September 17, 2025, Wednesday
२०८२ आश्विन १ बुधबार

तोकिएकै मितिमा निर्वाचन हुनुपर्छः डा.भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् ।

Advertisement

उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने उल्लेख गरे । तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताए । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको बताए ।

पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूकै उकुसमुकुस रहेको स्पष्ट पारे । आगामी दिनमा एउटा बृहत् खालको राजनीतिक पुनर्संरचना हुनुपर्ने जरुरी देखिएको उल्लेख गरे । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष समेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनर्संरचना सम्भव रहेको पनि जिकिर गरे ।

“बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन । निश्चित मितिमै चुनाव गर्नुपर्छ । त्यसको निम्ति दलहरू चाहिन्छन् । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुराना दलहरूको पुनर्संरचना हुन्छ जस्तो मलाई लाग्दैन । त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाती पुस्ता आइसक्यो । त्यहाँका नेताहरूको जुन उकुसमुकुस छ । मेरो अनुमान आगामी दिनमा एउटा बृहत् खालको राजनीतिक पुनर्संरचना हुन्छ । त्यसो हुनसक्यो । जेनजी भन्ने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव छ । कहिले कहीँ भुइँको टिप्छुभन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले शतर्क गराउँदै आएको पनि छु,” उनले भने ।

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधिसभा विघटन गलत भएको बताउँदै आएका छन् ।