September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

लुम्बिनी पछिको गन्तव्य बन्नसक्छ गैडहवा ताल

भैरहवा – रुपन्देहीमा पर्यटनको प्रचूर सम्भावना छ । विश्व पर्यटन केन्द्र लुम्बिनीले पनि यहाँको पर्यटन विकासमा ठूलो टेवा पुर्याएको छ । तर, यही लुम्बिनीको नजिकै रहेका पर्यटकीयस्थल भने प्रचार–प्रसार अभावमा ओझेलमा छन् । लुम्बिनी नजिकै रहेको गैडहवा ताल लुम्बिनी आउनेहरुका लागि आकर्षण बन्न सक्छ ।

Advertisement

गैडहवा गाउँपालिका–४ मा रहेको यो मानव निर्मित ताल हो । गैडहवा तालका नामले चिनिने यो तालको ५० विघा क्षेत्रफलमा जलायस छ भने यसको पूरा क्षेत्रफल ८४ विघा छ । विश्व सिमसार क्षेत्रमासमेत सूचीकृत ताल जिल्लाकै सबैभन्दा ठूलो हो । जानाकारहरुका अनुसार सयौं वर्ष अघि निर्मित यो तालमा सुरुमा गैडाहरु आहाल बस्ने भएकाले तालको नाम गैडहवा राखिएको हो । गाउँपालिकाको नाम पनि तालको नाबाट राखिएको छ ।

Advertisement

लुम्बिनीबाट करिब ८ किलोमिटर दूरीमा ताल पर्छ । तालको लामो समय संरक्षण तथा सम्वद्र्धन हुन सकेन । पर्यटकीय सम्भावना अधिक भएर पनि प्रचार–प्रसार नहुँदा ओझेलमा परेको हो । अब भने ताल संरक्षणसँगै यहाँको पूर्वाधार विकास गरिने भएको छ । ४० करोड रुपैयाँ लागतको डीपीआर बनाइएको छ । ‘डीपीआरअनुसार बजेट उपलब्ध भए लुम्बिनी आउने पर्यटकको रोजाईमा ताल पर्ने छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले भने, ‘लुम्बिनीबाट नजिक छ, ठूलो छ, आकर्षक छ ।’

डीपीआरअनुसार ६ किलोमिटर क्षेत्रफलमा फैलिएको तालको चारैतिर २ मिटर फुटपाथ, ४ मिटर सडक र एक मिटरको ग्रिनरी बनाइने छ । वनभोज स्थललाई व्यवस्थित गरिनेछ । अहिले वरिपरी सडक बनाउने काम जारी छ । सीमसार क्षेत्र व्यवस्थित गरिँदै छ । यसअघि लुम्बिनी प्रदेश र गाउँपालिकाको ८५ लाख लगानीमा सभाहल, वनभोज स्थल बनाइएको थियो ।

पर्यटकीय गतिविधि बढ्दै जाँदा गाउँपालिकाले तालको नजिकमा रहेको वस्तीमा होमस्टे बनाएर लुम्बिनी आउने पर्यटकलाई यहाँ ल्याएर कम्तिमा एक रात बसाउने गरी योजना बनाएर अघि बढेको छ ।

‘हामीले यहाँ आउने पर्यटकलाई खानाबस्नको व्यवस्थासहित भुलाउने योजना बनाएका छौं’, पालिका अध्यक्ष बछु केवट (बच्चुलाल)ले भने, ‘अहिलेसक्क धेरै काम भइसक्थ्यो । तर कोरोना महामारीले केही ढिलाइ भएको छ । तर, पनि कामलाई अघि बढाएका छौं ।’

गैडहवा ताल चराचुरुङ्गीले पनि प्रख्यात छ । चराको चिरिबिरी आवाज र डुंगा सयरले यहाँ पुग्ने जो कोही लालायित हुन्छन् । प्रायः सबै सिजनमा साइबेरियन चराहरुको भिड लाग्ने गर्छ । बिहानको झुल्के घाम र गोधुली साँझमा चराहरुको चिरबिर आवाजले साँच्चिकै यहाँको मनमोहकतालाई थप रमाइलो बनाउँछ । रैथाने चराहरुको ताँती र तालको छेउको हरियालीले सौन्दर्य थप बढाएको छ ।

पोखरीमा माछा पालन गरिएको छ । त्यसबाट गाउँपालिकाको आम्दानी राम्रो हुने गरेको छ । तर, पर्यटकीय गतिविधि र तालमा डंगा सयर गराउँदा ठेकेदारले केही दुःख दिने गरेको गाउँपालिकाले जनाएको छ । ‘माछालाई असर गर्छ भनेर ठेकेदारले केही अवरोध गर्ने गरेका छन्, यसलाई हामीले व्यवस्थित गर्दैछौं’, केवटले भने ।

कोरोना महामारीले अहिले चहलपहल छैन । तर, तालको पूर्वाधार विकास जारी छ । डीपीआर अनुसार काम भएमा र लुम्बिनी आउने पर्यटकलाई एक दिन यहाँ भुलाउन सकिने स्थानीय बताउँछन् । यसले स्थानीयको आयआर्जन बृद्धिसँगै मुलुकको पर्यटक विकासमा समेत थप टेवा पुग्ने विश्वास गाउँपालिकाले गरेको छ । सहज अवस्थामा बर्सेनि लुम्बिनी आन्तरिक र बाह्य गरी १५ लाख बढी पर्यटक आउँछन् । तीमध्ये ५ प्रतिशत पर्यटक पनि गैडहवा पुग्दैनन् ।

‘सुरुमा प्रचार नै भएन । हामी स्थानीय तहको नेतृत्वमा आएपछि केही गरौं भनेर लागेका छौं’, अध्यक्ष केवटले भने, ‘केही प्राविधिक समस्या छन्, तिनलाई पन्छ्याउँदै हामी काम गर्छौं ।’ लुम्बिनी नजिक भएकाले पनि पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाए गैडहवा ताल लुम्बिनी पछिको दोस्रो गन्तव्य बन्ने गाउँपालिकाको निचोड छ । अझै भौतिक पूर्वाधार, होटल तथा रेष्टूराँ बनाउनु पर्ने पर्यटन व्यवसायी बताउँछन् । सहज सडकमार्ग र भौगोलिक सुगमताले पनि ताल पुग्न निकै सजिलो छ ।