भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनुपर्नेमा जोड


भैरहवा– यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको वातावरण बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले सरकारी र निजी क्षेत्रबाट गरिनुपर्ने कामको खाका तयार पारी विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानमा पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।
बुधबार आयोजित विमानस्थल दिगो संचालनका बारे सरोकारवालाबीचको छलफलमा बोल्दै सहभागीले निजी र सरकारी लगानी जोखिममा रहेकाले विमानस्थलमा जसरी पनि नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने जनाए । विमानस्थलका निमित्ति महाप्रबन्धक श्यामकिशोर शाहले आर्थिक विकासका लागि निर्माण गरिएको विमानस्थल नियमति नचल्दा निजी क्षेत्र अप्ठ्यारोमा पर्नु स्वभाविक रहेको जनाए ।
उनले नियमित उडान भर्नका लागि सबै लागि रहे पनि सफलता पाउन नसकेको बताए । ‘अब आवश्यक कार्यालय खोल्नुपर्छ, अहिले उडान भरिरहेको विमानलाई नियमित गर्न निजी क्षेत्र लुम्बिनीसँगै अन्य स्थानहरुलाई जोडेर टूर प्याकेज र प्रचारप्रसार गर्नुपर्छ’, उनले भने, ‘यसमा हामी हातेमालो गर्न सधैं तयार छौं ।’ उनले विमास्थल दिगो संचालनका लागि निजी क्षेत्रसँग सहकार्य गरी सहजीकरण समिति बनाउनुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले स्थानीयस्तरमा विमानस्थल संचालनका लागि गर्नुपर्ने काममा आफूहरु प्रतिबद्ध रहेको जनाए । ‘छिमेकी पालिकासँग समन्वय, स्थानीय तहमा हुनुपर्ने काममा बजेट विनियोजन लगायतमा हामीले काम गर्छौं’, उनले भने, ‘यसका लागि सबैले साझा धारणा बनाएर काम गर्नुपर्छ ।’ उनले विमानस्थलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा जानुपर्नेमा जोड दिए । ‘किन विमान कम्पनी यहाँ आएनन्, यहाँ आउँदा के फाइदा छ’, उनले भने, ‘यी कुराहरु बुझाऔं, अनि लुम्बिनीसँगै अन्य गन्तव्यकाबारे प्याकेज बनाएर काम गरौं ।’
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल प्रबद्र्धनका लागि हातेमालो जरुरी रहेको जनाए । ‘पालिका, होटल व्यवसायी, ट्राभल एजेन्सीले गर्नुपर्ने काम बाँडौं र एउटा बलियो समिति बनाएर सरकारलाई समन्वय गर्न लागौं’, उनले भने, ‘कम्तिमा पर्यटक यहाँ ल्याउने, टिकाउने काममा लागौं ।’ उनले नियमित उडान हुने वातावरण बनाउन सबैले पहल गर्नुपर्ने जनाए ।
विमानस्थल संचालन महाशाखा प्रमुख मुरारीप्रसाद पौडलले दुई विशाल छिमेकी मुलुकमा रहेको नेपालले पर्यटनबाट प्रशस्त लाभ लिन सकिने जनाए । ‘रामायण सर्किट, महाभारत सर्किट र बैद्ध सर्किट जोडेर अन्तर्राष्ट्रिय प्याकेज बनाउनुपर्छ’, उनले भने, ‘यस्तो भएमा विदेशी विमान कम्पनी पनि यहाँ आउँछन् ।’ उनले भैरहवामा भिसा, मेडिकल सेन्टर लगायतका सुविधा नहुँदा पनि विमान कम्पनीले छुट सुविधा पाउँदा समेत यहाँ उडान भर्न नआएको जनाए ।
थाई एयर एसियाका सहायक प्रबन्धक सुनिल शाक्यले अप्रिलदेखि भैरहवामा उडान भर्न नसकिने जनाए । उनले अहिले सिजनका बेलामा समेत निकै कम यात्रु पाइरहेको जनाउँदै घाटामा हुँदा पनि सातामा दुई उडान भरिरहेको जनाए । ‘हामीले कुशीनगर झर्ने बौद्ध तिर्थयात्रीलाई भैरहवा आएर लुम्बिनी घुमेर त्यहाँ जान प्रबद्र्धन गरिरहेका छौं । थाइल्याण्डमा पनि प्रचारका काम गरेका छौं’, उनले भने, ‘तर, यात्रु पाइराखेका छैनौं ।’ उनले विभिन्न समूहलाई बोलाएर विमान भर्ने काम गरिरहेको सुनाए ।
यसलाई दिगो बनाउने हो भने भारतीय यात्रुलाई दिने नोअब्जेक्सन लेटर, भिसा, मेडिकल म्यानपावर लयातका सुविधा यही हुनुपर्ने बताए । यस्तै, यहाँका व्यवसायीले विभिन्न् प्याकेज बनाएर प्रबद्र्धनका काम गर्नुपर्नेमा जोड दिए । सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष किशोर जोशी, सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवाली, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा, पूर्वअध्यक्ष सागर अधिकारी, सोट्टोका पूर्वअध्यक्ष संजय बजिमय, लुम्बिनी विकास कोषमा सूचना अधिकृत हरिध्वज राई, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरे, संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा लगायतले बोल्दै कुनै पनि हालतमा थाई एयर एसियाका उडानलाई नियमित गर्नुपर्नेमा जोड दिए ।
यस्तै, उनीहरुले अन्तर्राष्ट्रिय बजारमा गएर प्रबद्र्धन गर्नुपर्ने, नेपालमा लुम्बिनीसँगै अन्य ठाउँलाई जोडेर प्याकेज बनाउनुपर्ने, बिलयो समिति बनाएर समन्वयकारी भूमिका खेल्नुपर्ने, हिमालयन र नेपाल एयरलाइन्सबाट उडान भर्न पहल गर्नुपर्ने बताए । कार्यक्रममा केही व्यवसायीले काठमाडौंका केही व्यवसायीले यहाँ विमानस्थल चल्न नदिएको गुनासो समेत गरे ।








लेखकको सम्वन्धमा