राजस्व चुहावट आशंकामा रूपन्देहीका क्यासिनोलाई राजस्व अनुसन्धानको ९ प्रश्न


भैरहवा– राजस्व अनुसन्धान कार्यालय, बुटवलले रुपन्देहीमा संचालित क्यासिनोहरुलाई विभिन्न विवरण माग गर्दै ९ वटा प्रश्न सोधेको छ । राजस्वले लाभकर लगायतका अन्य कर तिरे–नतिरेको र कर छली हुनसक्ने विषयलाई समेटेर विवरण माग गरेको हो ।
प्रमुख राजस्व अनुसन्धान अधिकृत सुवास श्रेष्ठले यही कार्तिक १९ गते पत्र काट्दै सबै क्यासिनोलाई विवरण पेस गर्न भनेका छन् । राजस्व चुहावट कसुर–नियन्त्रणको विषयमा आवश्यक जानकारी लिनुपर्ने भएकाले आर्थिक वर्ष २०८१–८२ देखि चालु आवसम्मको विवरण पेस गर्न भनिएको छ ।
यस्तै, राजस्व अनुसन्धानले पत्र प्राप्त भएको मितिले तीन दिन भित्र कार्यालयमा विवरण पेस गर्न समेत ताकेता गरेको छ । प्रमुख राजस्व अनुसन्धान अधिकृत श्रेष्ठले लाभकर र कर छलीका विषयमा बुझ्नका लागि विवरण माग गरिएको जनाए । उनले आवश्यक परे सीसीटीभी फुटेजहरु समेत विश्लेषण गरिने बताए । उनका अनुसार शुक्रबार भैरहवाको होटल लाकौलमा संचालित ह्याप्पी आवर प्रालिको ह्याप्पी आवर ग्यामिङ क्लब (क्यासिनो) र कोटिहवास्थित टाइगर प्यालेस बाई सोल्टीमा संचालित क्यासिनोले मात्रै विवरण पेस गरेका छन् । जिल्लामा सात वटा क्यासिनो संचालित छन् ।
राजस्वले क्यासिनोलाई कुन प्रकारको इजाजत प्राप्त भएको हो, सो अनुसार भइरहेको खेलको विवरण, क्यासिनो नियमावली, २०८२ को नियम १४ को उपनियम २ बमोजिमको विवरण, क्यासिनो नियमावली, २०८२ को नियम १८ बमोजिमको विवरण, नगद वा वित्तीय कारोवारको विवरण, आकस्मिक लाभकर दाखिला विवरण माग गरेको छ ।
यस्तै, आधार कार्ड प्रयोग गरि प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटहरुको कारोवार भएको छ–छैन सो को विवरण, सीसीटीभी क्यामेराको अभिलेख कम्तिमा छ महिना सुरक्षित राख्नु पर्ने कानूनको पालना भएको छ–छैन र गत आवको कर चुक्ता तथा चालु आवको इजाजत पत्र नविकरणको विवरण माग गरेको छ ।
राजस्वले क्यासिनोहरुमा नेपाली प्रवेशको आशंका समेत गरेको देखिन्छ । यस्तै, प्रतिबन्धित भारतीय रकम पनि कारोबारको आशंका गरेको छ । भारतीय लक्षित खोलिएका यहाँका क्यासिनोमा खुलेयाम भारतीय पाँच सयका नोटको कारोबार हुने गरेको छ । उक्त नोट नेपालमा प्रतिबन्ध छ । यस्तै, नेपाली प्रवेश पनि दैनिक बढ्दो छ ।
सरोकारवालाले खुलेयाम भारतीय प्रतिबन्धित नोटको कारोबार र नेपाली प्रवेश गराइरहेका क्यासिनोहरुलाई राजस्व अनुसन्धानले विवरण मात्रै माग गर्छ की वास्तविक अनुसन्धान पनि गर्छ भन्ने लेखाजोखा सुरु भएको बताउँछन् । श्रेष्ठले प्रतिबन्धित नोटको कारोबार, कर छली, लाभकर नतिरेको पाइए सीसीटीभी फुटेज हेरेर भए पनि कारबाही गरिने बताए ।








प्रतिकृया दिनुहोस्