June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

आजदेखि भैरहवामा सातौं लुम्बिनी महोत्सव सुरु

Advertisement

भैरहवा–उद्योग व्यापार कृषि तथा पर्यटन प्रबद्र्धनका लागि बुधवार देखि भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ सुरु भएको छ ।

Advertisement

‘स्थानीय बजारमा खरिद गरी स्थानिय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मुल नाराका साथ उक्त महोत्सवको आयोजना चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन) ले गरेको हो । महोत्सवको सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा संविधान सभा सदस्य ईश्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेबाट एकसाथ उदघाटन गरेका थिए ।

उदघाटन पश्चात बोल्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले काठमाडौंका पर्यटन व्यवसायीसँग सरकारको नेतृत्वमा पुग्नेले व्यक्तिगत लाभका लागि बार्गेनिङ गर्ने परिपाटीका कारण भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको आरोप लगाए । ‘सरकारको नेतृत्वमा पुग्ने जिम्मेवार व्यक्तिले काठमाडौंमा रहेका पर्यटन व्यवसायीसँग बार्गेनिङग गर्दै सात पुस्तालाई पुग्ने उद्येश्य राखेपछि यो विमानस्थल ओझेलमा परको हो’ मन्त्री पाण्डेले भने, ‘तरपनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सधैभरि येही अवस्थामा नरहेर सञ्चालनमा आउने छ ।’

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पुर्ण सञ्चालनमा ल्याउनका लागि विगतमा लामो आन्दोलन गरेको उल्लेख गर्दै उनले आवश्यक परेमा अव पनि काठमाडौं केन्द्रित धर्नाका लागि आफु तयार रहेको उनले बताए ।

भैरहवा क्षेत्रमा बर्षेनी आयोजना हुने मेला महोत्सवका लागि स्थायी मण्डप तयार पार्न स्थानीय निकायले जमिनको व्यवस्थापन गरेमा निर्माणको जिम्मेवारी लिन आँफु तयार रहेको उनले बताए । जग्गा प्राप्तीको अधिकार स्थानीय निकायलाई भएको जनाउँदै उनले स्थायी मण्डपका लागि जमिन उपलब्ध भएको खण्डमा निर्माण गर्न नसके अवको निर्बाचनमा आँफु सहभागी नै नबन्नेसम्मको प्रतिबद्धता उनले जनाए ।

नेपालमा पर्यटन कै माध्यमबाट आर्थिक समृद्धि सम्भव रहेको बताउदै यसका लागि पर्यटक अगमनमा सहज र घुम्ने बातावरण हुनु पर्ने भनाइ उनको थियो । पर्यटन बिकासकालागि पर्यटकीय सोँच र योजनाको आवश्यकता रहेको बताए । हाम्रो त्रिवेणी हुँदै बग्दै गएको पानीलाई प्रयागराजमा पुगेपछि भारतले गंगाको नामबाट बिशाल कुम्भमेलाको आयोजना गरि आर्थिक समृद्धि हासील गरेको कुरा उनले उल्लेख गरे । ‘पर्यटन बिकासका लागि सोँच र योजना हुने हो भने लुम्बिनीको माटोलाई ट्याक्टर टिप्परबाट होइन एक–एक ग्रामको प्याकेट बनाएर बिदेशी मुद्रामा बेच्न सकिन्छ’ उनले भने, ‘हामीसँग पर्यटकीय स्थल बनाउनु पर्दैन । प्रकृतिले दिएको अथाह सम्पदा छन् ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँले भैरहवा र आसपास क्षेत्रको विकासकालागि सिद्धार्थनगर, रोहिणी, ओमसतिया, मायाँदेवी र सियारीलाई मिलाएर उपमहानगरपालिका वा महानगरपालिका बनाउन जरुरी रहेको बताए । सिद्धार्थनगर क्षेत्रको बिद्युतिय तार अण्डरग्राउण्ड गर्नका लागि उर्जा मन्त्री कुलमान घिसीङ सँग आँफुले कुराकानी गरेको र यसप्रति मन्त्री सकारात्मक रहेको उनले जनाए ।

