लुम्बिनी–बर्दिया पर्यटकीय गन्तव्य जोड्न सके लाभ


ठाकुरद्वारा (बर्दिया)- बुद्ध जन्मस्थल लुम्बिनी र बर्दिया राष्ट्रिय निकुंजका साथै प्रदेशका अन्य पर्यटकीय गन्तव्यलाई जोड्न सके समग्र लुम्बिनीको पर्यटन विकास हुनेमा यस क्षेत्रका पर्यटन व्यवसायी, संरक्षणकर्मी, राजनीतिज्ञ, संचारकर्मी र सरोकारवालाले जोड दिएका छन् ।
लुम्बिनी प्रेस क्क्लब, भैरहवाले आइतबार बर्दियाको ठाकुरद्वारामा आयोजना गरेको लुम्बिनी–बर्दिया पर्यटन अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री एवं विघटित प्रतिनिधि सभा सदस्य संजयकुमार गौतमले बर्दियामा अधिक पर्यटकीय सम्भावना रहेको र यसलाई लुम्बिनीसँग जोडेर त्यहाँ आउने पर्यटकलाई यहाँ ल्याउन सके पर्यटकीय गतिविधि थप फस्ट्याउने बताए ।
उनले भने, ‘बर्दिया जैविक र सांस्कृतिक पर्यटनका हिसाबले धेरै अगाडि छ, हामीले यहाँको पूर्वाधार विकास गर्न सक्यौ र तेस्रो मुलुकका पर्यटक ल्याउन सक्यौं भने यहाँको पर्या–पर्यटनले फड्को मार्छ । थारु संस्कृतिलाई पनि अन्तर्राष्ट्रिय जगतमा फैलाउन सकिन्छ ।’
गौतमले बर्दियामा कोठियाघाट पुल, बढैयाताल, कृष्णसार, ठाकुरबाबा मन्दिर, कर्णाली पुल, थारु कलासंस्कृति लगायत थुप्रै जैविक, धार्मिक तथा पर्यटकीयस्थल छन्, यी क्षेत्रको एकीकृत संरक्षण र विकासका गरी आन्तरिक र बाह्य पर्यटक ल्याउन पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘म यहाँको जनप्रतिनिधि हुँ, त्यसैले समग्र पर्यटकीय क्षेत्रको विकासमा म लागिपरेको छु, यी क्षेत्रलाई लुम्बिनी प्रदेशका अन्य गन्तव्यसँग जोड्न सक्नुपर्छ ।’ तराईका २२ जिल्लामध्ये हरेक विविधतामा बर्दिया जस्तो अरु जिल्ला नभएको उनले दावी गरे ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बर्दियादेखि लुम्बिनीसँग गन्तव्य जोड्ने काम लुम्बिनी प्रदेश सरकारले थालनी गरेको जनाए । उनले अब एक ठाउँ आउने पर्यटकलाई प्रदेशका सबै गन्तव्यमा पुर्याउन सकेमात्रै लाभ मिल्ने भएकाले त्यसका लागि सबै अग्रसर भएर पर्यटक लक्षित काम गर्नु पर्ने बताए ।
‘बर्दिया प्रदेशको जैविक विविधताको मात्रै नभई, कलासंस्कृति, पानीको पनि राजधानी हो, यहाँ धेरै सम्भावना छ । त्यसलाई संरक्षण गर्दै पर्यटनसँग जोडेर फाइदा लिनुपर्छ’, उनले भने ।
बर्दिया राष्ट्रिय निकुंजका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले पर्यटन विकासका लागि सहज सडक र हवाई मार्ग आवश्यक रहेको बताए । उनले बर्दियामा त्यो पर्याप्त हुन नसकेको र केही प्रयास भने भएको बताए ।

