प्रतापपुर गाउँपालिकाले हटायो ९२ जना कर्मचारी


भैरहवा–केन्द्र सरकारको परिपत्र अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कात्तिक १ गतेदेखि ९२ जना कर्मचारी कटौती गरेको छ ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पालिकालाइ कर्मचारीको आवश्यकता हुँदाहुँदै पनि कात्तिक १ बाट लागू हुने गरेर पालिकाले करार तथा ज्यालादारी कर्मचारी हटाइएको जनाए ।
उनका अनुसार, पालिकाको शिक्षा शाखाअन्तर्गतका ६१, स्वास्थ्य शाखाका ११ र पालिका तथा वडा कार्यालयमा कार्यरत २० जना कर्मचारी हटाइएको हो ।
केन्द्रबाट ज्यालादारी तथा करार कर्मचारी कटौती गर्नुपर्ने र आन्तरिक आयले मात्र करार र ज्यालादारी कर्मचारीलाई सुविधा दिनु भन्ने परिपत्रअनुसार कर्मचारी कटौती गर्नु परेको भनाइ यादवको छ ।
‘ति कर्मचारी कटौती गरेपछि अब हामीलाई कर्मचारी अभाव भएको छ’ यादवले भने, ‘पालिकालाई आवश्यक पर्ने कर्मचारी र जनशक्ति प्रदेश र केन्द्र सरकारले व्यवस्था गर्नु पर्दछ ।’
पालिकाको आन्तरिक श्रोत १ करोड ३० लाख रुपैँयामात्र रहेको र केन्द्रले पठाउने बजेटबाट तलब भुक्तानी गर्न नपाउँदा आन्तरिक आयले मात्र करार तथा ज्यालादारी कर्मचारीको खर्च व्यवस्थापना गर्न नसक्ने पालिकाले जनाएको छ ।
केन्द्र सरकारले खर्च कटौती गर्ने भन्दै ज्यालादारी र स्वीकृत दरबन्दीबाहेकका कर्मचारी हटाउन परिपत्र गरेको भएपनि पश्चिम नवलपरासीका अन्य पालिकाले कार्यान्वयन गरेका छैनन् ।








प्रतिकृया दिनुहोस्