September 19, 2025, Friday
२०८२ आश्विन ३ शुक्रबार

विष्णु पौडेलद्वारा आफ्नो हिस्साका गल्ती, कमजोरीप्रति क्षमायाचना

भैरहवा- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गरेका छन् ।

Advertisement

संविधान दिवसका अवसरमा दिनु भएको सन्देशमा पौडेलले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने भन्दै युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताए ।

उनले जेन्जी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न पनि सरकारसँग माग गरेका छन् ।

यस्तो छ पौडेलको भनाई

–जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरूमा समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । 

–सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्री परिषद्बाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजी क्षेत्रका संरचनाहरूको पुनर्निर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जस्ता महत्त्वपूर्ण अभिभारा पुराउन सकुन् भन्ने अपेक्षा गर्दछु । 

–जेन्जी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गर्दछु । 

–जनताको, विशेषगरी युवा पुस्ताको आकाङ्क्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मुख्य कारणहरू हुन् । तर आन्दोलनका क्रममा भएको हत्या–हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ । 

–विगतमा नेकपा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु । 

–अब हाम्रो सामु जनतासंग, विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ । तदनुरुप पार्टीको सङ्गठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु । 

–आज असौज ३ गते, संविधान दिवसको ऐतिहासिक दिन । विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिन सकौँ । आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सकौँ । सबैमा संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

विष्णुप्रसाद पौडेल

उपाध्यक्ष, केन्द्रीय कमिटी

नेकपा एमाले

असौज ३, २०८२