गुल्मीमा मदानेमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती


गुल्मी– स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका लागि दिँदै आएको विद्युत् महसुल अनुदान रकम गुल्मीको मदाने गाउँपालिकाले कटौती गरेको छ । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं अर्थ मन्त्रालयद्वारा सार्वजनिक खर्च कटौती र वितरणमुखी कार्यक्रम सञ्चालन नगर्न परिपत्र गरेसँगै गाउँपालिकाले उक्त अनुदान रकम उपलब्ध गराउन नसक्ने निर्णय गरेको हो ।
अनावश्यक खर्च कटौटी गरी मितव्ययिता नीति लागू गर्ने जनाउँदै मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ देखि अर्को निर्णय नभएसम्म अनुदान रकम उपलब्ध गराउन नसकिने भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पाण्डेले बताए ।
पछिल्लो स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाले गत वर्षदेखि प्रत्येक घरधुरीलाई प्रतिमहिना २० युनिट बराबरको विद्युत् महसुलमा अनुदान उपलब्ध गराउँदै आइरहेको थियो ।
सङ्घीय सरकारको निर्देशनका कारण पालिकाले उक्त निर्णय गर्नुपरेको भन्दै गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले सरकारले नागरिकले उपभोग गर्दै आएको सुविधा कटौटी गर्दा त्यसको अपजस सबै जनप्रतिनिधिले व्यहोर्नुपर्ने अवस्था आएको बताए । यसले विपन्न नागरिक र सामुदायिक खानेपानी योजनामा केही आर्थिक समस्या पर्ने कुँवरले जनाए ।








प्रतिकृया दिनुहोस्