April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीका सिग्देलले गरे विदेश पठाइदिने भनेर एक करोड ११ लाख ठगी

भैरहवा- रुपन्देहीका एक व्यक्तिले विदेश पठाइदिन्छु भनेर ८ युवासहित २ म्यानपावर कम्पनीलाई करोडभन्दा बढी रुपैयाँ ठकी गरेको पाइएको छ । क्यानडा, दक्षिण अफ्रिका पठाइ दिने भन्दै सैनामैना नगरपालिका, रानिबगियाका हरिप्रसाद शर्मा सिग्देलले नक्कली भिसा र टिकट बनाएर ठगी गरी करोड रुपैयाँ आफूहरुबाट लिएको पीडित युवाहरुले बताएका छन् ।

Advertisement

सोलुखुम्बुका पेम्बा गेलु शेर्पा वैदेशिक रोजगारीमा जानका लागि म्यानपावर कम्पनी धाउँदै गर्दा सन् २०१८ मा काठमाडौंमा रुपन्देहीको सैनामैनाका ४९ वर्षीया हरिप्रसाद शर्मा सिग्देलसँग भेट भयो । भेटमा सिग्देलले क्यानडा पठाइदिने र २३ लाख रुपैयाँ लाग्ने बताए । शेर्पा उक्त पैसा तिर्न तयार भए । त्यसपछि शेर्पाले एकपल्ट काठमाडौंमै सिग्देललाई ४ लाख दिए । चार लाख रुपैयाँ लिएपछि सन् २०१८ को जुलाईमा शेर्पालाई दिल्ली पुर्याए । त्यहाँ एक महिना आफूसँगै राखे ।

Advertisement

त्योबीचमा शेर्पासँगबाट थप ९ लाख रुपैयाँ लिए । सन् २०१८ कै अगस्ट १८ मा दिल्लीबाट भिजिट भिसामा शेर्पालाई कतार पठाए । कतार पुगेपछि सिग्देलले शेर्पालाई क्यानडाको भन्दै इटीए लेखिएको भिसा पठाए र आफन्तमार्फत् हुण्डीबाट पुनः १० लाख रुपैयाँ लिए । तर, कतारबाट उनको क्यानडा फ्लाइट भएन ।

कतारमै एक महिना बसेपछि शेर्पा नेपाल फर्किए । त्यसपछि बल्ल थाहा भयो, सिग्देलले क्यानडाको भनेर पठाइदिएको भिसा नक्कली भन्ने । त्यतिञ्जेल सिग्देल शेर्पाको सम्पर्कबाट टाढा भइसकेका थिए । उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । यसैरी क्यानडा, दक्षिण अफ्रिका र कतार पठाइदिने भन्दै सिग्देलले दुई म्यानपावर कम्पनीसहित १० युवाबाट विभिन्न मितिमा एक करोड ११ लाख ७७ हजार रुपैयाँ ठगी गरेका छन् ।

सिग्देलले नेपाली युवाहरुलाई ठगी गरेर भारतको दिल्लीमा बस्दै आएका छन् । अहिले उनको खोजिमा ठगिएका पाँच युवा दिल्लीमा छन् । स्याङ्जाका ४१ वर्षीय भेषराज मानन्धरले आफूलाई पनि क्यानडा पठाइदिन्छु भनेर सिग्देलले नक्कली भिसा र टिकट देखाएर ९ लाख ४० हजार रुपैयाँ ठगी गरेको बताए ।

‘मैले १२ वर्षदेखि चिनेको दाई हो, मेरो घरमा आउने बस्ने, खाने गथ्र्यो । तर, क्यानडा पठाइदिन्छु भनेर ठग्यो’, मानन्धरले भने, ‘तेरो भिसा लाग्यो दिल्ली आइजा भनेर ६ पल्ट बोलायो तर भिसा लागेन । अहिले मेरो सम्पूर्ण कागजात लगेर गायव छ ।’ सिग्देलको खोजीमा आफूहरु रातदिन दिल्लीको गल्ली चहार्दै हिँडेको उनले सुनाए ।

