July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

पक्की पुल निर्माणपछि वर्षामा पनि यात्रा सहज

Advertisement

गुल्मी– गुल्मीको तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग अन्तर्गत चार स्थानमा पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माणपछि वर्षातको समयमा पनि सवारी आवागमन सहज भएको छ । ६ वर्षअघि कालोपत्र गरिएको राजमार्गको हुलाके, धनार्जी, फूलबारी र घमिरका खहरे खोलामा पुलको अभावमा सवारी साधन र पैदल यात्रुलाई समस्या हुने गथ्र्यो ।

Advertisement

प्रत्येक वर्षातमा खोलामा पानी बढ्दा यात्रुलाई जोखिमपूर्ण यात्रा गर्नु पर्ने अवस्था थियो । तर, हालै पक्की पुल निर्माणसँगै सवारी साधन अवरोधविना आवत–जावत गर्न थालेका छन । यस वर्षको वर्षातमा पनि सवारीसाधन नियमित रूपमा चलिरहेका छन । जसले स्थानीयवासी तथा यात्रुलाई ठूलो सहजता प्रदान गरेको छ । पुल निर्माणले पश्चिम गुल्मीका बासिन्दाको दैनिक जीवनमा सकारात्मक प्रभाव पारेको छ ।

पक्की पुलले दुर्गम मानिएको पश्चिम भेगको यात्रालाई सुगम तुल्याएको मालिका–६ का स्थानीय ओमबहादुर कार्कीले जनाए । ४ वटा पुल मध्ये फूलबारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले काम गरेको हो । हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले काम गरेको थियो ।

पक्की पुल नबन्दा वर्षातको समयमा पश्चिम गुल्मीका कैयौं नागरिक बिरामी पर्दा समेत खोला किनारमै बसेर खोला घटेपछि तर्नुपर्ने बाध्यता थियो । अब भने त्यो अवस्थाको अन्त्य भएको मालिका–६ का पूर्ववडाध्यक्ष एवं स्थानीय शोभाखर गिरीले जनाए ।

अब पुल निर्माण पछि यहाँका नागरिकमा खुसियाली थपिएको उनको भनाई छ । घमिर खोलमा १५ मिटर लम्बाइको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको मदन भण्डारी राजमार्ग आयोजना गुल्मीले जनाएको छ । फूलबारी खोलामा २० मिटर लम्बाइको पुल निर्माणका लागि ३ करोड ३२ लाख ६८ हजार लागत लागेको छ । धनार्जी रोधी खोलामा बनेको ३५ मिटर लम्बाइको पुल निर्माणका लागि ७ करोड ४८ हजार र हुलाके खोलामा २५ मिटर लम्बाइको पुल निर्माणका लागि ५ करोड ७९ लाख ५३ हजारको लागत लागेको छ ।