October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

काँग्रेसमा विशेष महाधिवेशन गर्ने र चुनाव पछिसम्म धकेल्ने खेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भदौ २४ देखि कुनै पनि सार्वजनिक समारोहमा देखिएका छैनन् । जेनजी आन्दोलनको दोस्रो दिनमा उनको निवास बूढानीलकण्ठ पुगेका आन्दोलनकारीले देउवा दम्पतीलाई निर्घात कुटपिट गर्दै निकालेर घरमा आगजनी गरेका थिए ।

Advertisement

कुटपिटबाट घाइते भएका देउवा र आरजू राणा दुवै उपचारपछि काठमाडौंको एक घर भाडामा लिएर बसेका छन् । कांग्रेसभित्रैबाट पनि नेतृत्व छाड्न लगातार दबाब बढिरहेको भए पनि देउवा अझै तयार नभएको उनी निकट एक नेताले बताए ।

अनौपचारिक कुराकानीमा उनले भने, “कार्यवाहक दिएर जान उहाँ तयार हुनुहुन्छ तर अहिले घाइते अवस्थामा जसरी नेतृत्व छाड्न दबाब दिइएको छ । यो मान्य हुँदैन ।”

ती नेताले दिएको जानकारीअनुसार कार्यवाहक दिनुपर्ने अवस्था नभए पनि दबाब बढ्न थालेकाले देउवा तयार भएका हुन् । देउवा अहिले उनीनिकट केही नेताहरुसँगमात्रै फोन सम्पर्कमा छन् । २६ गते कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कार्य सम्पादन समितिको बैठकमा पनि देउवाले नेतृत्व छाड्ने घोषणा नगरे त्यसपछि अहिलेसम्म गराइएको हस्ताक्षर बुझाउने तयारी छ ।

“हामीले ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गराइसकेका छौँ,” एक पदाधिकारीले भने, “सभापतिले त्यस बैठकमा पनि छाड्ने घोषणा नगरे हामीले त्यो हस्ताक्षर बुझाउनेछौँ ।”

उनका अनुसार त्यसबेलासम्म देउवाले नछाडे के गर्ने भन्ने विषयमा सोमबार पनि कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र गगन थापाबीच लामो छलफल भएको थियो । दुवै नेता मिलेर अघि बढ्ने विषयमा छलफल भएको उनीनिकट स्रोतहरुले बताएका छन् ।