उनले भने, ‘बर्दियासम्म आइपुग्न अझै हवाईमार्ग सहज छैन, भएको पनि निकै महंगो छ । निकुंज भित्रको स्टेट लेन्थ सहज छैन । मध्यवती क्षेत्रका होटलहरुले अझै आफ्नो सेवा विस्तार गर्नुपर्छ ।’ उनले निकुंजभित्र सबै किसिमका जनावर देख्न सकिने ठाउँ बर्दियामात्रै भएकाले पनि यहाँ पर्यटकको आकर्षण क्षेत्र रहेको जनाए । तर, सोहीअनुसार पर्यटक भने आउन नसकेको उनको भनाई छ ।
कम्तिमा भारतीय र चिनियाँ पर्यटकलाई यहाँ तान्न सक्ने हो भने पनि पर्यटकीय क्षेत्र बाह्रै महिना चलायमान हुने उनको भनाई छ । त्यसका लागि प्रचारप्रसार र मार्केटिङ गर्नु पर्ने उनले जनाए । उनले ठाकुरद्वारा आउने पर्यटकलाई जिल्लाका अन्य गन्तव्य र समग्र प्रदेशका पर्यटकीयस्थलमा पुर्याउन सरकार, निजी क्षेत्र लगायत सबै लाग्नु पर्ने बताए ।
पर्यटन व्यवसायी एवं होटल एशोसिएसन बर्दियाका अध्यक्ष मोहनलाल चौधरीले पर्यटन क्षेत्रमा काम भन्दा कुरा बढी भएको जनाए । व्यवहारिक कार्य नहुँदासम्म लाभ लिन नसकिने उनले जनाए । चौधरीले भने, ‘हामीले गरेको काम पर्याप्त होइन्, यसलाई अझै बढवा दिनुपर्छ ।’
उनले लुम्बिनी आउने एक चौथाई पर्यटकलाई बर्दिया ल्याउन सके पनि यहाँका लागि उत्तम हुने जनाए । पोखरा, चितवन, काठमाडौं आउने पर्यटकलाई यहाँ ल्याउने प्रयास भए पनि सडक पूर्वाधार समस्या नसकिएको जनाए । हरेक वर्ष पूर्वाधार विकासको आश्वासन पाए पनि पूरा नभएको उनको गुनासो ।
चौधरीले बर्दियामा पर्यटक लक्षित होटलमा मात्रै एक अर्ब लगानी भएको बताए । पछिल्लो पटक कोरोनाले पर्यटकीय गन्तव्यमा करोडौं लगानी गरेका पर्यटन व्यवसायी धरासायी हुने अवस्था आएको उनले बताए ।
‘फेरि कोरोनाको तेस्रो लहर आउने भनिएको छ, यसले ऋण लिएर अर्बौ लगानी गरेका व्यवसायी पलायन हुने अवस्था नआउला भन्न सकिँदैन’, उनले भने, ‘व्यवसायीको संरक्षणका लागि राज्यबाट केही भएन, कामभन्दा कुरा मात्रै ठूला भए । बैंकले चर्को ब्याज लिन्छ । यसैले अब राज्यले केही गर्ने बेला आयो ।’
पर्यटन विकास मंच बर्दिया सचिव श्रीधर पोखरेलले पर्यटन क्षेत्रमा यो गर्छु, त्यो गर्छुभन्दा पनि व्यवहारिक कामको खाँचो रहेको जनाए । कोरोनाले थला परेको पर्यटन व्यवसायलाई उकास्न नयाँ योजना ल्याउनु पर्ने उनको धारणा छ ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखा अध्यक्ष यादव आचार्यले यहाँ पर्यटनको अधिक सम्भावना रहेको जनाउँदै पर्यटकीय गतिविधिसँगै स्थानीयको आयस्तर बढाई जैविक क्षेत्रको संरक्षण गरिनु पर्ने बताए । उनले पर्यटकीय स्थल भए पनि यहाँका स्थानीयले उत्पादन गेको वस्तुले बजार नपाएको जनाए । स्थानीयको आयस्तर बढाउन अन्य गन्तव्यसँग बर्दियालाई जोड्न जरुरी रहेको उनको भनाई छ ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले लुम्बिनी र बर्दियाका दुई गन्तव्यलाई जोडेर धार्मिक तथा जैविक पर्यटकीय सम्भावनाका बारे प्रत्यक्ष भलाकुसारी गर्न अन्तरक्रिया आयोजना गरिएको बताए । लाखौं बौद्धमागी, अनुयायी, शान्तिप्रेमीको आस्थाको केन्द्र लुम्बिनी र बर्दियालाई जोडेर एक ठाउँ आएका पर्यटक अर्को ठाउँ पुर्याउन सकिए यसले समग्र प्रदेशको पर्यटकीय विकास हुने जनाए । संचार क्षेत्रले सधै यी र अन्य गन्तव्यहरुको प्रचारप्रसारमा लागि परेको जनाउँदै केसीले आगामी दिनमा पनि त्यसलाई थप प्रभावकारी बनाउँदै जाने बताए ।
प्रेस क्लबका तालिम समिति संयोजक दीपेन्द्र बडुवालले महामारीबीच पनि प्रदेशको मुख्यमध्येको एक गन्तव्य बर्दिमा आएर यहाँको वस्तुस्थिति जानकारी लिन कार्यक्तम आयोजना गरिएको जनाए । प्रदेशका १२ वटै जिल्लामा रहेका स्थललाई कसरी प्रचारप्रसार गर्न सकिन्छ र ती ठाउँमा पर्यटक कसरी पुर्याउन सकिन्छ भन्नेतर्फ कार्यक्रम फलदायी भएको उनले जनाए ।
प्रेस क्लब उपाध्यक्ष सम्झना शर्मा र महासचिव कमल रायमाझी, संस्थापक अध्यक्ष माधव ढुंगानाले संचार क्षेत्र सधै यहाँका गतिविधि प्रचारप्रसारमा लागेको जनाए । बर्दिया निकुन्जकाअनुसार सहज अवस्थामा यहाँ घुम्न देशीविदेशी गरी वार्षिक २५ हजार पर्यटक आउने गर्थे । कोरोना महामारी सुरु भएयता त्यो संख्या घटेको छ । अघिल्लो वर्ष १५ हजार आएकामा यसवर्ष जम्मा ८ हजार मात्रै पर्यटक आएका छन् ।

लेखकको सम्वन्धमा