कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी


भैरहवा– सामान बोकेर नेपाल आउने भारतीय नम्बर प्लेटका मालबाहक गाडी भन्सार पास भएको ७२ घण्टाभित्र अनलोड गरी भारततर्फ नै फर्किसक्नु पर्ने प्रावधान छ । उक्त समयावधिमा फर्किन नसके प्रत्येक गाडीले प्रतिदिन दुई हजार ४ सय रुपैयाँका दरले जरिवाना शुल्क तिर्नुपर्छ ।
नजिक सामान ढुवानी गर्ने मालबाहक गाडी समयमै फर्किए पनि काठमाडौं, पोखरालगायत अन्य पहाडी जिल्लामा सामान ढुवानी गर्ने गाडी सामान्य अवस्थामा त फर्किन कठिन छ । अहिले झनै समस्या छ ।
‘निषेधाज्ञाले गर्दा दिउँसोमा गाडी चलाउन प्रशासनले रोक लगाएको छ । भन्सार पास भएपछि बाहिर निस्किँदा वित्तिकै गाडी प्रहरीले रोक्छ’, सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं उद्योगी अरुणकुमार गोयन्काले भने, ‘रातिमा मात्रै गाडी चलाउँदा तोकिएको समयावधि घर्किन्छ । जसले गर्दा हामी उद्योगी–व्यवसायीले चर्को जरिवाना तिर्न बाध्य छौं ।’
गत वर्ष कोरोना संक्रमणका कारण भएको लकडाउनमा मालबाहक भारतीय गाडीलाई नेपाल आउँदा ७२ घण्टाभित्रै फर्किसक्नु पर्ने प्रावधान हटाइएको थियो । यसपटकको निषेधाज्ञामा उक्त प्रावधान कायमै छ । जसले गर्दा ७२ घण्टामा फर्किन नसक्ने मालबाहक सवारीले दैनिक दुई हजार ४ सयका दरले जरिवाना तिरिरहेका हुन् ।

निषेधाज्ञा सुरु भएयता भन्सार पास भएर फर्किंदासम्म मालबाहक गाडीलाई अतिरिक्त दुईदेखि तीन दिन बढी समय लाग्ने गरेको छ । यसले उद्योगी–व्यवसायी थप मर्कामा परेको गुनासो गर्दै आएका छन् ।
‘महामारीले सबै क्षेत्र आक्रान्त छ, यस्तोबेला हामी उद्योगी–व्यवसायी सरकारको सहयोगी बन्न चाहन्छौं र बनेका पनि छौं’, गोयन्काले भने, ‘तर, भन्सार राजश्व तिरेर सामान ल्याउने उद्योगीलाई सरकारकै कारण अतिरिक्त शुल्क (जरिवाना) तिर्नुपर्ने व्यवस्था हटाएमा सहज हुनेथियो ।’ निषेधाज्ञा सुरु भएयता जरिवानावापत व्यवसायीले लखौं रुपैयाँ तिरिसकेका छन् ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले अघिल्लो वर्ष ७२ घण्टाको प्रावधान हटाउन सरकारबाट निर्देशन आएकाले हटाइए पनि अहिले कुनै जानकारी नआएको बताए । ‘हामीलाई प्रावधान लागू नगर्नू भनेर अहिलेसम्म औपचारिक/अनौपचारिक कुनै जानकारी आएको छैन । यदि त्यस्तो जानकारी आयो भने जरिवाना शुल्क लिन छाड्छौं’, उनले भने ।
रुपन्देहीको बेलहिया नाका हुँदै अहिले निषेधाज्ञा अघिजस्तो आयात छैन । निषेधाज्ञा अघि दैनिक ५० देखि ८० करोडसम्म राजश्व संकलन गर्ने भैरहवा भन्सार कार्यालयले अहिले अधिकतम १५ करोडसम्म मात्रै गरिरहेको छ । सवारी आयात ठप्प जस्तै छ भने कच्चापदार्थ, इन्धन जस्ता बढी आयात हुने वस्तु न्यून मात्रामा भित्रिएका छन् ।
यो नाका हुँदै निषेधाज्ञा अघि दैनिक चार सय बढी मालबाहक गाडी नेपाल भित्रिन्थे । तर, अहिले घटेर दैनिक १ सय ५० को हाराहारीमा अत्यावश्यक सामान बोकेका मालबाहक गाडी मात्रै भित्रिरहेको सूचना अधिकृत पासवानले बताए । नेपाल आउने मालबाहक गाडीमध्ये ८० प्रतिशत भारतीय गाडी छन् ।

‘आयात निकै घटेको छ । ठूला उद्योगले क्षमताअनुसार उत्पादन गरेका छैनन्, अर्कातर्फ बढी राजश्व संकलन हुने सामान आयात निकै कम भएको छ’, सूचना अधिकृत पासवानले भने, ‘बढीमात्रामा खाद्यान्न, तरकारी, फलफूल र औषधिजन्य वस्तुमात्रै आयात भएको छ ।’ सरकारले कोरोना महामारीका कारण देखाउँदै औषधिजन्य वस्तु र स्वास्थ्य उपकरण आयातमा पूर्णरुपमा भन्सार शुल्क छुट दिएको छ ।
चालु आर्थिक वर्षमा ९९ अर्ब ६५ करोड ७६ लाख राजश्व संकलन लक्ष्य पाएको भन्सारले बैशाखसम्म ९६ अर्ब ९१ करोड ४२ लाख असुली गरिसकेको छ । तर, निषेधाज्ञाका कारण बढी राजश्व संकलन हुने वस्तु नै न्यून आयात हुँदा राजश्व संकलन पनि गिरावट आएको छ ।
‘हामीले बैशाख भरिमा राजश्व लक्ष्य पूरा गरी जेठ र असारमा अतिरिक्त राजश्व संकलनको लक्ष्य राखेका थियौं तर महामारीले धक्का दियो’, पासवानले भने । रुपन्देहीमा वैशाख १६ देखि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । निषेधाज्ञामा दिउँसोमा मालबाहक सवारी चलाउन रोक छ ।
लेखकको सम्वन्धमा