सय मिटर पर सारिएको छ । जसले कागजपत्र बनाउन आउने पर्यटक अन्यौलमा पर्ने गरेका छन् ।
नाकामा व्यवस्थित सूचना केन्द्र समेत छैन । नाका व्यवस्थित गर्न पर्यटन व्यवसायी र स्थानीयले पटक–पटक तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन्, अझै कसैको ध्यान गएको छैन । तर सरकारी पक्ष आश्वासन दिन भने छाड्दैन, नाका भने सुध्रिँदैन ।
लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी मदनबहादुर जिसीले नाकाको अवस्थाबारे मन्त्रालय जानाकार भएर पनि काम गर्न नसकेको बताए । उनले भने, ‘कतिपय अधिकार क्षेत्रका कुरा छन्, काम कसले गर्ने भन्नेबारे एकीन नहुँदा पनि समस्या भएको हो ।’

उनले मन्त्रालयले संघ र स्थानीय सरकारसँग समन्वय गरेर नाका व्यवस्थि तगर्न लागि पर्ने जनाए । बेलहिया नाका अस्तव्यस्त भएको अहिले मात्रै होइन्, दशकौं भयो । मुलुकमा धेरै सरकार फेरिए, अहिले तीन तहका सरकार छन्, तर पनि नाकाको अवस्था भने ज्यूँका त्युँ छ । पर्यटकीय नाका बेलहियामा देखिएको अस्तव्यस्तताले विश्व बजारमा समेत नेपालप्रतिको नकारात्मक प्रभाव परिराखेको पर्यटन व्यवसायी श्रीचन गुप्ता बताउँछन् ।
‘नेपाल आउँदावित्तिकैको अवस्थाले पक्कै पनि अन्तर्राष्ट्रिय बजारमा हाम्रो राम्रो सन्देश गएको छैन, तत्काल नाकाको अवस्था सुधारमा लाग्नुपर्छ’, उनले भने । उनले सरसफाई गर्ने धुलाम्य सडकमा पानी हाले पनि केही हदसम्म सहज हुने बताए । बेलहियाका स्थानीय रामबहादुर बस्नेतले स्थानीय सरकार निकम्मा भएको जनाए । ‘नगरपालिकाले फोहोरसम्म उठाएको छैन’, उनले भने, ‘नाममा पर्यटकीय नाका भने पनि व्यवहारमा भने भएन ।’

सडक व्यवसाय गर्दा यहाँको अवस्था झन कुरुप बनेको छ । व्यवस्थापनमा नगरपालिकाले पनि ध्यान दिएको छैन । नगर प्रमुख हरिप्रसाद अधिकारीले भने नगरले गर्नसक्ने काम गरेको बताउँछन् । ‘हामीले फोहोर व्यवस्थापन र सरसफाईको काम गरेका छौं । यद्यपि कहिलेकाँही भीडभाडले गर्दा फोहोर भएजस्तो देखिएहोला तर यसलाई हामीले सुधार्छौं’, उनले भने, ‘सडक मर्मत, सूचना केन्द्र व्यवस्थापनको काम भने प्रदेश र संघले गर्नुपर्छ । ढिलाई गर्नुहुँदैन ।’
नाका व्यवस्थापन राम्रो नभएकोप्रति पर्यटकले पनि गुनासो गर्दै आएका छन् । पर्यटन वर्ष २०११ मनाउँदै गर्दा बेलहियामा गुनासो पेटिका राखिएको थियो, त्यसबेला नेपालबाट फर्कने पर्यटकले एक सय ९५ वटा गुनासाहरु गुनासो पेटिकामा राखेका थिए । गुनासाहरुमा नाका व्यवस्थापन, सुरक्षा, यातायात, सरसफाईदेखि दुव्र्यवहारसम्मका गुनासाहरु थिए । तर, कुनै पनि गुनासाहरु सुनुवाई भएन ।
‘हामीले पर्यटनका कुरा मात्रै गर्यौ तर पर्यटकले के चाहन्छन् भनेर गर्नुपर्ने काम धेरै भएनन्’, पर्यटन व्यवसायीसमेत रहेका अधिकारीले भने, ‘व्यवसायीले गरेर मात्रै हुँदैन, पर्यटन क्षेत्र उकास्ने हो भने राज्यसँगै आमनागरिक पनि उत्तरदायी हुनुपर्छ ।’

लेखकको सम्वन्धमा