चाडपर्वले धानिएको बटौलीको व्यापार

भैरहवा– एकसमय ‘होलसेल’ व्यापारमा पश्चिम नेपालकै व्यापारिक केन्द्र बुटवलको एकलौंटी थियो । साविक लुम्बिनी र राप्ती अञ्चलमात्र नभएर कर्णाली र सुदूरपश्चिमसम्मका व्यापारी किनमेल गर्न बटौंली बजार आउँथे । जसलेगर्दा बुटवलमा नुनदेखि सुनको बजार फष्टाएको थियो । लत्ताकपडा र खाद्यान्न यहीँबाट पहाडी जिल्लामा आपूर्ति गरिन्थ्यो ।
मुलुकमा संघीयता कार्यन्यवनसँगैं स्थानीय सरकार सञ्चालनमा आए । ग्रामीण क्षेत्रमा पालिकाका केन्द्र खडा भए । त्यससँगै बजार बिस्तार हुन थाले । जसले गर्दा परम्परादेखि किनमेलका लागि बटौंली बजार आउने व्यक्ति पालिकाका बजारबाटै समान खरिद गर्न थाले । त्यसको प्रभाव बुटवल लगायत पूर्व–पश्चिम राजमार्ग आसपासका बजारमा देखिन थालेको छ । अहिले रुपन्देही र आसपासका बजार चाडपर्वमा मात्रै चम्किन थालेका छन् । पहिले बाह्रैमास व्यापारमा व्यस्त रहने जिल्लाका व्यापारी अहिले विशेष अवसर र चाडवाड कुर्न बाध्य छन् ।
यसपटक पनि बुटवल र आसपासका बजारमा चाडबाड सुरु भएसँगैं उपभोग्य समान र लत्ताकपडा किनमेल गर्नेकाकारण चहलपहल देखिन्छ । ‘पहिले बाह्रै महिना किनमेल गर्नेको घुइँचो हुन्थ्यो,’ बुटवलको अमरपथमा पशल सञ्चालन गरिरहेका रामप्रसाद पोखरेलले भने, ‘अहिले व्यापार गर्न कि मेला लगाउनु पर्यो, हैन भने चाडवाड पर्खिनु परिरहेको छ ।’ गाउँसम्म सहज सडक र बाटोघाटोको पहुँले पनि व्यापारिक केन्द्र परिवर्तन भएको उनले बताए ।
सर्वसाधरणले पनि चाडबाडमै आवश्यक घरासयी सामान र लत्ताकपडा खरिद गर्छन् । जसले गर्दा पनि चाडपर्वमा व्यापार धेरै हुन्छ । यस्तै मध्येकी हुन् गुल्मीको ईस्मा गाउँपालिका–३, कि सुशिला नेपाली । बुटवल–११, मझुवामा अस्थाई बसोबास भएकी उनले आफू र बच्चाका लागि दशैं अगाडि लुगा खरिद गरेको सुनाइन् । वर्षदिनको चाडमा छोराछोरीले नयाँ लुगा लगाउन रहर गर्ने, आफूलाई पनि सपिङ गर्न मनपर्ने भएकाले किनमेल गरेको उनको भनाई छ । ‘अघिपछि धोइवरी लुगा लगाएपनि हुन्छ,’ उनले भनिन्, ‘चाडपर्वमा त नयँ लुगा नभई छोराछोरीले मान्दैनन्, उनीहरुलाई निराश बनाउन मन लाग्दैन ।’ एकैपटक सबैलाई कपडा तथा अन्य सामाग्री खरिद गर्दा धेरै खर्च भए पनि चाडबाडको बेला भनेर किन्ने गरेको उनले बताइन् ।
पाल्पाको रिब्दीकोट–४, की रनमाया मगरले बुटवलमा तरकारी र सालको पात विक्र ि गर्छिन् । घरमै फलेको कागती, खुर्सानी र पात बेचेर गुजारा चलाउने गरेको उनले बताइन् । ‘चाडबाड आयो भनेर खुसी लागेको त छ, तर व्यापार त्यती छैन,’ उनले भनिन्, ‘पातको टपरी गाँसेर विक्रि गर्छु, त्यसको राम्रो व्यापार छ ।’ दसैं र तिहारमा पूजाआजाका लागि टपरीको माग हुने भएकाले टपरी गाँसिदिन अर्डर आउने गरेको उनले बताइन् । बिहानै घरदेखि आउने र राति फर्कने उनले व्यापारबाट दैनिक ५ हजारजति बचाउने गरेको बताइन् ।
बजारमा पोहोर जस्तो मान्छे हुवात्तै आएको नदेखिए पनि दैनिक उपभोग्य वस्तु भएकाले आफ्नोमा व्यापार भएको उनको भनाई छ । चाडपर्वका बेला मानिस नयाँ लुगा, नयाँ भाँडाकुँडा र नयाँ सवारी किनेर भित्र्याउने गर्छन् । यस बेला सामान खरिद गर्दा भगवानको आशीर्वाद लाग्ने विश्वाससाथ खरिद गर्ने गरेको तिलोत्तमा–१, की भगवती सुवेदीले बताइन् ।
चाडपर्वलक्षित गरि रुपन्देहीका बजारमा कपडाका पसलमा, सवारी साधनमा र खाद्यान्नमा पनि सस्तो बजार सुरु भएका छन् । मानिसलाई सुविधा र सस्तो पर्ने भएकाले खरिद गर्नेहरु पनि बजारमा देखिने गरेका छन् । विशेषगरि लुगाका पसलमा मानिसको अधिकतम भीड बढ्दै गएको छ ।
प्रतिकृया दिनुहोस्