March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भैरहवा सेजमा उद्योगी र प्राधिकरणबीच विवाद

भैरहवा– विशेष आर्थिक क्षेत्र (सेज) ऐन बमोजिम बाह्य निकासी नगरेको भन्दै आन्तरिक निकासी रोक लगाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरण र उद्योगीबीच विवाद सुरु भएको छ । मुलुककै पहिलो नियार्तमुखी परियोजना भैरहवा सेजमा संचालित शक्ति मिनरल्सको आन्तरिक निकासी प्राधिकरणले रोकेको हो ।

Advertisement

सेज ऐनअनुसार यहाँ संचालित उद्योगले ६० प्रतिशत बाह्य मुलुक निकासी गर्नुपर्छ । आन्तरिक बजारमा ४० प्रतिशतसम्म विक्री गर्न पाउने प्रावधान राखिएको छ । प्राधिकरणका अनुसार शक्तिको बाह्य निकासी ६ प्रतिशत मात्रै छ । तर, उद्योगीले भने १७ प्रतिशत भएको दावी गरेको छन् ।

Advertisement

उद्योगका मेकानिकल इन्जिनियर दीपक झाले दुई वर्षयता कोरोनाका कारण निकासीमा समस्या भएको बताए । ‘बाह्य मुलुकमा ६० प्रतिशत निकासी नगरेको भन्दै विना जानकारी हाम्रो उत्पादन आन्तरिक बजारमा विक्री रोकिएको छ’, उनले भने, ‘महामारीले गर्दा समस्या थियो । अर्कातर्फ सेजभित्र कुनै सुविधा छैन । कसरी निकासी बढ्छ ?’

यो उद्योग सेजमा सबैभन्दा पहिले स्थापना र उत्पादन गर्ने पहिलो उद्योग हो । उद्योगबाट कुखुराको दाना बनाउन प्रयोग गरिने लाइनस्टोन ग्रिड र पाउडर उत्पादन हुन्छ । तीन वर्षदेखि उद्योगले उत्पादन सुरु गरेको हो । यहाँ ४० करोड लगानी भएको छ ।

विशेष आर्थिक क्षेत्रले आन्तरिक बजारमा विक्री रोके पछि उद्योगले बाह्य मुलुक निकासी पनि रोकेको छ । बुधबारदेखि बाह्य मुलुक निकासी रोकिएको हो । आन्तरिक विक्रीका लागि सेजले रोक लगाएपछि शक्ति मिनरल्सले आन्तरिक र बाह्य निकासीका लागि लोड गरिएका गाडी र उपकरण सेजको मूल गेटमै खडा गरेको छ ।

यो उद्योगले चालु आर्थिक वर्षको ४ महिनामा १७ लाख ६१ हजार बराबरको उत्पादन भारत निकासी गरेको छ । आन्तरिक बजारमा २ करोड ५३ लाख रुपैयाँको विक्री गरेको छ । झा भन्छन्, ‘हामीलाई यहाँ कुुनै सुविधा छैन । न विद्युत् छ, न पानी नै ।’ उद्योगीसँगको सम्झौताअनुसार सरकारले विद्युत उपलब्ध गराउन सकेको छैन । छिनछिनमा जाने विद्युत्ले उद्योगीले हैरानी खेपेका छन् । सेजमा स्थापित ६ मध्ये ४ उद्योगले उत्पादन गरी भारत निकासी सुरु गरेका छन् । तर, आवश्यक पूर्वाधार बनाउन र सुविधा दिन भने सरकार चुकेको छ ।

सडक बत्ति, पार्क, धर्मकाँटा र सेज भित्रै राखिने भनेको भन्सार समेत छैन । भन्सारका लागि भवन बने पनि प्रयोगबिहीन छ । ‘यहाँ भन्सार नहुँदा भारत निकासीका लागि हामीलाई निकै समस्या भएको छ’, झाले भने, ‘भारतीय गाडी आउनै मान्दैनन्, आएका पनि घण्टौंसम्म नाकामा लाइनमा बस्नुपर्ने स्थिति छ ।’

सेजमा संचालनमा रहेको उद्योगमध्ये व्रिलियन्ट लाइटिङ प्रालिले चालु आबको कार्तिकसम्म ३ करोड ६९ लाख अर्थात् कुल उत्पादनको ६७.१९ प्रतिशत बाह्य मुलुक निकासी गरेको छ । भीस्टार ग्लोबलले १० करोड ६३ लाख अर्थात् कुल उत्पादनको ८८.१४ प्रतिशत निकासी गरेको छ । । पञ्चकन्याले भने ३ लाख ९३ हजार अर्थात् १.४७ प्रतिशत मात्रै निकासी गरेको छ । पञ्चकन्याले उत्पादन सुरु गरेको एक वर्ष नपुगेकाले यसको आन्तरिक निकासीमा रोक लगाइएको छैन ।

विशेष आर्थिक क्षेत्रका इन्जिनियर जीवन पौडेलले प्रावधाअनुसारको निकासी नगरेपछि शक्ति मनिरल्सलाई आन्तरिक बजारमा विक्रीवितरणमा रोक लगाइएको बताए । ‘उहाँहरुले बाह्य मुलुक निकासीलाई बढाउनुपर्छ’, उनले भने, ‘जुन उद्देश्यले यहाँ उद्योग स्थापना भएको हो, त्योअनुसार चल्नुपर्छ ।’

प्राधिकरणले उद्योगीसँगको सम्झौताअनुसारको सुविधा दिन भने नसकेको उनले स्वीकारे । ‘हामीले विस्तारै पूर्वाधार विकास गरिरहेका छौं, सेवासुविधा दिन्छौं’, उनले भने, ‘उद्योगीले पनि प्रावधानअनुसार काम गर्नुपर्छ ।’ अघिल्लो हप्ता मात्रै नियुक्त भएका प्राधिकरणका कार्यकारी निर्देशक चण्डीका भट्टले भैरहवा सेजको अनुुगमन गरेका थिए । त्यसक्रममा उनले शक्ति मिनरल्सका संचालकहरुमाथि आक्षेप लगाएर अपशब्द प्रयोग गरेको उद्योग संचालकले बताएका छन् ।

‘आन्तरिक रिसइबी साँध्न पनि हाम्रो आन्तरिक निकासी रोकिएको हो’, झाले भने, ‘भारतबाट आउने लाइनस्टोन ग्रिड र पाउडर हाम्रो उत्पादनकै कारण निकै कम मात्रामा आयात भएको छ । यसले मुलुकलाई आत्मनिर्भर बनाइरहेको कुुरा पनि विर्सनु हुँदैन ।’

सेजमा पूर्वाधार र सुविधा नभएकै कारण प्लट लिएका कयौं उद्योगीले सम्झौता रद्ध गरिसकेका छन् । स्थापित उद्योगलाई पनि सुुविधा छैन । निकासीका नाममा प्राधिकरणले अवरोध गर्दा ती उद्योग पनि पलायन हुनसक्ने प्राधिकरणकै कर्मचारी बताउँछन् ।