अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र
लुम्बिनीः राष्ट्रिय गौरवको लुुम्बिनी विकास गुरुयोजना अन्तर्गत निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको फिनिसिङ (सौन्दर्यकरण)को काम भइरहेको छ । पहिलो चरण पूरा भएर दोस्रो चरणको धमाधम चलिरहेको छ । दोस्रो चरणको २६ प्रतिशत काम पूरा भइसकेको लुम्बिनी बिकास कोषले जनाएको छ ।
पहिलो चरणमा मुख्य पूर्वाधारको काम सकिएको थियो । दोस्रो चरणमा फिनिसिङ र सौन्दरीकरणको काम तिब्र रुपमा जारी छ । यहा“ ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा रहेको सभाहलको चारैतिरबाट पर्खाल (फसार्ड) निर्माण भइरहेको छ । चाईनिज इँटाको फसार्ड लगाउने काम पूरा हुन थालेको छ । हलमा भित्र पस्न ३ वटा सेन्सर ढोका र ५२ वटा हाते ढोका निर्माण भइरहेको छ । सेन्सर र हाते ढोका १३ मिटर र ढाई मिटर चौडाईका छन् । हल चारैतिरबाट ढाकिएपछि मनमोहक र चिरिच्याट्ट देखिएको छ ।
हलले ओगटेको ३८ हजार वर्गमिटरमा पर्खाल निर्माण भइरहेको छ । ७ सय ५० मिटर लम्बाईको पर्खालको साढे ७÷७ मिटरमा ९७ वटा बुद्धमूर्मि राखिने छ । बुद्धमूर्ति काठमाडौंमा तयार भइसकेको छ । कार्यक्रममा आउने विशिष्ट अतिथिका लागि दुई वटा वेटिङ रुम (भिआईपी कक्ष) निर्माण भइरहेको छ । ७ मिटर चौडा र १७ मिटर लम्बाईको कोठाका फाउण्डेसन र पिलरको काम भइसकेको छ । त्यस्तै दुई नम्बर गेटबाट सभा हल भित्र सर्वसाधारण र विशिष्ट अतिथि पुग्ने दुई वटा बाटो निर्माण भइरहेको छ । ८ मिटर चौडा र एक सय ६० मिटर लम्बाईको बाटोमा आरसिसि ढलान गरिनेछ ।
०७७ पुस १३ गते सम्झौता गरि १८ महिना भित्र काम सम्पन्न गर्ने गरि काम थालिएको हो । लुम्बिनी, अर्घाखा“ची बाबुल जेभीले ३४ करोड ९५ लाखमा दोस्रो चरणको ठेक्का लिएको हो । ‘अहिले द्रूत गतिमा काम भइरहेको छ,’ साइड इन्जिनियर वसन्त क्षेत्रीले भने, ‘हामी समय अघि नै सम्पन्न गछौं ।’
लुम्बिनी विकास कोष र सरकार पनि निर्माण काम गर्दा आई पर्ने समस्या समाधान गर्न निक्कै सघाएकोले उत्साहित भएर काम गरिरहेको उनले बताए । अहिले दैनिक एक सय ५० मजदुरले काम गरिरहेका छन् । कोरोना संक्रमण बढदै जादा सुरक्षा सतर्कता अपनाएर काम भइरहेको छ ।
पहिलो चरणको काम सम्पन्न भएसंगै ०७८ जेठ १२ गते परेको बुद्ध जयन्ती यही हलमै मनाउने गरि तयारी थालिएको थियो । बुद्ध जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको भ्रमण हुन सक्ने भन्दै रक्षा सचिव आएर हलको अवलोकन गरि फर्केका थिए । तर, कोरोना संक्रमण तीव्र भएकाले यो हलमा मनाउने भनिएको बुद्ध जयन्ती कार्यक्तम नै स्थगित भएको छ । राष्ट्रपति र प्रम आउने कार्यक्रम पनि लगभग स्थगित भएको कोषले जनाएको छ ।
लुम्बिनी विकास कोषले आईटी परियोजना अन्तर्गत हलमा इन्टरनेटका लागि राउटर पनि जडान गरिसकेको छ । पहिलो चरणमा हल संचालन गर्ने आधारभूत पुर्वाधारका संरचना बनाइएको थियो । लाईट एण्ड साउण्ड सिस्टमका लागि कन्ट्रोल रुम र पूर्वतर्फ उत्तर दक्षिण २ वटा शौचालय निर्माण पूरा भइसकेको छ । एउटा शौचालय बिल्डिङमा युरिनल र कमोट गरि २८ शौचालय छन् । ५ हजार अटाउने केन्द्र छाता शैलीमा बनाइएको छ । ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको राखिएको छ ।
६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथी हुन सक्ने इपिसएस प्यानल प्रयोग गरिएको छ । माथीको आवाज आउँदैन् । पानी चुहिँदैन् । शित झर्दैन् । हललाई सानो ठूलो आकारमा विभाजन गरेर कार्यक्रम पनि गर्न मिल्ने गरि बनाइएको छ । हलको भुईमा ४ वर्ग मिटरको व्लक बनाएर मोज्याक बिछयाइएको छ । एक जनाको लागि एक वर्गमिटर स्पेस छुटयाइएको छ । आउजाउगर्न २ मिटर चौडा ८ वटा बाटो बनाइएको छ । मेन्टेनेन्स फ्रि गर्न पिलरमा समेत मोज्याक लगाइएको छ ।
ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउ“ भएकाले भित्रै पुरै सेतो रंग लगाइएको छ । हलको भित्रतिर माथी पहेलो रंगको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ बत्ती जडान गरिएको छ । इन्टरनेटका राउटर र तार जोडिसकिएको छ । बाहिर छतको माथी टुप्पोमा बुद्धका आ“खा बनाइने छ । कुर्सी राखेर कार्यक्रम गर्न मिल्ने पनि छ । ‘अत्याधुनिक र सुविधा सम्पन्न हल मुलुककै पहिलो हो,’ लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भटराईले भने, ‘अब लुम्बिनीमा ठूलठूला कार्यक्रम गर्न सकिने भएको छ ।’ यसले राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लुम्बिनीले सक्छ भनेर देखाउँछ । शान्ति र पर्यटन प्रबद्र्धनमा राम्रो टेवा पुर्याउन सकिन्छ ।
लेखकको सम्वन्धमा