September 29, 2025, Monday
२०८२ आश्विन १३ सोमबार

केन्द्रदेखि वडासम्मै पार्टी पुनर्गठन गर्न रास्वपा लुम्बिनीको प्रस्ताव

भैरहवा– मुलुकमा राजनीतिक दलमा पुनःसंरचनाको माग बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिले केन्द्रदेखि वडा तहसम्मै पार्टी पुनर्गठनको प्रस्ताव गरेको छ । गत भदौं २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा रास्वपाको भूमिकालाई लिएर टिकाटिप्पणी भइरहेका बेला प्रदेश समितिले यस्तो प्रताव गरेको हो ।

Advertisement

रास्वपा लुम्बिनीका महामन्त्री नीलराज अधिकारीले असोज ४ गते बसेको बैठकको निर्णय केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीलाई जानकारी गराउँदै पार्टी पुनर्गठनको सुझाव पठाएका हुन् । प्रदेश समितिले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक अविलम्ब गर्न अनुरोध गरेको छ । बैठकले केन्द्रीय समिति पूर्ण रूपमा परिमार्जन गर्ने अधिकार प्राप्त गर्नुपर्छ भन्नेमा प्रदेश समिति स्पष्ट रहेको जनाएको छ ।

‘केन्द्रदेखि वडा समितिसम्म पूर्णरूपमा पुनर्गठन गर्दै अब निर्वाचनको तयारीमा जुट्नुपर्दछ भन्ने हाम्रो मत रहेको छ,’ प्रदेश समितिले पठाएको सुझावमा उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशले आगामी निर्वाचनको लागि उम्मेदवार छनौटको कार्यविधि संशोधन गर्न समेत माग गरेको छ । कार्यविधि संशोधन गरेर जिल्ला सभापति सहितलाई उम्मेदवार छनौटको अधिकार दिन प्रदेश समितिले केन्द्रको ध्यानाकर्षण गराइएको छ ।

लुम्बिनी प्रदेशले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जनमत संग्रह गराउन माग गरेको छ । ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता विषयमा जनताको अभिमतबाट टुंगो लगाउनुपर्छ भन्नेमा पार्टी उभिनुपर्छ भन्ने हाम्रो मत रहेको छ,’ महामन्त्री अधिकारीले भने ।

यस्तै, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सभापति रवि लामिछानेलाई लिन सचिवालय नै नख्खु कारागार जाँदा पार्टीलाई ब्याक फायर भएको जनाएका छन् । उनले प्रदेश समिति बैठकमा केन्द्रीय पदाधिकारी नै आगजनी स्थल नख्खु कारागारमा देखिने भिडियोबारे वास्तविकता बताउनसमेत माग गरेका छन् ।

गत भदौ २४ गते नख्खु कारागारबाट सभापति लामिछाने निकालेपछि आगजनी भइरहँदा उक्त स्थलमा पार्टी प्रवक्ता मनिष झा नै देखिएको भन्दै आलोचना भइरहेको छ । भाइरल भइरहेको भिडिओमा कसैले झालाई नख्खु कारागार गेटमा आगजनी गरेकोबारे सोध्छन्, जबाफमा उनले हामीले गरेको होइन भनेको सुनिन्छ ।