September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

आहा ! कानपारा, जहाँ रमाइलोसँगै लिन पाइन्छ थरिथरि स्वाद

भैरहवा– शान्त वातावरण । वरिपरी हरियाली, माछा पोखरीमा डुंगा सयर, फिसिङ, पोखरीमाथि बसेर खानाको व्यवस्था । यस्तो ठाउँ मन नपराउने कमै होलान् । थारु परिकार मन पराउनेहरु अझै बढी पुग्छन्, कानपारामा ।

रुपन्देहीको तिलोतमा नगरपालिका–१७, कानपारामा यो व्यवस्था छ । पाहुनालाई एकै ठाउँमा फरक–फरक स्वाद चखाउने र व्यवसायिक कृषिलाई थप विस्तार गर्ने उद्देश्यले स्थानीय अजयकुमार चौधरीले कृषि फार्म तथा रिसोर्ट संचालन गरेरे आन्तरिक पर्यटकलाई तानिरहेका छन् ।

चौधरीले ६ बिघा जमिनमा कृषि पर्यटन, प्रवद्र्धन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि मार्फत् कागती खेती, माछा, टर्की, हाँस तथा कुखुरापालन गरिरहेका हुन् । माछापालन र रिसोर्ट संचालन गरेको धेरै वर्ष भए पनि अहिले यसलाई विस्तार गरी कागती खेती तथा कुखुरा र हाँसपालन समेत गर्न थालेका छन् ।

‘मैलै व्यवसायिक कृषि गर्न लागेको ८ वर्ष भइसक्यो । तर, पाहुनालाई थप स्वाद चखाउने र कृषि पेसालाई पनि व्यवसायीकरण गर्दै लैजाने उद्देश्यले लगानी थप गरेको छु’, प्रालिका अध्यक्ष चौधरीले भने, ‘यहाँ स्वाद मात्रै होइन्, व्यवसाय गर्न चाहनेले अनुसन्धान गर्न र सिक्न पनि पाउनुहुनेछ ।’

यहाँ चौधरीले साढे ३ करोड रुपैयाँ लगानी गरिसकेका छन् । पछिल्लो समय रुपन्देहीमा कृषि पर्यटनको पनि विकास हुँदै गएकाले धमाधम यस किसिमका रिसोर्ट र फार्म खुल्ने क्रम बढ्दो छ । चौधरीले कागतीसहित विभिन्न मेडिसिनल प्लान्टहरु लज्वाति झार, अगस्त, पारिजात लगायतका विरुवा उक्त अनुसन्धान केन्द्र भित्रको बगैँचामा लगाएका छन् ।

०७३ सालमा शुरु गरिएको उक्त केन्द्रमा ५ वटा माछा पोखरी छन् । कलकतिया, सनुकागती, बनारसी, युराका, एनएच हाईब्रेड जस्ता विभिन्न ७ प्रजातिका कागतीले फल दिन थालेका छन् । ४ विघामा माछा पोखरी छन् । २ विघामा रेष्टुरेन्ट, कागती खेती र वनभोज स्थल बनाइएको छ । छेउछाउ आँप र लिचीका विरुवा लगाइएको छ ।

पाहुनाहरुका लागि यहाँ तोरीको तेलमा पकाएको घोंगी, माछाको परिकार, हाँसको छोयला, बटई, ढिकरी, दलिया रोटी, चिचर, भुजासहितको टिपिकल थारु खानाहरु पाइन्छ । ‘थारुदेखि अन्य परिकार पनि खान पाइने भएपछि टाढाटाढाका आन्तरिक पर्यटक यहाँ आउने गर्नुभएको छ’, संचालक अभय चौधरीले भने, ‘यसले व्यवसाय गर्नमा मलाई थप प्रोत्साहन मिलेको छ ।’ कोरोना कहर अघि यहाँ थेगिनसक्नु पाहुना आउने गरे पनि अहिले भने केही कमी आएको उनले सुनाए ।

