मायादेवी मन्दिर खुलेपछि लुम्बिनीमा चहलपहल
लुम्बिनी – साढे ३ महिनापछि लुम्बिनीस्थित मायादेबी मन्दिर खुला गरिएपछि यहाँ भ्रमणमा आउने पर्यटक बढ्ने आशा गरिएको छ । कोरोना संक्रमण बढेपछि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । स्थानीय पर्यटन व्यावसायीले दर्शनार्थीका लागि मन्दिर खोल्नु पर्ने माग गर्दै आएका थिए ।
लुम्बिनी विकास कोषले मन्दिर खुला गर्ने निर्णय गरेपछि अब स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री र श्रद्धालुले प्रवेश पाउने भएका छन् । मन्दिर खुला गरिएपछि यहाँ घुम्न आउने बढेका छन् ।
लुम्बिनी विकास कोषका अनुसार आइतबारसम्म दुई हजार भन्दा बढी पर्यटकले मन्दिर अवलोकन गरेका छन् । यसरी घुम्न आउनेमा अधिकांश आन्तरिक पर्यटक हुन् । कोरोनाका कारण बिदेशी आएका छैनन् । कोषले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर प्रवेश गर्न दिइएको जनाएको छ ।
कोषका अनुसार यहाँ आउने पर्यटक मायादेवी मन्दिर र मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तुप, विहारका भग्नावषेश र प्राचीन इनार अवलोकन गरि फर्किने गरेका छन् । मन्दिर भित्र प्रवेशका लागि धेरै सुरक्षा सतर्कता अपनाइएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।
‘संबेदनशील ठाउँ भएकाले सचेत छौं’, उनले भने, ‘सुरक्षा सतर्कता साथ एक पटकमा सिमित व्यक्तिलाई मन्दिर भित्र प्रवेश दिएका छौं ।’ पसिसरमा भने जो कोही गएर अवलोकन गर्न सक्ने उनले बताए । केन्द्रिय नहरमा डुंगा पनि संचालन भएको छ । डुंगा सुचारु भएसँगै डुंगा चालक अल्गु पाण्डेको अनुहारमा खुसीको हाँसो थियो ।
‘करिब साढे ३ महिना पछि डुंगाको ह्याण्डिल समात्दा अनौठो लाग्यो,’ उनले भने, ‘अब यो डुंगा छाड्न नपरोस् भने कामना गरे ।’ ५–७ दिन यतादेखि उनी छिटफुट रुपमा डुंगा चलाउँदै आएका थिए । तर, बिहीवारयता एक्कासी व्यस्तता बढ्यो । बैशाखपछि सबैभन्दा धेरै व्यस्त हुँदा उनी दंग परेका थिए ।
अब विस्तारै लुम्बिनीमा चहलपहल बढ्न थालेको उनले बताए । शान्तभावलाई मनन् गर्दा कोरोना कहरलाई करुणा र मैंत्रीभावले जित्न सकिन्छ भन्ने सन्देश बुद्ध प्रतिमाबाट आइरहेको अनूभूति भइरहेको लुम्बिनी होटल संघ महासचिब लिलामणि शर्माले बताए ।
दुई–चारदिनबाट आन्तरिक पर्यटक देखिन थालेका पछि व्यवसायी पनि उत्साहित भएका छन् । यसले पर्यटकीय माहोल बन्दै गएको व्यवसायी विष्णु बस्नेतले बताए । आफूहरु पर्यटकलाई स्वागत गर्न आतुर रहेको उनले थपे । लुम्बिनीस्थित बसपार्क नजिक रहेको माला, प्रसाद र क्यूरियो पसल पनि खुलेका छन् ।
चकमन्न बजार चलायमान भएको छ । असार अन्तिमदेखि नै फाट्टफुट्ट रुपमा आन्तरिक पर्यटक लुम्बिनी आउन थालेका थिए । ‘अहिले बढेका छन्,’ कोषका सूचना अधिकृत राजन बस्नेतले भने, ‘मन्दिर खुलेपछि अझ बढे ।’ विस्तारै त्यहाँ रहेका विहार, गुम्बा, चैत्य र मन्दिर खोल्नेतिर पनि लाग्नु पर्ने स्थानीय होटल व्यवसायी किरणचन्द्र पौडेलले बताए ।
‘हामी पनि स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर सेवा दिन तयार भएर बसेको छौं’, उनले भने, ‘यसका लागि कोषले वातावरण बनाइदिन पर्यो ।’ लामो समयपछि विस्तारै लुम्बिनीमा चहलपहल बढ्दा आशाको दियो पलाएको उनले बताए । कोरोना भाइरस संक्रमणको पहिलो लहरमा यहाँ होटल तथा रेन्टुरेन्ट करिब ८ महिना बन्द रहेका थिए ।
व्यवसायीले ८० करोड बढी नोक्सान व्यहोरेको बताएका छन् । यहाँ समान्यदेखि तारेसम्मका ८० होटल छन् । लुम्बिनी स्वदेशीदेखि विदेशी गरी वर्षेनि १६ लाख हाराहारीमा पर्यटक र तीर्थालु आउने गरेका छन् । सन् २०१९ मा एक सय १५ मुलुकका पर्यटक यहाँ आएका थिए । लुम्बिनी चहलपहल सुरुपछि घुम्ने बढीरहेका छन् ।
लेखकको सम्वन्धमा