परासीबाट फरार ५ सय ७० मध्ये १ सय ८६ कैदीबन्दी फर्किए

परासी–गत भदौ २५ गते कारागार ताडेर पश्चिम नवलपरासीबाट फरार ५ सय ७० जना कैदीबन्दीमध्ये १ सय ८६ जना मात्र फर्किएका छन् । गत भदौ २५ गते बिहान कारागारमा हुलदङ्गा र नाराबाजी गरेर त्यहाँ रहेका सबै ५ सय ७० जना कैदीबन्दी भागेका थिए । बिहीबार साँझसम्म करिब दुई सय कैदीबन्दीमात्रै फर्किएको कारागारले जनाएको छ ।
कारागारका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार १ सय ७५ जना बन्दी अट्ने कारागारमा ५ सय ७० जना राखिएको थियो । क्षमता भन्दा चार गुणा बढी बन्दी राखिएको अवस्थामा हुलदङ्गा गरेर बन्दी फरार भएका थिए । गत भदौ २४ र २५ गते देशभरि जेन–जीको आन्दोलन हुँदा देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका थिए ।
कमजोर सुरक्षा व्यवस्था भएको मौकाको फाइदा उठाउँदै जिल्ला सदरमुकाम परासीका कैदीबन्दी गत २५ गते बिहानै भागेका थिए । कारागारमा बन्दी रहेका मध्ये धेरैजसो जबरजस्ती करणी र ठगी काण्डमा संलग्न रहेका थिए ।
कारागारमा २० जना सुरक्षाकर्मीको दरबन्दी छ । जेलमा त्यतिखेर हुलदङ्गा गरेर कैदीबन्दी फरार भएपछि नेपाली सेनाको टोली आएर हाल सुरक्षा दिइरहेको छ । फरार रहेका बन्दीहरूको घरघरमा सम्पर्क गरेर तत्काल कारागारमै फर्काउन उर्दी गरिएको चौधरीले जानकारी दिए । कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै देशभरिका कारागारबाट बन्दी भागेका थिए ।
प्रतिकृया दिनुहोस्