जेनजी आन्दोलनमा लुम्बिनीका २५९ सरकारी तथा निजी भवनमा क्षति

भैरहवा – गत भदौ २४ को जेनजी प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशका ७ जिल्लामा भएको तोडफोड र आगजनीका क्रममा सरकारी, निजी, विभिन्न व्यापारिक प्रतिष्ठान, संघसंस्था र पार्टी कार्यालयहरु गरि २ सय ५९ कार्यालय र भवनमा क्षति पुगेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार १ सय ३१ सरकारी भवन, ७३ निजी तथा व्यावसायिक प्रतिष्ठान, ४१ पार्टी कार्यालय तथा संघसंस्थाका भवन र १४ वटा प्रहरी कार्यालयसहित २ सय ५९ भवनमा क्षति पुगेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीका अनुसार प्रदर्शनबाट सरकारी संरचनातर्फ सबैभन्दा बढी दाङमा क्षति भएको छ । व्यावसायिक प्रतिष्ठान र निजी भवनतर्फ रूपन्देहीमा बढी क्षति भएको छ । दाङमा मात्र ४१ सरकारी भवनमा तोडफोड र आगजनी भएको छ । दोस्रोमा रूपन्देहीमा ३४ सरकारी भवनमा क्षति भएको छ ।
बाँकेका २३, त्यस्तै नवलपरासी पश्चिमका २१, कपिलवस्तुका ६, अर्घाखाँचीका ५ र बर्दियाको एउटा सरकारी कार्यालयमा क्षति पुगको प्रहरीले जनाएको छ । ‘अहिलेसम्म सरकारी, निजी, व्यवसायी प्रतिष्ठान र संघ संस्थाहरुमा भएको क्षतिको विवरण मात्र संकलन भएको छ,’ उनले भने, ‘क्षति भएका जिल्ला स्थित प्रहरी कार्यालयहरुले अहिले मुचुल्का तयार गर्ने र क्षतिको मुल्याङ्कन गर्ने क्रम बल्ल सुरु भएकाले कति मूल्यको क्षति भयो भन्ने विवरण अझै उपलब्ध भएको छैन ।’
उनले धेरै सरकारी कार्यालयले आफ्नै भवन सामान्य मर्मत गरेर सेवा सुरु गरेको र झन्डै ३ दर्जन सरकारी कार्यालयबाट सेवा प्रवाह हुन नसक्ने विश्लेषण गरिएको बताए । आगजनी र तोडफोडबाट ३३ सरकारी भवन, १८ निजी भवन, १० पार्टी कार्यालयसहित ६१ वटा भवन पूर्ण रुपमा ध्वस्त भएका छन् ।
प्रदर्शनमा लुम्बिनी प्रदेशका ७३ नीजि तथा व्यावसायिक भवनमा तोडफोड, आगजनी र लुटपाट भएको छ । नवलपरासी पश्चिममा २३ वटा निजी भवनमा तोडफोड र लुटपाट भएको छ । दाङमा १२, बाँकेमा ३, बर्दियामा २, अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, रुपन्देहीमा २५ वटा निजी भौतिक संरचनामा तोडफोड, आगजानी र लुटपाट भएको थियो । राजनीति दलका पार्टी कार्यालयसहित विभिन्न संघसंस्थाका गरी ४१ वटा भवनमा आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १४ वटा प्रहरी कार्यायलमा समेत तोडफोड भएको छ ।
प्रतिकृया दिनुहोस्