अहिलेको शिथिल अर्थतन्त्रको वेलामा पनि यो महोत्सवको व्यवसायीमा उर्जा थप्ने काम गरेको उनले बताए । ‘गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा क्षेत्रकोमात्र नभएर नेपालकै अर्थतन्त्रलाई धेरै माथि लैजान सक्ने संरचना हो’ उनले भने, ‘यस विमानस्थलको माध्यमबाट पर्यटन मात्र नभएर हरियो तरकारीको प्रचुर मात्रामा उत्पादन गरि कार्गो गरि बिदेश निर्यात गरेर कृषिबाटपनि उत्तिकै राष्ट्रले फाइदा लिन सक्छ ।’

आउदो मंसिर २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा उद्योगतर्फ १ सय, कृषि २०, पर्यटन ४०, संघसंस्था २०, बैंक बित्तिय १० र व्यापार तर्फका १ सय ६० गरि ३ सय ५० वटा स्टल रहने छन् ।
महोत्सवका लागि गरिने अनुमानित लगानी १ करोड रुपैयाँ छ भने १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवबाट ५ करोड रुपैयाँको कारोवार हुने लक्ष्य राखिएको छ । यो महोत्सवको बिशेष आकर्षण जलपरी, फिसटनेल, बालउद्यान र स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती छ ।

महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले राज्यबाट उपयुक्त नीति नभएकाले निजी क्षेत्र निराश भएको र लगानीको बातावरण नबनेको बताए । भैरहवा क्षेत्रको आर्थिक बिकास र लगानीकालागि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल यथासिघ्र सञ्चालन हुनु पर्ने, पर्यटकिय रिङरोड र मेट्रोसिटीको निर्माण, एकिकृत जाँच चौकी (आइसीपी) को द्रुत गतीमा निर्माण गरि सेवा प्रवाह, सेजमा बिद्यमान समस्याको समाधान, भैरहवा मण्डपको निर्माण र छपियाको माछालाई ब्राण्डिङ गरि बिदेश निर्यात हुनु पर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासँघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले राजनीतिक स्थिरता र अव हुने निर्बाचन नै मुलुकको सफल अर्थतन्त्र र उद्यमशिलता विकासको एकमात्र बिकल्प भएको बताए । सफल अर्थतन्त्र र उद्यमशिलता विकासका लागि अवको निर्बाचनमा राजनीतिक दलहरु सच्चिएर पुस्तान्तरण हुनु जरुरी भएको उनले बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले नेपालकै महत्वपुर्ण सिमानाका, लुम्बिनी र अन्तराष्ट्रिय विमानस्थल रहेका कारणले आयोजना गरिएको यो महोत्सवले नेपालकै लागि सार्थक पहिचान दिन सक्नु पर्ने बताए । नीजिक्षेत्र मैत्री कानुन निर्माण गर्न तीन तहकै सरकारको ध्यान जान जरुरी भएको भनाइ उनको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेलवासेले प्रदेश सरकारले गर्नु पर्ने कामहरु गर्न नसकेको आरोप लगाउदै भैरहवामा स्थायी मण्डप निर्माणका लागि आफ्नो पहल रहने जनाइन् । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महोत्सवको मञ्चमा रहेका कतिपय व्यक्तिनै सामान किनमेलकालागि भारत जाने गरेको दावी गरिन् ।

लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले नव उद्यमीलाई यस महोत्सवले प्रोत्साहित गर्नु पर्ने र स्वदेशी उत्पादित बस्तुको पहिचान दिन सक्नु पर्ने बताए । महोत्सवको उद्घाटन हुनु पुर्व स्थानिय विभिन्न बिद्यालय तथा संघ संस्थाको झाँकी सहितको र्यालीले नगर परिक्रमा गरि महोत्सव स्थलमा पुुगेको थियो ।