September 16, 2025, Tuesday
२०८२ भाद्र ३१ मंगलवार

नेपालमा पर्यटन जीवनरेखा हो, सुरक्षित गरौं

नेपाली पर्यटन क्षेत्रले मुलुकका हरेक संकटमा सधैँ बलिदानी दिएको छ । पर्यटन– सबैभन्दा पहिले ढल्ने, सबैभन्दा पछाडि उठ्ने क्षेत्र बनेको छ । नेपालमा पर्यटन कुनै साधारण व्यवसाय होइन– यो जीवनरेखा हो । चाहे त्यो विश्वव्यापी महामारी होस् (जस्तैः कोरोना) वा आन्तरिक आन्दोलन र अस्थिरता– हरेक संकटमा एउटा क्षेत्र सधैँ सबैभन्दा पहिले प्रभावित हुन्छ र सबैभन्दा पछाडि पुनः उठ्छ, त्यो पर्यटन नै हो ।

Advertisement

समय–समयमा पर्यटन क्षेत्र अनगिन्ती बाधाहरूको शिकार बनिरहन्छ । अनि हरेकपटक, यसले आफ्नो अस्तित्व जोगाउन बलिदानी दिन बाध्य हुन्छ । तर, अब कति लामो समयसम्म ? हजारौँको जीवन, लाखौँको सपना कति चकनाचुर भइरहने ?

पर्यटन क्षेत्रले नेपालमा लाखौँ मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको छ । ट्रेकिङ गाइड, होटल व्यवसायी, रेष्टुराँ संचालक, हस्तकला व्यवसायी, यातायात चालक– सबैको जीवन यो क्षेत्रसँग जोडिएको छ ।

तर, पर्यटन केवल रोजगार मात्रै होइन्, यो नेपालको अन्तर्राष्ट्रिय पहिचान हो । यही माध्यमबाट संसारले नेपाललाई हेर्छ, बुझ्छ र अनुभव गर्छ ।

वर्तमान अवस्थाः गम्भीर र पीडादायक
आजको दिनमा पर्यटन क्षेत्रको लगभग अस्तित्व नै संकटमा पुगेको छ । पर्यटक छैनन् । होटलहरू सुनसान छन् । गाइडहरू बेरोजगार छन् । थुप्रै परिवारको चुलो निभ्न थालेको छ ।

यदि अब पनि केही गरिएन भने धेरै नेपाली खेततर्फ फर्कन बाध्य हुनेछन्, रोजगारीका सपनासहित । हरेक परिवर्तनका आन्दोलनमा पर्यटन क्षेत्र तार्गेटमा परेको छ । के हजारौंलाई रोजगारी दिएर पर्यटन व्यवसाय गर्नु अपराध हो ? पक्कै होइन । त्यसैले परिवर्तन खोज्दा पर्यटन क्षेत्रलाई चुपुवामा नपारौं ।

किन बचाउनु पर्छ पर्यटन ?
पर्यटन कुनै विलासिता होइन्, यो नेपालको मुटु हो, आत्मा हो । पर्यटन चल्दा देशको अर्थतन्त्र चल्छ, ग्रामीण समुदाय सबल बन्छ, अनि नेपालले संसारसामु आफ्नो पहिचान पुनः स्थापित गर्छ । रोजगारी सिर्जना हुन्छ, बजार चलायमान हुन्छ । विश्वका मानिसहरु हाम्रो मुलुक आउँछन्, प्रबद्र्धन हुन्छ । यसले अन्ततः आम नेपाली र नेपालको भविष्य बदल्छ । त्यसैले पर्यटन बच्नु– नेपाल बच्नु हो ।

अब के गर्न सकिन्छ ?
सरकारी सहयोगः राहत प्याकेज, कर छुट, तथा लगानी प्रवद्र्धन कार्यक्रमहरू ।
प्रचारप्रसारः अन्तर्राष्ट्रिय तथा स्वदेशी स्तरमा ‘नेपाल सुरक्षित छ, भ्रमण गरौं’ अभियान ।
आन्तरिक पर्यटन प्रवद्र्धनः नेपालीहरूलाई आफैँले आफ्नो देश घुम्न प्रेरित गर्नु ।
दिगो पर्यटनः वातावरणमैत्री, स्थानीय समुदायमैत्री पर्यटन मोडेलको विकास ।

निष्कर्षः अब होइन भने कहिले ?
यदि हामी चाहन्छौँ कि नेपाल पुनः ठाडो भएर उभियोस्, त्यसको पहिलो कदम पर्यटनलाई उठाउनु हो । सडकहरू सुनसान हुनु, होटलहरू बन्द हुनु र गाइडहरूको आशा मर्नु– यो केवल व्यक्तिगत पीडा होइन, राष्ट्रिय विफलता हो । पछिल्लो आन्दोलनमा पर्यटन क्षेत्रमाथि प्रहार भयो, ठूला पर्यटकीय निजी संरचना ध्वस्त भए । यसले हामीलाई पीडाबोध बनाएको छ ।

समय अझै बाँकी छ ।
आउनुहोस्– आजैदेखि पर्यटनलाई बचाउने साझा प्रयास गरौँ ।
किनभने जब पर्यटन बाँच्दछ, तब नेपाल बाँच्दछ । पर्यटन बचाऔं, सुरक्षित गरौं ।