पीडित युवाहरुका अनुसार रुपन्देहीको सैनामैनाका सिग्देलले रामेछापका २९ वर्षीया नरेश सुनुवारबाट २२ लाख ६० हजार, बाग्लुङका २७ वर्षीया प्रकाश सापकोटाबाट १२ लाख, चितवनका २३ वर्षीय उत्तम लोहनीबाट १ लाख २० हजार, झापाका ३६ वर्षीय प्रेमबहादुर राईबाट १२ लाख रुपैयाँ ठगी गरेका छन् । यस्तै, दक्षिण अफ्रिका पठाइदिन्छु भनेर तनहुँका ५२ वर्षीया ठाकुरप्रसाद शर्माबाट १६ लाख ५० हजार, कतार पठाइदिने भनेर तनहुँका ३७ वर्षीया रामजी शर्माबाट १ लाख ३० हजार रुपैयाँ ठगी गरेको पीडित युवाहरुले बताएका छन् ।

हाल दिल्लीमा दलाल सिग्देलको खोजीमा गएका तनहुँका ठाकुरप्रसाद शर्मा भन्छन्, ‘मलाई सुरुमा चोर बाटोबाट दक्षिण अफ्रिका पठायो, तीनचार लाख तलव हुन्छ भनेको थियो, अफ्रिका पुग्दा महिनाको साठी हजार मात्रै भयो, त्यही पनि भिसा नक्कली रहेछ । त्यसपछि फर्केर नेपाल आएँ, यहाँ आएर सिग्देललाई सम्पर्क गरेँ, उसले अब क्यानडा जाने तपाईं भनेर पासपोर्ट र अन्य कागजात लग्यो । अहिले सम्पर्कबिहीन भएको छ ।’

सिग्देलले दुवै र कतारको डिमान्ड बनाइदिन्छु भनेर काठमाडौंमा रहेको रिलायन्स म्यानपावर कम्पनीबाट ११ लाख ५० हजार र काठमाडौंकै क्षितिज इम्पलामेन्ट सर्भिसेजसँग कतारको डिमान्ड बढाइदिने भनेर १ लाख ७७ हजार रुपैयाँ ठगी गरेका छन् । पब्लिक कुरालाई प्राप्त प्रमाणमा युवाहरुले नक्कली भिसा, टिकट र सिग्देलको बैंक खातामा पैसा जम्मा गरेको भौचर पनि उपलब्ध गराएका छन् ।

सिग्देलले युवाहरुलाई काठमाडौंको रिलायन्स म्यानपावर कम्पनीको इक्जेकेटिभ डाइरेक्टर लेखेको भिजिटिङ कार्डसमेत उपलब्ध गराएका थिए । पछि त्यही रिलायन्स म्यानपावरलाई समेत उनले ठगेका छन् । युवाहरुका साथबाट सिग्देलले पैसासँगै कागजात र पासपोर्ट पनि लगेका छन् । उनी अहिले दिल्लीको कुन ठाउँमा छन् भन्नेबारे खोजी गरिरहेको युवाहरुको भनाई छ ।

ठगिएपछि बाग्लुङका प्रकाश सापकोटाले वैदेशिक रोजगार विभागमा पनि निवेदन दिएका छन् । यस्तै, स्याङ्जाका मानन्धर लगायतका युवाले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोलाई पनि ठगिएको घटनाबारे जानकारी गराएका छन् । १७ दिनदेखि सिग्देलको खोजीमा दिल्ली पुगेका यु्वाहरुले दिल्ली जानु अघि रुपन्देही प्रहरीलाई पनि घटनाबारे जानकारी गराएका थिए । दिल्ली पुगेर नेपाली राजदुतावासमा सम्पर्क गरी दुतावासले भारतीय प्रहरीसँग समन्वय गरेर सिग्देलको खोजी गरिरहेको उनीहरुको भनाई ।

घरखेत बेची चर्को ब्याजमा ऋण खोजेर कमाउन जाने लोभमा सिग्देललाई करोड भन्दा बढी रुपैयाँ बुझाएका युवाहरु अहिले भौतारीररहेका छन् । न्यायका लागि चारैतिर हारगुहार गर्दै छन् । ‘बैंकको व्याज बढेको बढ्यै छ, दलाल भागेको भाग्यै छ । उसलाई खोज्न दिल्ली धाउँदा नै लाखौं रुपैयाँ सकियो’, मानन्धर भन्छन्, ‘हामीलाई न्याय दिन सरकारले नै पहल गरोस्, दलाल सिग्देललाई हदैसम्मको कारबाही होस् ।’ वैदेशिक रोजगार विभाग र प्रहरीले सिग्देलबारे अनुसन्धान गरिरहेको जनाएको छ ।