रोहिणीमा साढे ५ सयलाई जग्गाधनी पूर्जा


भैरहवा– रूपन्देहीको रोहिणी गाउँपालिकाले साढे ५ सय भूमिहीन लगायतलाई जग्गा धनी पूर्जा वितरण गरेको छ । रोहिणी–६, मा आइतबार आयोजित कार्यक्रममा ५ सय ५० जना स्थानीयलाई लालपूर्जा वितरण गरिएको थियो ।
पछिल्लो समय सरकारले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिक आदेश जारी गरेको थियो । स्थानीय बासिन्दासँग जग्गाधनी पूर्जा नहुँदा समस्या झेल्नु परेपछि लालपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
पूर्जा प्राप्त गरेपछि स्थानीयले ढुक्कसाथ आफ्नो जग्गा उपभोग गर्न पाउने उनले बताए । ‘गत वर्ष ४ सय ५० जनालाई बाँडेका थियौं,’ उनले भने,’ यसपटक ठूलो प्रयासपछि स्थानीयले जग्गाधनी पुर्जा पाए । यसले उनीहरूका सन्ततिलाई समेत सहज हुनेछ ।’
नापी कार्यालय रूपन्देहीका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीले जग्गाधनी प्रमाणपुर्जा क्रमशः सबै वडामा वितरण गरिने बताए । उनले नागरिकले आफ्नो भनेर जोतभोग गरिरहेको जमिन कानुनतः आफ्नो बनाउन पाउँदा उनीहरूमा देखिने खुसीले सकारात्मक भाव छोड्ने बताए ।








प्रतिकृया दिनुहोस्