January 23, 2025, Thursday
२०८१ माघ १०

सडकमै सुतेर भए पनि ओभरलोड रोक्ने व्यवसायीको चेतावनी

भैरहवा– भारतीय मालबाहक गाडीले बोक्दै आएको ओभरलोड नरोकिए कडा आन्दोलन गर्ने लुम्बिनी प्रदेशका ट्रक तथा ढुवानी व्यवसायीले चेतावनी दिएका छन् । व्यवसायीले ओभरलोड भारतीय गाडीकै कारण आफूहरु खाली बस्नु परेको र नेपालका सडक–संजाल भत्किएको भन्दै कडा आन्दोलनको चेतावनी दिएका हुन् ।

‘सरकारले कडाई नगरे ओभरलोड रोक्न हामी आफै सडकमै सुतेर भए पनि रोक्छौं’, भैरहवामा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भने । नेपाल भित्रिने सबैजसो भारतीय मालबाहक गाडीले ओभरलोड बोकेर आउँछन् । यसरी आउने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना काटेर छाड्ने गरेको छ ।

Advertisement

ट्राफिकले एक हप्ता अघिसम्म अधिकतम ५–१५ सयसम्म जरिवाना काट्ने गरेको थियो । व्यवसायीले बेलहिया नाकामा भारतीय ओभरलोड गाडी रोकेपछि अहिले अधिकतम दुई हजार रुपैयाँसम्म जरिवाना काट्न थालिएको ट्राफिक प्रहरी भनाई छ । ‘जरिवानाकै भरमा ओभरलोड छाडिँदा नेपालका सडक भत्किएका छन् भने नेपाली ट्रक तथा ढुवानी व्यवसायीले सामान बोक्न नपाउँदा खाली बस्नु परेको छ’, पोखरेलले भने ।

ओभरलोडविरुद्ध निरन्तर विरोधमा उत्रिएका लुम्बिनी प्रदेशका ढुवानी तथा ट्रक व्यवसायीले यसअघि करिब एक हप्ता बेलहिया नाकामा भारतीय ओभरलोड गाडी रोकेका थिए । ‘यति गर्दासमेत ओभरलोड नियन्त्रणमा आएको छैन । राज्यले हाम्रो माग सुनुवाई नै गरेन’, नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाट भन्छन्, ‘अब देशभरका ढुवानी व्यवसायी एक भएर थप आन्दोलनका कार्यक्रम गर्छौं ।’

ओभरलोड नरोकिए सडकमै सुतेर सरकारलाई झुकाउने व्यवसायीले चेतावनी दिएका हुन् । मालबाहक सवारी साधनको भारबहन नियमन सम्बन्धी निर्देशिका– २०७४ अनुसार भारतबाट ओभरलोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ । तर, ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हुँदैन । ‘यसले गर्दा नेपाली व्यवसायीले काम नै पाउँदैनन् । भारमिलान गर्ने हो भने नेपाली ट्रकले भारमिलान गरेको सामान बोक्न पाउँथे । तर, यसो गरिँदैन । जसले गर्दा व्यवसायी मर्कामा परेका हुन्’, रानाभाटले भने ।

नियमअनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारीले ९.६, १० चक्केले १६.२, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै मालबाहक गाडीले तेब्बरसम्म बोक्ने गरेका छन् । भारतीय ओभरलोड गाडीका कारण आफ्नो पेशा संकटमा परेको भन्दै नेपाली ट्रक ब्यवसायीहरुले आन्दोलन चर्काउने संकेत गरेका हुन् । ‘पटक–पटकको अनुरोध सरकारले सुनेन । हामी सधैं मर्कामा पर्ने तर भारतीय गाडी आफू खुशी चल्ने ? यो कस्तो नियम ?’, पोखरेलले प्रश्न गरे, ‘हामीलाई जस्तै नेपाल आएका भारतीय मालबाहक गाडीलाई पनि एउटै नियम लाग्ने होइन र ?’

व्यवसायीले सरकारले बेवास्ता गरे ओभरलोड एउटा गाडी पनि नेपाल छिर्न नदिने चेतावनी दिएका छन् । ‘ओभरलोडकै कारण हामीले न्यूनतम भाडादर पनि नपाउने समस्या छ । भारतमा गाडी सस्तो पर्छ, नेपाल ल्याउँदा दोब्बर मूल्य पर्छ’, पोखरेलले भने, ‘यही कारण उनीहरुले सस्तोमा ढुवानी गर्न सक्छन् । अझ ओभरलोड ल्याउँदा उनीहरुलाई निकै फाइदा हुन्छ । नेपाल सरकारले नियमन गर्दैन ।’

सरकारी अधिकारीहरुको सेटिङमा ओभरलोड गाडीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेको नेपाली ढुवानी व्यवसायीको आरोप छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले ओभरलोडविरुद्धको आन्दोलन अब सशक्त बनाइने बताए ।

भाडादर लागु
लुम्बिनी प्रदेशका ट्रक तथा ढुवानी यातायात व्यवसायीले सरकारले तोकेको भाडादर लागू गरेका छन् । शनिबारदेखि लागु हुने गरी सरकारले तोकेको भाडादरमा ढुवानी गर्न सबै व्यवसायीलाई भनिएको पाण्डेले बताए । सरकारले असार २९ गते निर्णय गर्दै नेपालका बिभिन्न ६१ स्थानका लागि मालबाहक सवारी भाडादर तोकेको थियो । ‘हामीले वैज्ञानिक भाडादर कायम गर्न माग गरेको करिब ७ वर्ष पछि सरकारले निर्णय गरेको छ । सबै व्यवसायीले सरकारी नियम पालना गर्नुपर्छ’, अध्यक्ष पाण्डेले भने ।

व्यसायीले भाडादर लागू गर्ने र ओभरलोड नियन्त्रणमा कडा भएर उत्रिने जनाएका छन् । सरकारले तोकेको भाडादर भन्दा बढी वा कम लिएर ढुवानी गरेको पाइए सवारी दर्ता नगर्ने, दुर्घटनाको भुक्तानी नदिने निर्णय गरेको पाण्डेले बताए । ‘आफूखुशी भाडा लिए हामीले दुर्घटनाको भुक्तानी पनि लिँदैनौं र सवारी दर्तामा रोक लगाउँछौं’, पाण्डेले भने ।