‘पहिला महिनामा एक हजार भन्दा बढी खानाका स्वाद लिने, बोटिङमा रामाउने र घुम्ने आउँथे’, उनले भने, ‘अहिले सात महिनामा ७ सयको हाराहारीमा आउने गरेका छन् ।’ यहाँ रहेको बगैँचामा लटरम्म कागतीको दाना फलेका छन् । माछा, कुखुरा, हाँस हुर्किरहेका छन् । मनै लोभ्याने उक्त केन्द्रमा ढकमक्क फुलेका फूलले आगन्तुक पाहुनालाई थप मोहित बनाउने गरेको छ ।

चौधरीकाअनुसार एउटै कागतीको बिरुवामा मात्रै डेढ सय दाना फलेका छन् । ५० हजार बढी माछा पोखरीमा हुर्किरहेका छन् भने केही तयार भएका छन् । हाँस, कुखुरा, टर्की, बटई पनि छन् । ‘धेरै जना यहाँ आएर बोटिङ र फिसिङमा रमाउनुहुन्छ’, अध्यक्ष चौधरीका छोरासमेत रहेका संचालक अभयले भने ।

केन्द्रमा पुग्ने पाहुनाले हिउँद–बर्खा बाह्रै महिना पोखरिमै बोटिङको आनन्द लिन पाउँछन् । अहिले ओपन थारु म्युजियमसहितको योजना बनाएर काम भइरहेको छ । ‘यसपछि थप आकर्षण बढ्ने छ । यहाँ आउनेहरु लोभिनेछन्’, उनले भने । माछापोखरी माथि बसेर खाने व्यवस्था गरिएको छ । डुंगा आकारमा बनाइएको । ‘यसमा बसेर खाना पाउँदा निकै रमाइलो लाग्छ’, भैरहवाबाट त्यहाँ पुगेका प्रकाश थापाले भने, ‘सबै किसिमको सुविधा एकै ठाउँ छ । आइरहन मन लाग्ने ठाउँ छ ।’

आगामी दिनमा म्यूजिकसहित नाचगान र सुत्नका लागि रुमहरु बनाउने तयारी चौधरीको छ । ‘यी सुविधा माथिपट्टि हुन्छ भने तल पोखरीमा बोटिङ हुनेछ’, उनले भने । यहाँ थारु समुदायको संस्कृति झल्किनेगरि साँस्कृतिक कार्यक्रम राख्ने पनि तयारि गरिएको छ ।

चौधरीको रिसोर्ट तथा अनुसन्धान केन्द्रमा जाने जो कोही लोभिन्छन् । प्राकृतिक वातावरणमा धेरै परिकार खान र सुगन्धित फूलहरुसँगै आनन्द लिन पाएपछि धेरै लोभिने गरेका हुन् । वार्षिक २० लाख बढी आम्दानी गर्ने चौधरीले खासगरी थारु समुदायको पहिचान झल्कने गरी अबका दिनमा लगानी थप गर्ने योजना सुनाउँछन् । स्थानीय परिकारलाई मन पराउनेहरु यहाँ पुग्ने गर्छन् । ‘एकपल्ट आउने पाहुन पटक–पटक यहाँ आउने गर्नुभएको छ’, अभयले भने ।

व्यवसायसँगै उनले १४ जनालाई रोजगारी पनि दिएका छन् । बुटवल, भैरहवाबाट नजिकै पर्ने भएकाले पनि यहाँ सधैंजसो पाहुनाको भरिभराउ हुन्छ । ‘एकान्त ठाउँमा रमाउनेहरु धेरै आउनुहुन्छ’, उनी भन्छन् । आफैले मिहेनत गर्न सक्ने र कामप्रति लगाव हुने हो भने जुनसुकै व्यवसाय सहज रुपमा गर्न सकिने र त्यसबाट मनग्य फाइदा हुने चौधरीको अनुभव छ । ‘मैले जति सफलता पाएको छु, कामप्रतिको लगाव र कडा परिश्रम नै हो’, उनले भने । व्यवसाय गर्न चाहनेलाई आफूले प्रोत्साहन गर्ने उनी बताउँछन् ।